१३ बैशाख, काठमाण्डौ । संविधानसभाको म्याद थप तथा माओवादीको आन्दोलन लगायतका विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ ।
दलहरु आरोप-प्रत्यारोपमै रमिरहेका बेला प्रधानमन्त्री माधवकुमार नेपालको पहलमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता लगायतको उपस्थितिमा बैठक बसेको हो ।
राजधानीको होटल र्याडीसनमा जारी बैठकमा शान्ति र संविधान, माओवादी जनसेनाको समायोजन, माओवादीले बैशाख १८ गते गर्ने भनिएको जनप्रदर्शन, देशभर उसले सञ्चालन गरेको सैन्य तालिम लगायतका विषयमा छलफल भईरहेको सहभागि एक नेताले जानकारी दिएका छन् ।
बैठकमा माओवादीले शान्ति र संविधानका लागि वर्तमान सरकार परिवर्तनको एजेण्डालाई उठाउने बताईएको छ । उसले शान्ति र संविधानको बाधक बर्तमान सरकार भएको ठहर गर्दै राष्ट्रिय सहमतिको संयुक्त सरकार आफ्नै पार्टीको नेतृत्वमा बन्नुपर्ने निष्कर्ष निकालेको छ । वर्तमान सरकार विघटन नभए सम्म आन्दोलन जारी राख्ने उसले चेतावनी दिएको छ ।
यसअघिका दुई पटक माओवादीले डाकेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक एमालेको आग्रहमा स्थगित गरेपछि संयन्त्रको बैठकबारे अन्यौल भईरहेका बेला प्रधानमन्त्री नेपालले तीनै दलका शीर्ष नेताहरुलाई राजनीतिक गतिरोध निकासका लागि बैठक डाक्नु भएको उहाँका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभयो ।
सोमबार मात्रै माओवादी आफूहरुको सामान्य आन्दोलनलाई सरकार नटेरेको भन्दै बैशाख १९ गतेदेखि अनिश्चितकालिन आमहड्तालको घोषणा गरेको छ ।
बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल लगायत तीनै दलका दोस्रो तहका नेताहरुको पनि सहभागिता रहेको छ ।
प्रधानमन्त्री नेपाल सोमबार विहान सत्तारुढ दश दलसंग शान्ति, संविधान, माओवादी जनसेनाको समायोजन, माओवादीको आन्दोलन लगायतका विषयमा छलफल गर्नुभएको छ । (अनलाइनखबर)
Monday, April 26, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment