Sunday, August 8, 2010

मकाउबाट फर्केका कामदार चीनमा अलपत्र

काठमाडौं, २३ साउन
मकाउबाट फर्किएका ६६ जना नेपाली कामदार चीनको कुमिङ एयरपोर्टमा तीन दिनदेखि अलपत्र परेका छन् । मकाउ सरकारले स्वदेशी कामदारलाई मात्र रोजगारी दिने उद्देश्यले बाहिरका कामदारको भिसा नवीकरण नगरेपछि नेपाली कामदार फर्किएका हुन् ।
फर्किएका ७० जनामध्ये चारजनासँग मल्टिपल भिसा भएकाले उनीहरूलाई चीनको अध्यागमनले नेपाल फर्कन दिएको अलपत्र कामदार पूर्णबहादुर गुरुङले बताए । उनका अनुसार मकाउमा भिसाको व्यवस्था गर्ने यामबहादुर गुरुङले झुक्याएर उनीहरूलाई प्रान्तीय भिसा दिएका हुन् । “हामीले यामबहादुरलाई फोन ग¥यौं तर उद्धारका लागि कुनै पहल गरेनन्,” उनले भने ।
मकाउदेखि चीनसम्मको मात्र भिसा दिएकाले चीनको अध्यागमनले छिर्न नदिएको उनको भनाइ छ । उद्धारका लागि हङकङ र चिनियाँ दूतावासमा पनि जानकारी गराइएको कामदार गुरुङले बताए । अवको दुई दिनभित्र नेपाल फर्काउने व्यवस्था नगरेमा खान–बस्नलाई नै समस्या हने उनको भनाइ छ । उनीहरू एकता म्यानपावर कम्पनीबाट मकाउ गएका थिए ।
वैदेशिक रोजगार विभागका निर्देशक काशीनाथ मरासिनीले चीनमा अलपत्र कामदारको विषयमा विभागमा कुनै जानकारी नभएको बताए । विभागमा औपचारिक रूपमा जानकारी आएमा उद्धारका लागि पहल गरिने उनको भनाइ थियो । (karobar)

No comments:

Post a Comment