विराटनगर, वैशाख १३ (नागरिक)- सरकारका प्रवक्ता शङ्कर पोखरेलले संवैधानिक समितिको निर्णयविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल अदालत पुगेकोमा आश्चर्य व्यक्त गरेका छन्। ‘६–६ पटक बैठकमा नआउने व्यक्तिले संवैधानिक परिषद्को निर्णयको विरुद्ध अदालतमा जानु आश्चर्य हो’- उनले भनेका छन्। सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका पोखरेलले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ६ पटकसम्म नआउँदा संवैधानिक परिषद्ले बाध्य भएर रिक्त स्थान पूर्तिको सिफारिस गरेको जानकारी पनि दिए।
विराटनगरमा सोमबार सञ्चारकर्मीसित कुरा गर्दै मन्त्री पोखरेलले भने- ‘माओवादीको यो परिपाटी गलत र गैरजिम्मेवार छ।’ ६ पटकसम्म माओवादी अध्यक्ष दाहाल बैठकमा अनुपस्थित भएपछि सरकारले रिक्त भएका पद पूर्ति गर्न पाउने कि नपाउने ?
सरकारका प्रवक्ता मन्त्री पोखरेलले हिंसात्मक गतिविधि गरेर अगाडि बढ्न खोजे माओवादी आफैं समाप्त हुने दाबी पनि गरे। ‘गाउँगाउँमा सशस्त्र तालिम सञ्चालन गरेर माओवादीले मुलुकलाई मुठभेडतर्फ धकेल्न खोजेका छन्’, उनले भने- ‘हिंसात्मक गतिविधिभन्दा वार्ताबाटै समस्याको समाधान खोज्न सरकार आह्वान गर्दछ।’ मन्त्री पोखरेलले आन्दोलनका कार्यक्रम रद्द गरेर वार्तामा आउन माओवादीसित आह्वान गरे।
उनले शान्तिसुरक्षा कायम गर्नु सरकारको पहिलो कर्तव्य भएकाले माओवादीको हिंसात्मक गतिविधिविरुद्ध सरकार चूप लागेर नबस्ने बताए। उनले भने- ‘राज्यसँग असीमित शक्ति छ, सुरक्षा व्यवस्था सुदृढ गर्न जस्तोसुकै कदम चाल्न तयार छौं।’ सहमतिका साथ कुनै विकल्प नआएसम्म वर्तमान सरकारले राजिनामा नदिने अडान पनि उनले राखे।
Monday, April 26, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment