Monday, April 26, 2010

‘इमान्दारी पूर्वक आए प्रधानमन्त्री पद छाडिदिन्छु’

१३ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री माधवकुमार नेपालले भय, त्रास र डरका माध्यमबाट नेपाली जनतामाथि आतङ्कवाद तथा अधिनायकवाद लाद्न खोज्ने तत्वसँग कहिल्यै सम्झौता नगर्ने बताउनुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विभिन्न राजनीतिक दलका १३ भ्रातृ सङ्गठनको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री नेपालले शान्ति, संविधान र राष्ट्रिय एकताको बाटोमा अगाडि बढ्न आफू हदैसम्मको लचिलो भएर अघि बढिरहेको बताउनुभएको थियो ।

शान्ति, लोकतन्त्र, संविधान र संवैधानिक व्यवस्थाप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री नेपालले भन्नुभयो- ‘प्रधानमन्त्रीको पदलाई व्यक्तिगत बनाएर जनभावनाविपरीत आन्दोलन गर्ने प्रवृत्ति सरासर गलत छ, यो कसैलाई सहृय हुँदैन ।’

उहाँले विगतका शान्तिसम्झौतादेखि अहिलेसम्मका सबै सहमतिलाई अक्षरशः पालना गरेर माओवादी जनताको पार्टी बन्नुपर्नेमा जोड दिँदै इमान्दारीपूर्वक आउने हो भने आफूले प्रधानमन्त्री भएर बसिनरहने बताउनुभयो ।

भय र आतङ्कबाट मुक्ति चाहिरहेका नेपाली जनताको भावनालाई कदर गर्न सबै सरोकारवाला क्रियाशील हुनुपर्ने उहाँको भनाई थियो ।

युवासंगठनहरुले शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याई निर्धारित समयमै संविधान जारी गर्न तथा एकीकृत नेकपा माओवादीले जारी गरेको आतङ्क तत्काल बन्द गर्न भन्दै आठबुँदे निर्णयसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका छन् ।

प्रधानमन्त्री नेपाललाई बुझाइएको ज्ञापनपत्रमा माओवादी लडाकुको समायोजन तथा पुनःथापना अबिलम्ब गर्नुपर्ने, द्वन्द्वकालमा कब्जा गरिएका सम्पत्ति तुरुन्त फिर्ता गर्नुपर्ने, वाइसिएलको अर्धसैनिक संरचना भङ्ग गर्नुपर्नेे उल्लेख छ ।

त्यस्तै माओवादीले देशका विभिन्न ठाउँमा खुकुरी र लाठी प्रदर्शन गरी तालिम दिएकाले आतङ्कको स्थिति सिर्जना भएको भन्दै त्यस्ता कार्य तत्काल रोक्न माओवादीसँग माग गरेको ज्ञापनपत्रमा जनाइएको छ ।

यसैगरी सरकारी कार्यालय, विद्यालय र जनताका घरसमेत कब्जा गरी मे दिवसको कार्यक्रम भन्दै कार्यकर्ता राख्ने काम तत्काल बन्द गर्न आहृवान गर्दै ती सङ्गठनले राजनीतिक आस्थाका आधारमा माओवादीले अन्य पार्टीका कार्यकर्ता र जनतामाथि साङ्घातिक आक्रमण गरेको र नवलपरासीमा एमाले जिल्ला कार्यालयमा गरेको आगजनीको भत्र्सना गरिएको छ ।

राष्ट्रव्यापीरूपमा मे दिवसको कार्यक्रम भन्दै जबर्जस्ती असुल गरिएको चन्दा रकम अविलम्ब फिर्ता गर्न माओवादीलाई आग्रह गरिएको छ ।

मुलकमा देखिएको आतङ्क र दण्डहीनता अन्त्य गरी विधिको शासन प्रभावकारी ढङ्गले लागु गर्न तथा शान्तिसुरक्षा कायमका लागि प्रधानमन्त्रीसँग ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

प्रतिनिधिमण्डलमा नेपाल तरुण दल, नेपाल युवा सङ्घ, तराई मधेस युवा सङ्घ, मधेसी युवा फोरम नेपाल, नेपाल क्रान्तिकारी युवा सङ्घ, प्रगतिशील युवा सङ्घ, राष्ट्रिय जनतान्त्रिक युवा सङ्गठन, अखिल नेपाल युवक सङ्घ, नेपाल राष्ट्रिय युवा फेडरेसन, युवा मञ्च, राष्ट्रिय जनशक्ति युवा सङ्घ, नेपाल युवा कम्युनिस्ट सङ्घ एकीकृत र प्रजातान्त्रिक युवक सङ्गठनको सहभागिता थियो ।

यसअघि आइतबार १३ वटै युवा संगठनहरुले आन्दोलनको नाममा माओवादीले गैर माओवादी राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं सर्वसाधरणमाथि आक्रमण गरे त्यसको प्रतिकार गर्ने चेतावनी दिएको थियो ।

माओवादीले आफूहरुको आन्दोलनमा दमन भए क्रान्तिकारी युवाहरुले मुलुकनै कब्जा गर्ने चेतावनी दिईरहेका बेला गैर माओवादी राजनीतिक दलका युवाहरुले त्यस्ता गैरजिम्मेवारी गतिविधि रोक्न सरकारले नसके संयुक्त रुपमा प्रतिकार गर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको हो ।-अनलाइनखबर

No comments:

Post a Comment