Thursday, April 29, 2010

सार्क शिखर सम्मेलनमा प्रधानमन्त्री नेपालको सम्बोधन

प्रधानमन्त्री माधवकुमार नेपालले जलवायु परिवर्तनले मानव समुदायमा पार्ने बहुआयामिक असर र त्यसको गहनतालाई ध्यानमा राखेर राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सबै तहहरूमा शीघ्र एकताबद्ध प्रयासको खाँचो रहेको बताउनुभएको छ।


थिम्पुमा भइरहेको १६औं सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– विश्वव्यापी उष्णताको यी जल्दोबल्दो मुद्दालाई यतिखेर तदारुकतापूर्वक सम्बोधन गर्न असफल भए त्यसपछि उत्पन्न हुने परिवेशले मूल्यवान् मानव जीवन, दुर्लभ जैविक विविधता, जनावर र वनस्पतिको संरक्षण गर्न नसकेको दोष मानव समुदायमाथिमै आइलाग्नेछ।

'यस्ता अकल्पनीय परिणतिहरूलाई पन्छाउन दक्षिण एसियाका सबै सदस्य राष्ट्रहरू जलवायु परिवर्तनका दुष्परिणामहरूबाट पृथ्वीलाई जोगाउने एक शीघ्र अन्तर्राष्ट्रिय कार्ययोजनाका लागि थप आवाज बुलन्द गर्दै अग्रसर हुनै पर्दछ। उहाँले यो पृष्ठभूमिमा थिम्पु शिखर बैठकले 'हरित र सुखी दक्षिण एसिया' नारासहित जलवायु परिवर्तनका भावी जोखिमहरूलाई आत्मसात गर्नु अत्यन्त सान्दर्भिक छ।' प्रधानमन्त्री नेपालले भन्नुभयो।

सन् २००९ को डिसेम्बरमा कोपेनहेगेनमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरमा मन्त्रिमण्डलको बैठक गरेर कालापत्थर घोषणापत्र जारी गरी नेपालजस्ता पर्वतीय मुलुकहरूसामु खतराहरू अवश्यम्भावी रहेको सन्देश प्रशारण गरेको प्रसङ्ग अघि सार्दै प्रधानमन्त्री नेपालले भन्नुभयो– 'त्यसकारण जलवायु परिवर्तनसम्बन्धी क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा यो विषयलाई सशक्त रुपमा अघि बढाउन पर्वतीय मुलुकहरूबीच एक गठबन्धन खडा गर्न हामीहरू काम गरिहेका छौं। यस दिशामा बृहत्तर र प्रभावकारी सहयोग प्रर्वद्धन गर्न यसै वर्षको उत्तरार्धमा नेपालजस्ता जोखिमपूर्ण मुलुकहरूबीच एक मन्त्रिस्तरीय बैठक आयोजना गर्न हामी तयारी गरिहेका छौं।'

जलवायु परिवर्तन र पर्यावरणीय ह्रासको मुद्दाहरूमा एकापसमा हातेमालो गरेर नै प्रभावकारी साझा धारणा र साझा अडान बनाउन सकिने बताउँदै उहाँले सदस्य राष्ट्रहरूको साझा सङ्कल्प र ठोस कार्ययोजनाबाट जलवायु परिवर्तनका आसन्न जोखिमसँग जुझ्न र पर्यावरण संरक्षण गर्न अझ बढी सहज हुने विचार प्रकट गर्नुभयो।

'यसै सन्दर्भमा सार्क संरचनाभित्र पर्यावरणीय सहयोगसम्बन्धी एक कानुनी संस्थागत निकायको आवश्यकतामा हाम्रो पूर्ण समर्थन रहनेछ। जो यस क्षेत्रकै पर्यावरणीय संरक्षणको हाम्रो सामूहिक प्रयासमा सँगसँगै अघि बढिरहने छ' प्रधानमन्त्रीले थप्नुभयो।

सार्कको मार्गचित्रबारे चर्चा गर्दै उहाँले सार्क सदस्य राष्ट्रहरूबीच यातायात सम्पर्क बढाएर र सामान ढुवानी तथा यात्रुको आवतजावतलाई सजिलो बनाएर यो क्षेत्रकै साधनस्रोतको अधिकतम् उपयोग र त्यसबाट दक्षिण एसियाली जनतालाई साझा फाइदा दिलाउने सोच राख्न सके साझा बजार र साझा मुद्रासहितको अन्ततः एक आर्थिक सङ्घ खडा हुन सक्ने बताउनुभयो।

समृद्ध सार्क हासिल गर्ने भरपर्दो उपायहरूमध्ये सदस्य राष्ट्रहरूबीच क्षेत्रीय व्यापार प्रवर्द्धन एक हो भन्ने हाम्रो दृढ विश्वास छ। दुर्भाग्यवश, क्षेत्रीय व्यापार यतिखेर अत्यन्त न्यून रहेको बताउँदै प्रधानमन्त्री नेपालले भन्नुभयो– क्षेत्रीय व्यापार प्रवर्द्धनको एक मुख्य औजार र बाहन सार्क करमुक्त व्यापार प्रणाली (साफ्टा)को प्रगति भन्सार व्यवधानहरूका कारण मन्द बनिरहेको छ।

दक्षिण एसियालाई साझा बजारको रुपमा लैजान उपलब्ध अवसरहरूबाट अधिकतम लाभ उठाउन साफ्टा कार्यान्वयनमा रहेका व्यवधानहरू हटाउन अझ बढी साहसी कदम चाल्नुआवश्यक भएको उहाँले बताउनुभयो।

दक्षिण एसियामा व्याप्त गरिबी र आर्थिक विपन्नता गम्भीर चुनौतीको विषय भएको र विश्वव्यापी आर्थिक सङ्कटका बाबजूद यो क्षेत्रले आसलाग्दो आर्थिक वृद्धि हाँसिल गरेको पनि गरिबीका अकाट्य समस्यासँग जुझ्नु परिरहेको यथार्थबारे पनि उहाँले चर्चा गर्नुभयो।

विद्यमान सडक, रेल संयन्त्र र हवाइ सम्पर्कको स्तरवृद्धि भूपरिवेष्ठित मुलुकलाई प्रर्याप्त पारवहन सुविधा प्रदान गरी सार्क बहुढाँचा यातायात प्रणालीको प्रर्याप्त विकासमा तत्कालै केन्द्रित हुनुपर्ने खाँचो प्रधानमन्त्रीले औंल्याउनुभयो।

उहाँले पर्यटन वर्ष २०११ का उपलक्ष्यमा सन् २०११ मा पर्यटनमन्त्रीस्तरीय बैठक आयेाजना गरी क्षेत्रीय पर्यटक स्थलका रुपमा नेपाललाई चिनाउन खोजिएको बताउनुभयो।

सहयोगात्मक रणनीति र ठोस कार्ययोजना तर्जुमा गरी सार्कको लक्ष्य र उद्देश्य पूरा गर्नुपर्नेमा जोड दिंदै प्रधानमन्त्री नेपालले भन्नुभयो– प्रत्यक्षरुपमा जनता लाभान्वित हुने परिणाममुखी क्षेत्रीय तथा उपक्षेत्रीय आयोजना सञ्चालनका लागि लगानीको खाँचो रहेको छ।

सार्क विकास कोष स्थापना भएकोमा खुसियाली व्यक्त गर्दै उहाँले सो कोषमार्फत सामाजिक तथा पूर्वाधार निर्माणसम्बन्धी आयोजना सञ्चालन गरी क्षेत्रीय तथा उपक्षेत्रीय तहका जनता आर्थिक हिसाबले अत्यधिक लाभान्वित हुनेछन् भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो।

थिम्पुमा सार्क विकास कोषको स्थायी सचिवालय सहित यसको पहिलो प्रमुख कार्यकारी अधिकृत भुटानी चयन भएकोमा धन्यवाद प्रकट गर्दै प्रधानमन्त्री नेपालले सार्कलाई गति प्रदान गर्ने उद्देश्यले स्थापित सो कोष सञ्चालन तथा व्यवस्थापनमा आफ्नो देशका तर्फबाट पूर्ण सहयोग उपलब्ध हुने विश्वास दिलाउनुभयो।

उहाँले कोष स्थापना कालको यस अवधिमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा सम्बन्ध विस्तार गर्न सार्क सफल भएको उल्लेख गर्दै मित्र तथा शुभेच्छुक मुलुकहरूसँगको अन्तरक्रिया मार्फत सार्क गतिविधिलाई प्रभावकारी रुपमा अघि बढाउन मद्दत पुग्नुका साथै वार्ता र सहयोगको वातावरण सिर्जना गर्न नयाँ ढोका खोल्ने विश्वास पनि व्यक्त गर्नुभयो।

आफ्नो विवेक र सङ्कल्पका साथ समग्र दक्षिण एसियामा नै सशक्त एवम् गतिशील संस्थाका रुपमा सार्क उदाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री नेपालले सार्कका हरेक गतिविधिमा सदस्य राष्ट्रहरूसँग सहकार्यका पक्षमा नेपाल पूर्ण प्रतिबद्ध छ भन्नुभयो। (नमस्तेयूरोप)

No comments:

Post a Comment