Wednesday, April 28, 2010

बहुमतीय प्रणाली असफल भएको तीन दलको निष्कर्ष

१५ बैसाख, काठमाण्डौ । मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरुले बहुमतीय पद्दतीबाट सरकार सञ्चालन गर्ने बिधि असफल भएको स्वीकार्दै सहमतिय प्रणालीवाट अघि बढ्न सके सवै समस्या समाधान हुने बताएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघको आयोजनामा अपरान्ह काठमाण्डौंमा भएको ‘निर्णायक बहस’ शिर्षकको अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले संबिधानसभा निर्वाचनपछि सहमतीय प्रणालीको सट्टा बहुमतीय प्रणालीवाट सरकार बनाउने ब्यबस्था गरिएकाले समस्या आएको भन्दै पुनः सहमतीय प्रणालीमा जान सके समस्या समाधान हुने बताउनुभयो । एमाले अध्यक्ष झलनाथ खनालले पनि प्रचण्डको भनाईमा समर्थन गर्दै बहुमतीय प्रणालीमा जानु गल्ती भएको बताउनुभयो । कांग्रेस नेताहरुले भने सहमतीय प्रणालीमा सरकार बनाउने कुराको सिधै सर्मथन नगरेपनि सहमतीका आधारमा अघि बढ्न तयार रहेको बताए ।

करिव तीन घण्टासम्म चलेको बहसमा संबिधान निर्माणमा देखिएका गतिरोध, असहमतिका मुख्य बुँदा, सेना समायोजन, बिश्वासको बाताबरण निर्माण, बर्तमान सरकारको खारेजी र नयाँ राष्ट्रिय सहमतिको सरकार लगायतका बिषयमा बिषयगतरुपमा छलफल भएको थियो । राष्ट्रिय सरकार बनाउनुपर्ने माओवादी मागमा कांग्रेस एमाले सहमत भएपनि सेना समायोजनका बिषयमा चर्को भनाभन र बिबाद भयो । नेताहरुले आफ्नै पार्टीका अडान र रटान दोहोराउँदै आफ्नो पार्टी नै सही भएको दावी गर्न पछि परेनन् ।

कार्यक्रमको अन्तिममा आयोजकले माओवादीलाई आन्दोलन फिर्ता लिने प्रतिबद्धता जनाउन आग्रह गरेका थिए । तर, प्रचण्डले बैसाख १८ गतेसम्म सहमतिका लागि अन्तिम प्रयास गर्ने भन्दै सहमति नबने आन्दोलनमा जानुको बिकल्प नभएको उल्लेख गर्नुभयो । एमाले अध्यक्ष झलनाथ खनालले सहमतिका लागि आफ्नो पार्टी बर्तमान सरकार खारेज गरेर नयाँ सरकार बनाउन तयार रहेको घोषणा गर्नुभयो । यस्तै नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालाले हरेक समय नयाँ नयाँ सर्त राख्नुको सट्टा सहमतिका लागि तयार भए माओवादीसंग मिलेर अघि जान आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।

दलहरुवीच सेना समायोजनको संख्या कति र दुवै सेनाका हैसियत बरावरको हो कि हैन भन्ने बिषयमा निकै लामो बिबाद भयो । माओवादीले संख्याका बिषयमा बिबाद नगर्न आग्रह गर्दैै सैद्धान्तिक बिषयमा सहमतिका लागि आग्रह गरेको थियो ।

कार्यक्रममा माओवादीबाट अध्यक्ष प्रचण्डसहित उपाध्यक्षहरु डा. बाबुराम भट्टराई र मोहन बैद्य, एमालेबाट अध्यक्ष झलनाथ खनालसहित महासचिव इश्वर पोखरेल र नेता प्रदीप ज्ञवाली सहभागी थिए भने नेपाली कांग्रेसवाट कार्यवाहक सभापति शुसिल कोइराला, नेताहरु रामशरण महत र कृष्ण सिटौला सहभागी थिए ।

कार्यक्रममा सहभागीहरुले नेताहरुलाई बिभिन्न प्रश्न सोधेका थिए भने देशका बिभिन्न भागबाट ५ हजारभन्दा बढी प्रश्न आएको आयोजक नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ । अधिकांश प्रश्नमा जनताले अहिलेको अबस्थाप्रति चिन्ता जनाउँदै नेताहरुप्रति आक्रोश पोखेका थिए ।

के भने नेताहरुले ?
झलनाथ खनालः ६ वटै मुद्धाभित्र राष्ट्रिय सरकार निहित छ । आन्दोलनबाट सहमति निस्कदैन । पुनरउत्थानवादी तत्वहरु सल्वलाउन थालेका छन् । परिवर्तनकारी शक्तिहरुवीच समझादारी अहिलेको आवश्यक्ता हो । प्याकेजमै सहमति खोजौं । आफ्नो पार्टीको नेतृत्वमा रहेको प्रधानमन्त्रीले राजिनामा दिएर निकास निकाल्न तयार छ ।

सुशीलः आपसी मतभेद मेटिनुपर्‍यो । सर्तका कुराहरुलाई ल्याउनु भएन । सकरात्मक बनाउने जिम्मेवारी माओवादीको हो । लुकाउने कुरा छैन । प्रचण्डजी संग भन्न चाहन्छु सर्त राख्ने काम छाड्नुस । बन्द गर्ने काम रोक्नुस । राष्ट्रलाई वर्वाद गर्छ । सबैलाई विश्वास होस् परिवर्तनको । राष्ट्रियस्तरमा मात्र हैन, अन्तर्राष्ट्रियस्तर पनि चिन्तित छन् । सहमति, सहकार्य र एकताबाट समस्याको समाधान खोज्न हामी प्रतिवद्ध छौं ।

प्रचण्डः छलफलपछि गम्भिर सम्बाद भएर पर्सि सम्म सहमति भएर आमहड्ताल फिर्ता लिने वातावरण बनोस् । उल्टो तरिकालाई सुल्टाउनु पर्छ । एक वर्षसम्म सम्बादवाटै सहमति निस्कोस् भन्ने पक्षमा थियौं, तर हुन सकेन र वाध्य भएर आमहड्तालको घोषणा गर्न बाध्य भएका हौं । ६ वुंदाबाटै सहमति निस्कोस् भन्ने पक्षमा माओवादी रहेको छ । सहमतिको नाममा माओवादीलाई आत्मसमर्पण गर्न वाध्य पारियो भने आन्दोलनको विकल्प छैन । अहिलेको सम्वेदशिल अवस्थामा हामी सबै विषयमा मिल्नु आवश्यक छ । सरकारले हलो अड्काएर गोरु चुट्ने प्रवृत्ति रोके सहमति तत्काल हुन्छ । सहमति हुने सबभन्दा उपयुक्त तरिका वर्तमान सरकारले राजिनामा दिएर बाटो खोल्नु पर्यो । सहमति नभए शान्तिपूर्णरुपमा आफूहरुको घोषित आन्दोलन अघि बढ्ने छ ।

No comments:

Post a Comment