Thursday, July 1, 2010

प्रधानमन्त्री राजीनामासँगै एमालेमा हानथाप

उजिर मगर, (नागरिक) काठमाडौं, असार १७- सरकारको नेतृत्वबारे एमाले नेताहरू विभाजित देखिएका छन्। पार्टी स्थायी कमिटी बैठकमा बुधबार प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिने जानकारी गराएलगत्तै नेताहरूमा भावी नेतृत्वबारे मतभेद बढेको हो।
सहमतीय सरकार निर्र्माण हुनुपर्नेमा नेताहरू सहमत देखिए पनि पुनः पार्टीले नै नेतृत्व गर्नेबारे पदाधिकारीको मत फरक-फरक छ। उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष खनालले भावी सरकारको नेतृत्व गर्नुपर्ने प्रस्ताव राखेका छन्।
नेता केपी ओलीले नेतृत्व सहमतिका आधारमा तय हुने बताए। राजीनामापछि उत्पन्न राजनीतिक परिस्थितिबारे पार्टीको आधिकारिक धारणा तय गर्न बिहीबार स्थायी कमिटी बैठक बस्दै छ भने शुक्रबार केन्द्रीय कमिटी बैठक डाकिएको छ।

बैठकपछि अध्यक्ष खनालले राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री नेपालले राजीनामा दिएको बताएका छन्। राष्ट्रिय सहमतिमा शान्तिप्रक्रियाको निष्कर्ष र संविधान निर्माण जनताको चाहना रहेकाले पार्टी त्यसमा प्रतिबद्ध रहेको उनले बताए। 'एमाले राष्ट्रिय सहमतिका साथ शान्ति र संविधान निर्माणमा अघि बढ्छ,' खनालले भने।
शुक्रबारको केन्द्रीय कमिटी बैठकको तयारीबारे छलफल गर्न बुधबार डाकिएको बैठकमा प्रधानमन्त्रीले राजीनामा दिने जानकारी गराएका थिए।
'प्रधानमन्त्रीले राजीनामा दिन्छु भन्नुभयो। उहाँ हिँडेपछि पछिल्लो राजनीतिक परिस्थितिबारे निर्णय गर्न अर्को बैठक बस्ने गरी टुंगिएको छ,' महासचिव ईश्वर पोखरेलले भने।

'पहिले राष्ट्रिय सहमतिको पहल गर्छौं, नभए बहुमतीय सरकार बन्छ,' गौतमले भने, 'सरकारको नेतृत्वका लागि अध्यक्ष खनालको विकल्प छैन, निर्णय यही हुन्छ।'

ओलीले भने अहिल्यै नेतृत्वको दाबीलाई अस्वीकार गरे। उनले नागरिकसँग भने, 'राष्ट्रिय सहमतिको सरकार बनाउने कामलाई सफल पार्नुपर्छ। नेतृत्व सहमतिमै भर पर्छ, अहिल्यै दाबी गरेर हुँदैन।'
सहमतीय सरकारको प्रयास असफल भए मुलुकलाई सरकारविहीन बनाएर नराख्ने ओलीले बताए। 'प्रयास गर्दागर्दै नभए बहुमतीयबाट सरकार बन्छ,' उनले भने।

एमालेले अन्य ठूला दलसँग छलफल गर्ने निर्णयसमेत लिएको छ। खनाल निकट स्रोतका अनुसार माओवादीले 'संकेत' दिएकाले एमाले संस्थापन पक्ष नेतृत्वका लागि उत्साहित देखिएको हो।

No comments:

Post a Comment