Thursday, May 27, 2010

कुबेतमा कुमारी आमा

१ जेष्ठ, काठमाडौं । घरेलु काम (हाउसमेड)मा बिचल्ली परेका युवतीलाई उद्धारमै ब्यस्त कुबेतस्थित नेपाली दुताबासले बिहीबार नयाँ समस्या झेल्नुपर्‍यो । बिहान ११ बजे दुताबासको गेट अगाडि भर्खरै सुत्केरी भएकी एक नेपाली युबतीलाई शिशु सहित फेला परिन् ।

उनीलाई तुरुन्तै अस्पताल लैजानुपर्ने अबस्था रहेकोले दुताबासले एम्बुलेन्सलाई बोलायो । तर एम्बुलेन्सले लैजान मानेन । प्रहरीले पनि मानेन । ‘दुबैले नमानेपछि हाम्रो गाडीमा राखेर अस्पताल लगियो’, कुबेतस्थित नेपाली राजदुत मधुवन पौडेलले कान्तिपुरलाई भने-’सुरुमा अस्पतालले पनि भर्ना लिन मानेन् । दुताबास जिम्मेवारीमा बसेपछि मात्रै भर्ना लियो ।’

ती युवतीको बिषयमा केही खुलेको छैन् । कुबेतमा बिबाह नगरी गर्भवती भएमा ‘अपराध’ मानिन्छ । यही कारण उनीलाई सुत्केरी ब्यथा लागेपछि दुतावास अगाडि छाडेर भागेको हो । ‘ती युबतीले हालसम्म केही बताएकी छैनन्’, पौडेलले भने ।

गैरकानुनी रुपमा अबैध बच्चा जन्माउने उनी कुबेतमा एक्ली भने होइनन् । त्यस्ता महिलाहरु बढिरहेका छन्् । ‘हाउसमेडमा आएका महिला भाग्ने र भगाउने प्रबृत्ति डरलाग्दो छ’, उनले भने-’काम गरिरहेको घर छाडेपछि गैहकानुनी हुन्छ । त्यसपछि पुरुष कामदारहरुको साथमा बस्छन् र गर्भधारण गर्छन् ।’

केही महिना अगाडि पाँच बर्ष छोरा सहित स्वदेश फिरेकी एक महिलाका अनुसार कुबेती जेलमा २५ जना भन्दा बढी नेपाली महिला बच्चा सहित जेलमा सजाय भोगिरहेका छन् । उनी पनि जेलमा सजाय भोगरे स्वदेश फिरेकी थिइन् ।

यसलाई कुबेती कानुनमा अपराध ठहरिने हुदाँ दुताबासले केही गर्न सक्दैन् । कुबेतस्थित गैर आवासीय नेपाली संघ समन्वय समितिका अध्यक्ष राजेन्द्र तामाङका अनुसार अनिच्छुक गर्भधारणा गर्ने महिलाहरु बढिरहेका छन् । ‘समय समयमा त्यस्ता महिलाहरु हाम्रो सम्र्पकमा आउनेगर्छन्’, उनले भने । केही समय अगाडि आठ महिना र पाँच महिनाको गर्भ बोकेका सन्तकुमारी गल्यान र काली तामाङ उनीहरुका सम्र्पकमा पुगेका थिए ।

उनीहरुले नेपाली, बंगाली र कुबेतीको गर्भधारण गर्छन् । ‘अनिक्षित गर्भ बोकाउनेमा नेपाली र बंगालीहरु बढी भेटिन्छन्’, एक नेपाली भन्छन्-’यहाँकै बासिन्दाबाट निकै कम हुनेगरेको छ ।’

उनका अनुसार घरमा काम गरेर बसिरहेको नेपाली युबतीलाई भगाएर आफुसँग राख्ने र पछि यौन ब्यबसायमा लगाउने प्रबृत्ति पनि बढ्दो छ । गैरकानुनी भएकोले ती महिलाले लुकीछिपी कोठामै बच्चा जन्माउने हुँदा बच्चा अधिकार पाउन वञ्चित छन् । कुबेती सरकारले अस्पतालमा जन्माएको बच्चालाई मात्रै मान्यता दिने गरेको छ । ‘कतिमय किशोरीहरू भने फ्ल्याट लिएर बसेका हुन्छन् । उनीहरूलाई खान बस्न व्यवस्था गर्नेको आवश्यकता पुरा गरिदिनुपर्ने बाध्यता महिलालाई छ’, स्थानीय पत्रकार राजन रिमालले भने ।

कुबेतमा झन्डै चालीस हजार नेपाली कामदार रहेको अनुमानित तथ्याङ्क छ जसमा झन्डै ८० प्रतिशत घरेलु महिला कामदार छन् । तलब नपाउने, यातना दिएको भन्दै बिहीबारसम्म दुताबासले करिब पचास जना महिलाहरुलाई आश्रय दिएको छ । दुताबासको आफ्नै सेल्टर नभएकोले उनीहरु मध्ये कसैलाई कुबेती सरकारले सञ्चालन गरेको सेफ हाउस, चर्च र दुताबासको भर्‍याङ मुनि राखेको छ । कान्तिपुर दैनिकबाट

No comments:

Post a Comment