Tuesday, April 27, 2010

८ हजार मिटर अग्ला सबै हिमाल आरोहणमा कीर्तिमान

काठमाडौं, वैशाख १४ (बिबिसी)- दक्षिण कोरियाली नागरिक ओ इन सन ८ हजार मिटर अग्ला विश्वका सबै शिखर आरोहण गरी कीर्तिमान कायम गरेकी छन्। आरोही ओले अन्नपूर्ण हिमालको शिखरमा कोरियाली झण्डा फहराउँदै गरेको दृश्य टेलिभिजनले प्रत्यक्ष रुपमा प्रशारण गर्दा उनको नाउँमा विश्व कीर्तिमान कायम भइसकेको थियो।

शिखर नजिकको चार वटा कठिन स्थान घस्रेर पार गर्दै शिखरमा पुगेपछि ओले दुवै हात हल्लाएर प्रशन्नता प्रदर्शन गरिन्।

ओले सन् २००९ मा आरोहण गरेको भनिएको कञ्चनजंगा हिमाल आरोहण बारे भने विवाद छ। सो आरोहण मान्यता प्राप्त भए पनि केहीले उनी शिखरमा पुगेको कुरामा विवाद उठाएका छन्।

उनीसँग १४ वटा शिखरको आरोहणको कीर्तिमानका नजिककी प्रतिद्वन्द्वी स्पेनकी इदुर्ने पासाबानले ओ शिखरमा नपुगेको दावी गरेकी हुन्। ओले सबै आरोपलाई अस्वीकार गरेकी छिन्।

परिवारमै निर्वस्त्र भैदिन्छु

महिलाले लगाउने भित्री पोसाकको मोडल बनेर चर्चामा आएकी हेडी कुमले आफू अविभावकहरूको सामुन्ने पनि निर्वस्त्र हुने कुरा खुलासा गरेकी छिन् । ट्याटलर म्यागजिनलाई अन्तर्वार्ता दिँदै कुमले भनिन्- 'हाम्रो परिवारका सदस्यहरू निर्वस्त्र हुनुलाई नराम्रो मान्दैनन् । हामी निर्वस्त्र हुनुलाई छाडापनका रूपमा हेर्दैनौं । जस्तो वाथरुमबाट निस्कँदा होस् वा लुगा फेर्दा, कसैलाई निर्वस्त्र देखियो भने कराउँदैनौं । यस्ता कुरालाई हाम्रो परिवारमा पहिलेदेखि नै सामान्य रूपमा लिइने गरेको छ ।' मोडेलिङबाट १ करोड पाउन्ड आम्दानी गरेकी हेडीले आफ्नो विवाहको वाषिर्कोत्सव सधैं धूमधामका साथ मनाउने गरेको बताइन् । विवाहको वाषिर्कोत्सवले मलाई नयाँ दुलहीको सम्झना दिन्छ त्यही भएर यो समारोह म विशेष रूपमा आफ्नो श्रीमान्सँग मात्र बिताउँछु । (साप्ताहिक)

मकाउमा नेपाली सुरक्षाकर्मी लोकप्रिय

निर्मल श्रेष्ठ मकाउ- जुवाका लागि संसारकै प्रख्यात थलोमध्ये चीनको विशेष प्रशासकीय क्षेत्र मकाउका प्रसिद्ध क्यासिनो (जुवाघर) तथा होटलको सुरक्षा जिम्मा नेपालीले सम्हालेका छन् । अमेरिकी कम्पनी लस भेगास स्यान्ड्सद्वारा सञ्चालित मकाउकै विशाल भेनिसन होटल र क्यासिनोका सुरक्षार्थ १ सय ५५ नेपाली छन् । मकाउकै जेठो क्यासिनो लिस्बाओ तथा कान्छो पोन्टे सिक्सटिनका सुरक्षार्थ करिब सय नेपाली छन् ।


दुवै होटल तथा क्यासिनो मकाउकै धनाढ्य स्ट्यान्ली होका स्वामित्वमा छन् । मालिक स्ट्यान्लीका साथै उनका परिवारका निजी अंगरक्षक र सवारी चालकसमेत नेपाली नै छन् । अन्य ठूला क्यासिनोहरू स्टार वल्र्ड, विन, फिसरमैन वल्फ, विनर वे, अल्टिरा, न्यु ट्रस्ट, एमजीएम, स्यान्ड्स, ग्रान्ड वाल्डोलगायतका सुरक्षा जिम्मा पनि नेपालीकै काँधमा छन् । मकाउमा नेपालीहरू गोर्खालीका नामले चिनिन्छन् ।

रोजगारीका लागि सन् १९९८ देखि नेपालीको आगमन सुरु भएको मकाउमा करिब दुई हजार नेपाली कार्यरत छन् । क्यासिनो र होटलबाहेक मकाउका जेल सुरक्षार्थ खटिएका ८० विदेशी सुरक्षाकर्मीमध्ये ५७ नेपाली छन् । 'कैदीहरूसँग नजिकिन नपाऊन् भनेर यहाँका जेलमा विदेशी सुरक्षाकर्मी राखिने गरिएको हो,' जेल सुरक्षाकर्मी विश्वराज सिग्देलले भने, 'जेलमा कार्यरतको सुरुको तलब १५ हजार ५ सय पटाका र अन्य सुविधा छन् ।' उनी बाह्र वर्षदेखि मकाउ जेलमा कार्यरत छन् ।

'गोर्खाली सेनाका वीरता, इमानदारी र मेहनती छविका कारण मकाउमा पनि सुरक्षा पेसातर्फ नेपालीको माग भएको हो,' गोर्खाज एकता इन्टरनेसनलका सञ्चालक त्रिलोक गुरुङले भने, 'दैनिक करोडौंका कारोबार हुने स्थल विश्वासबिना सम्भव छैन ।' मकाउमा सेक्युरिटी भन्नासाथ गोर्खालीकै नाउँ अग्रपंक्तिमा आउने बताउँछिन् ए प्लस पी इम्प्लोइमेन्ट सर्भिसेजकी सञ्चालक पुष्पा गुरुङ ।

मकाउमा सुरक्षा पेसामा कार्यरतको न्यूनतम तलब ७ हजार ३ सयदेखि १० हजार पटाकासम्म (करिब पन्चानब्बे हजार रुपैयाँ) छ । थोरैले भने दलालका चेपुवामा परी करिब ६ हजारसम्म मात्र बुझेको बताए । अधिकांशले तलबबाहेक, सञ्चयकोष, यातायात, औषधि, बिमा, खाने, बस्ने वा यीमध्ये एक सुविधा पाएका छन् ।

'नेपालीहरू साधारण सुरक्षाकर्मीदेखि सुपरभाइजर र सेक्युरिटी म्यानेजरसम्म छन्,' सञ्चालक त्रिलोक गुरुङले भने, 'यिनमा कोही तीस हजार पटाकासम्म तलब बुझ्ने छन् ।' सुरक्षा पेसाबाहेक मकाउमा थोरै संख्यामा रेस्टुराँ सहयोगी, बार टेन्डर, क्लिनरलगायत रोजगारीमा रहेको गुरुङले बताए । (इकान्तिपुर)

ग्रिनेड सहित माओवादी कमाण्डर पक्राउ

दीपेन्द्र बडुवाल  चितवन, वैशाख १४ - प्रहरीले सोमबार राति ग्रिनेड सहित एक माओवादी कमाण्डरलाई पक्रेको छ । उदयपुरको कटारीबाट काठमाण्डौं जांदै गरेको ना.४.ख ३५१ नम्बरको बसलाई प्रहरीले भरतपुरमा चेकजाँच गर्दा माओवादी कमाण्डर पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका माओवादी सेनाका प्लाटुन कमाण्डर सन्तोष राईको साथबाट ग्रिनेड र धारिलो खुकुरी बरामद भएको छ । प्रहरीका अनुसार बसमा सवार ५२ जनालाई खानतलासी गर्ने क्रममा खोटाङ घर भएका राईसंग विष्फोटक सामग्री बरामद भएको थियो । राई माओवादी सेनाको सिन्धुली स्थित दोश्रो डिभिजन अन्र्तगत उदयपुरको दुधौली स्थित सहायक शिबिरमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

राईले पार्टीको कामका लागि राजधानी जान लागेको बयान दिएको प्रहरीले जनाएको छ । (इकान्तिपुर)

'वामदेव अयोग्य र नालायक हुन्'

अबधेशकुमार झा इनरुवा, वैशाख १४ - सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता शंकर पोखरेलले माओवादीले जति सुकै ठुलो आन्दोलन गरेपनि त्यसको सामना गर्न सरकार सक्षम रहेको बताएका छन् ।


माओवादीको घुर्की र हुतियारापनवाट सरकार बिचलित नभइ त्यसको सामना गर्ने मन्त्री पोखरेलको भनाइ छ । सुनसरी सदरमुकाम इनरुवामा मंगलबार पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सहमतिवाट पनि नचल्ने र संसदमा पनि बहुमत हासिल नगरी सरकार वनाउन खोज्ने माओवादीको स्वार्थ कहिल्यै पूरा नहुने ठोकुवा गरे ।

'माओवादीले समस्या र संकट खडा गर्देमा सरकार लत्रदैँन,' उनले भने, 'माओवादी राष्ट्रिय सहमतिलाई लत्याउन खोजेकाले समाप्तीतिर अघि बढेको छ ।' माओवादीलाई हरुवा पार्टीको संज्ञा दिदै मन्त्री पोखरेलले भने, 'अबिर लगाउने चुनावमा माओवादीले जिते पनि बैचारिक राजनीतिमा माओवादी देशमै सब भन्दा ठुलो हरुवा पार्टी हो ।'

एमाले सचिव समेत रहेका पोखरेलले आफ्नै पार्टीका उपाध्यक्ष वामदेव गौतमको कडा शब्दमा आलोचना गरे । 'माओवादीको लाइन बोल्ने बामदेब गौतम अयोग्य र नालायक छन्,' उनले भने । माओवादी र बामदेव गौतम एकैनासको रहेको पोखरेलले आरोप लगाए । (इकान्तिपुर)

राष्ट्रपतिको रात्रिभोजमा माओवादी गएन

काठमाडौं, वैशाख १४ - राष्ट्रपति रामवरण यादवले मंगलबार राति आयोजना गरेको रात्रिभोजमा प्रमुख प्रतिपक्षी माओवादी भने गएको छैन ।

संविधान जारी हुन एक महिना मात्रै बाँकी रहँदा माओवादीले आन्दोलन घोषणा गरेपछि सहमतिको पहल गर्न राष्ट्रपतिले रात्रिभोज आयोजना गरेका थिए । रात्रिभोजमा संविधानसभामा रहेका २५ वटै दललाई बोलाइए पनि माओवादीबाहेक अन्य सवै दलका नेताहरु शीतल निवास पुगेका छन् ।

राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजमा ठूला दलका तर्फबाट ३ जना, मझौला दलका २ र साना दलका एकजना नेतालाई आमन्त्रण गरिएको थियो । माओवादीले भने आफ्नो आन्दोलन राष्ट्रपतिविरुद्धसमेत केन्द्रीत रहेकाले उनले आयोजना गरेको रात्रिभोजमा जानु औचित्यहीन भन्दै नजाने निर्णय गरेको बताइएको छ ।

राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजमा कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार, कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा, कार्यवाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, पूर्व प्रधानमन्त्रीद्वय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द, तमलोपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेता उपस्थित छन् । (इकान्तिपुर)

गच्छदार बने कार्यवाहक प्रधानमन्त्री

काठमाडौं, वैशाख १४ (नागरिक)- मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।


प्रधानमन्त्री माधव कुमार नेपाल १६ औं सार्क शिखर सम्मेलनका लागि भुटान गएकाले उनको अनुपस्थितिमा उप प्रधान मन्त्री विजय गच्छेदारले प्रधान मन्त्रीको जिम्मेवारी सम्हालेका हुन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति डा. रामबरण यादवले गच्छेदारलाई जिम्मेवारी तोकेको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।