सागर पण्डित, नयाँ पत्रिका, काठमाडौं, १३ असार नेपालले पछिल्लो समय भ्रष्टाचारमा इतिहास रचेको एक अध्ययन प्रतिवेदनले जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसल (टिआई) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा राजनीतिक नेतृत्व, प्रशासनिक संयन्त्र र उद्योगी व्यापारीहरूको मिलिमतोमा भ्रष्टाचार अत्यधिक बढेको हो ।
'नेपालमा पछिल्लो समयमा भ्रष्टाचार यति धेरै बढ्यो कि यसले अहिलेसम्मकै इतिहास तोड्ने काम गरेको छ,' टिआईद्वारा सार्वजनिक प्रतिवेदनमा भनिएको छ । टिआईले जर्मनीको बर्लिनमा सार्वजनिक गरेको सन् २००९ को वाषिर्क प्रतिवेदनअनुसार नेपाल अहिले इतिहासमै सबैभन्दा बढी भ्रष्ट छ ।
गत वर्ष एक सय २१औँ स्थानमा रहेको नेपाल २२ स्थान तल झरेको छ । टिआईले तयार पारेको एक सय ८० देशको सूचीमा नेपाल एक सय ४३औँ स्थानमा छ ।
प्रतिवेदनमा नेपालमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व र उद्योगी-व्यापारी गरी तीन पक्षको गोप्य मिलिमतो र योजनामा भ्रष्टाचार अत्यधिक बढेको बताइएको छ ।
'राजनीतिक नेतृत्व र व्यापारीहरू आफ्नो फाइदा र स्वार्थअनुसार काम गर्न प्रशासनिक नेतृत्वलाई दबाब दिने गर्छन् र त्यसबाट आउने अवैध कमाइमा सबै पक्षले बाँडीचुँडी गर्छन्,' प्रतिवेदनमा भनिएको छ ।
'ठूला भनिएका व्यापारीहरू राजनीतिमा प्रवेश गरी नीति-निर्माण तहसम्म पुगेका छन्, उनीहरूले व्यापारमा आफूअनुकूलको नीति र योजना ल्याउन प्रभाव पारिरहेका छन्,' प्रतिवेदनमा औँल्याइएको छ ।
त्यसैगरी सरकारले न्यायालय, सेना, प्राइभेट बैकिङ क्षेत्र, एनजिओ, आइएनजिओ तथा अन्य सामाजिक संघसंस्थालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउन नसकेकाले पनि नेपालमा भ्रष्टाचार अत्यधिक रूपमा बढेको प्रतिवेदनमा जनाइएको छ । 'तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा पनि भ्रष्टाचार यति धेरै थिएन,' प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनले राजनीतिक दल र तिनका भ्रातृसंगठनसमेत भ्रष्टाचारमा लिप्त हुने गरेको औँल्याएको छ । विभिन्न प्रमुख पार्टी र तिनका भ्रातृसंगठनले चन्दाका नाममा करोडौँ रुपैयाँ उठाउने र त्यसको कुनै हिसाबकिताब नै नहुने प्रतिवेदनको ठहर छ । प्रतिवेदनअनुसार दुई वर्षअघि भएको संविधानसभाको चुनावमा पनि अनियमित किसिमले अत्यधिक रूपमा पैसा खर्च भएको थियो ।
तत्कालीन राजाको शासनकालमा नेपालले २००५ र २००६ मा लगातार २.५ अंक पाएको थियो । लोकतन्त्र आएपछि पहिलो वर्ष सन् २००७ मा पनि २.५ अंक पाएको थियो । गत वर्ष स्थिति सुधारेर २.८ अंक पाए पनि यस वर्ष भने स्थिति सबैभन्दा बढी बिगारेर नेपालले २.३ पाएको छ ।
टिआईका अनुसार गत वर्षसम्म नेपाल दक्षिण एसियामा पाँचौँ नम्बरमा थियो । तर, यसपालि बंगलादेश र पाकिस्तानले समेत सुधार गरेर नेपालभन्दा माथिल्लो स्थान बनाएका छन् । अब दक्षिण एसियामा अफगानिस्तान मात्र नेपालभन्दा पछि छ ।
Monday, June 28, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment