१३ बैशाख, काठमाण्डौ । प्रधानमन्त्री माधवकुमार नेपालले हिंसा, त्रास र आतँकको राजनीतिक नछाडे माओवादी नेपाली पोलपोटको रुपमा दर्ज हुने बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको ११ औँ स्मृति दिवसका अवसरमा सोमबार राजधानीको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले अध्यक्ष प्रचण्डलाई पोलपोटको बाटोमा अगाडि नबढ्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो ‘साँच्चै प्रचण्डका कोही सच्चा मित्र हुनुहुन्छ भने माओवादीलाई पोलपोटको बाटोबाट रोक्ने सल्लाह दिनुहोस्, सँधैभरी यसमा सजग गराउनु नै बुद्धीमानी हुनेछ ।’
बन्दुक नै सबैथोक हो र बन्दुकबाहेक परिवर्तनको अर्को साधन छैन भन्ने उग्रवामपन्थी सोचका कारण कतै भोली सिङ्गो वामपन्थी आन्दोलन नै भड्खालोमा जाकिने त होइन भन्ने प्रश्न खडा भएको भन्दै उहाँले हामी बन्दुक होइन, जनता नै सर्वशक्तिमान हुन् भन्ने कुरामा विश्वास गर्न माओवादीसंग आग्रह गर्नुभयो ।
सत्ता बाँडफाँटका बारेमा पनि साझा सहमतिका आधारमै निकास निकाल्न सकिने भन्दै प्रधानमन्त्री नेपालले भन्नुभयो ‘तर, सडकमा तमासा देखाएर, बिद्रोह गरेर, रक्तपात मच्चाएर, वलजफ्ती सत्ता कब्जा गर्छु भन्ने मान्यता बोकेर कसैले सत्ता आफ्नो हातमा लिन्छु भन्ने ठानेको छ भने त्यो असम्भव छ । मुलुकले अर्को दुर्गति भोग्ने स्थिति बन्छ ।’
सहमतिका निम्ति बसेर, छलफल गरेर सहकार्य गर्दै सहमतिको खोजि गर्नुबाहेक अरु कुनै विकल्प नरहेको भन्दै आन्दोलनको कार्यक्रम स्थगित गरेर सहमतिमा आउन माओवादीलाई प्रधानमन्त्री नेपालको आग्रह थियो । प्रधानमन्त्री माधवकुमार नेपालले भूतपूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको ११ औँ स्मृति दिवसका अवसरमा सोमबार राजधानीको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा दिनुभएको मन्तव्यको पूर्ण पाठ :
कार्यक्रमका सभापति महोदय,
मञ्चमा उपस्थित हुनुभएका बिभिन्न राजनीतिक पार्टीका वरिष्ठ नेताहरु,
माननीय सभासदहरु,
प्रतिष्ठानका पदाधिकारीहरु,
कार्यक्रममा सहभागी महानुभावहरू,
हाम्रो पार्टी नेकपा (एमाले) का तत्कालीन अध्यक्ष कमरेड मनमोहन अधिकारीको निधन भएको आज ११ वर्ष पूरा भएको छ । सर्वप्रथम म उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
नेपालको कम्युनिस्ट आन्दोलनले विभिन्न आरोह-अवरोहहरूको सामना गर्दै अघि बढिरहेको छ । पञ्चायतकालमा हामीले सिला खोजेझैँ एक-एक व्यक्ति खोजेर कम्युनिस्ट आन्दोलनको पुनःगठनको अभियान सुरु गरेका थियौँ । पञ्चायती कालरात्रिको अन्त्य गरी बहुदलीय व्यवस्था स्थापना गर्ने अभियानमा लागेर हामीले २०४६ सालमा पहिलो पटक वामपन्थी आन्दोलनलाई मुलुकको एउटा प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गराएका थियौं । नत्र भने त्यसअघि २००७ सालमा हेरौँ वा २०१७ सालमा, कम्युनिस्ट पार्टीले तदनरुपको भूमिका खेलेको देखिँदैन । ०१७ सालको शाही ‘कु’ पछि आफ्नै विगतबाट समेत पाठ सिक्दै हामीले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउनुपर्दछ भन्ने मान्यता विकास गर्यौँ । फलस्वरूप २०४६ सालको परिवर्तनमा नेपालको वाम शक्तिलाई एउटा प्रमुख हिस्सेदार र नेतृत्वकर्ताका रूपमा स्थापित गर्न हामी सफल भयौँ । अहिले मुलुकमा कम्युनिस्ट आन्दोलन जुन अवस्थामा आइपुगेको छ, यसमा कमरेड मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका कम्युनिस्ट नेताहरूको अभिभावकत्व र संरक्षकत्वको ठूलो भूमिका रहेको छ ।
२०४६ सालको आन्दोलनका क्रममा सबै कम्युनिस्ट पार्टीहरूबीच सहकार्यको अवसर प्राप्त भयो । हामीले संयुक्त वाममोर्चा निर्माण गरेका कारण धेरै कम्युनिस्ट नेताहरूका बीचमा अझ बढी नजिक हुने र एक अर्कालाई बुझ्ने अवसर प्राप्त भयो । वास्तवमा मनमोहन अधिकारीसँग हामी त्यही क्रममा अझ बढी घनिष्ट रूपमा नजिकिएका थियौँ । तपाईंहरुलाई म स्मरण गराउन चाहान्छु, तत्कालीन समयमा संविधान सुझाव आयोगमा म आफै र कमरेड भरतमोहन अधिकारी पनि थियौं र हामी बीचको सहकार्यले दुई पार्टीबीचको सम्बन्धलाई नजिक बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको थियो । त्यसैगरी कमरेड सिद्धीलाल सिंहलाई पनि मैले सम्झीरहेको छु, उहाँसँगको सम्बन्धले दुई पार्टीबीचको सम्बन्ध नजिक बनाउनका लागि र पछि एकीकरण गर्नका लागि ठुलो भूमिका खेलेको थियो । फलस्वरूप पछि तत्कालीन नेकपा (माले) र माक्र्सवादीका बीचमा एकीकरण नै भयो । र, हामीले मनमोहन अधिकारीलाई हाम्रो अभिभावक र अग्रजका रूपमा पायौँ । जीवनपर्यन्त उहाँ नेकपा (एमाले) को विकास र विस्तारका लागि खटिरहनुभयो, जसको हामीले जति प्रशंसा गरे पनि कमै हुन्छ ।
हामीहरु युवा थियौँ । हामीले सुरु गरेको कम्युनिस्ट आन्दोलनको पुनःगठनमा मनमोहन अधिकारी जस्तो अग्लो उचाइँ भएको नेताको अभाव थियो र उहाँलाई हामी जस्ता जुझारु युवाहरू र उनीहरूले परिचालन गर्ने सङ्गठनको अभाव थियो । यी दुईबीचको उचित संयोजनबाट वास्तवमा मनमोहन अधिकारीको विशाल व्यक्तित्व फक्रिन पाएको हो भन्ने मलाई लाग्छ ।
मैले कमरेड मनमोहन अधिकारीसँग निकै नजिकबाट काम गर्ने अवसर पाएँ । पार्टीमा उहाँ अध्यक्ष र म महासचिव रहेर छ वर्ष काम गर्यौँ भने सरकारमा उहाँ प्रधानमन्त्री र म उपप्रधानमन्त्री भएर नौ महिना काम गर्यौँ । यी दुवै अवधिमा मैले उहाँलाई सधैँ आफ्नो नेता मात्र होइन, अभिभावकमा रूपमा पाएको थिएँ । छलफलबाट सहमतिमा पुग्ने र निर्णयलाई कार्यान्वयन गर्ने उहाँको बानी थियो । कहिल्यै पनि उहाँले कुनै पनि कुरामा अनावश्यक जिद्दी लिएको, स-साना कुरालाई व्यक्तिगत प्रतिष्ठाको विषय बनाएको र त्यसैका आधारमा कसैमाथि दुर्वचन लगाएको मलाई थाहा छैन । उहाँको यही मिलनसार र शालीन स्वभावका कारण हाम्राबीचमा कहिल्यै पनि उमेरको विभेद महसुस भएन । यस अर्थमा म उहाँलाई एकजना आदरणीय नेताका रूपमा लिन्छु ।
राजनीतिमा इमानदारी र लगनशीलताका लागि मनमोहन अधिकारीलाई पर्याय नै भन्दा हुन्छ । जीवनको लामो कालखण्डमा उहाँले कैयौँ उकाली-ओरालीको सामना गर्नुभएको हामी पाउँछौँ । विभाजनबाट आक्रान्त नेपालको कम्युनिस्ट आन्दोलनमा कहिलेकाहीँ एक्लो यात्री जस्तो हुँदा पनि उहाँले कहिल्यै हिम्मत हार्नुभएन, मनोबल गिर्न दिनु भएन । फलस्वरूप उहाँ हाम्रो सम्मानित नेता हुन पुग्नुभयो । नेपालको इतिहासमा पहिलो पटक गठन भएको कम्युनिस्ट पार्टीको सरकारको प्रधानमन्त्रीका रूपमा आज पनि उहाँलाई मानिसहरूले श्रद्धा गर्दछन् ।
नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित महासचिव मनमोहन अधिकारीको स्मृति दिवसका अवसरमा मुलुकको कम्युनिस्ट आन्दोलनका बारेमा केही कुरा भन्न उचित होला भन्ने मलाई लागेको छ ।
अहिले हाम्रो मुलुकको वामपन्थी आन्दोलनलाई उग्रवामपन्थबाट बचाउने चुनौती हाम्रा सामु देखा परेको छ । बन्दुक नै सबैथोक हो र बन्दुकबाहेक परिवर्तनको अर्को साधन छैन भन्ने उग्रवामपन्थी सोचका कारण कतै भोली सिङ्गो वामपन्थी आन्दोलन नै भड्खालोमा जाकिने त होइन भन्ने प्रश्न खडा भएको छ । हामी बन्दुक होइन, जनता नै सर्वशक्तिमान हुन् भन्ने कुरामा विश्वास गर्दछौँ । जनताको बहुदलीय जनवाद कमरेड मदन भण्डारीको अगुवाईमा प्रतिवादन भएको त्यस्तो कम्युनिस्ट आन्दोलनको त्यस्तो सिद्धान्त हो, जसले जनतालाई शिरमा राखेको छ, केन्द्रबिन्दुमा राखेको छ । जसलाई हामीले प्रर्वद्धन पनि गर्नुपर्छ । जनताबाहेक अरू कसैको बलमा हुने परिवर्तन अस्थायी र कृत्रिम हुन्छ भन्ने कुरा इतिहासका एक होइन, अनेक घटनाक्रमहरूले देखाइसकेका छन् । यसर्थ हामीले इतिहासको त्यही पाठबाट शिक्षा लिएर जनताको बहुदलीय जनवादलाई अङ्गीकार गरेका छौँ ।
उग्रवापन्थको पतन दक्षिणपन्थमा गएर हुन्छ । अर्थात् उग्रवापमन्थ जति-जति उग्र हुँदै जान्छ, दक्षिणपन्थ पनि त्यति-त्यति बलियो हुँदै जान्छ । हामी हाम्रो मुुलुकको इतिहास होइन, केही समयअघिका घटनाक्रमहरूलाई हेर्न सक्छौँ । जब माओवादीले बन्दुकका भरमा जताततै आतङ्क मच्चाइरहेको थियो, अरू पार्टीका कार्यकर्ताको ज्यान लिइरहेको थियो, प्रहरी चौकीहरूमाथि आक्रमण गरिरहेको थियो, ठीक त्यहिबेला ज्ञानेन्द्र शाहले प्रजातान्त्रिक शासन प्रणाली समाप्त गर्दै सम्पूर्ण सत्ता आफ्नो हातमा लिए । तर, जब १२ बुँदे समझदारीपछि माओवादीले फौजी कारवाही नगर्ने सहमति भयो, तब हामीले जनताका खाली हात र दृढ सङ्कल्पका आधारमा राजतन्त्रलाई समूल अन्त्य गर्यौँ । जनआन्दोलन विल्कुल शान्तिपूर्ण र जनताको बलमा सम्पन्न भएको हो । यसबाट के देखिन्छ भने आन्दोलनका हाम्रा परम्परागत धारणाहरूमा पनि परिमार्जन जरुरी छ ।
हामीले सैद्धान्तिक-वैचारिक सङ्घर्ष नगरी उग्रवामपन्थलाई सुधार गर्न सक्दैनौँ । त्यसका लागि उनीहरूका गलत सैद्धान्तिक अवधारणा, गलत क्रियाकलाप र गलत नीतिहरूको विरोध र भण्डाफोर गर्नैपर्दछ । हामीलाई दया-माया गरेर वा हामीले अनुनय-विनय गरेर उग्रवामपन्थमा सुधार आउन सक्दैन । उग्रवामपन्थलाई सही ठाउँमा ल्याउनका लागि नेकपा (एमाले) लाई बलियो बनाउनुपर्दछ । जब हामी बलियो हुन्छौँ, तब मात्र उग्रवामपन्थ कमजोर हुन्छ । त्यसैले हाम्रा प्रत्येक नेता-कार्यकर्ताले एमालेको बोली बोल्नुपर्दछ, एमालेको भाषा बोल्नुपर्दछ र एमालेको वकालत गर्नुपर्दछ, अरूको होइन । अनि मात्र जीवनको अन्तिम घडीसम्म पार्टीकै लागि मरिमेट्नुभएका मनमोहन अधिकारी जस्ता नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
मित्रहरु ! आजको विषय छ, ‘वतर्मान राजनीतिक गतिरोध र अग्रगामी निकास’ । पूर्ववक्ता मित्रहरुले यसबारेमा धेरै कुराहरु बताइसक्नुभएको छ । हामी पनि अहिलेको राजनीतिक गतिरोधप्रति अत्यन्तै चिन्तित छौँ । राजनीतिक दलहरुसँग परार्मशको सिलसिला पनि चलिरहेको छ । नेकपा-एमाले) पनि गम्भीर भएर गतिरोध अन्त्य गर्दै दिगो शान्ति स्थापित गर्ने, राजनीतिक स्थायित्व कायम गर्ने, सहमति र सहकार्यको राजनीतिक वातबरण सिर्जना गर्ने सवालमा लागेको छ । यसै सन्दर्भमा एमालेले बिभिन्न राजनीतिक दलहरुसँग परार्मशको क्रम पनि अगाडि बढाइरहेको छ । नेकपा-एमाले) कहिल्यै पनि समस्याको बाधक रहेको छैन र समस्याको कारक पनि छैन । यस पार्टी सँधैभरी समस्या समाधानका निम्ति रचनात्मक र सिर्जनात्मक रुपमा सँधै अगाडि बढ्दै आएको छ । नेकपा-एमाले)को एउटा सिपाहीको हैसियतले र त्यही पार्टीबाट प्रशिक्षित भएको कार्यकर्ताको हैसियतले पनि म समस्याको कहिल्यै सहायक होइन, समाधान गर्ने साधकका रुपमा, समस्या सिर्जनाकर्ता होइन, समस्या समाधानका निम्ति भूमिका निर्वाह गर्दै आएको व्यक्ति हुँ । त्यसकारण म एकीकृत नेकपा-माओवादी)लाई आह्वान गर्न चाहन्छु, जनतालाई पीडा दिने, आतंकित तुल्याउने कुनै पनि काम नगर्नुस्, चन्दा आतंक नमच्चाउनुस्, जनतामा भय र त्रासको वातबरण सिर्जना नगर्नुस् र शक्तिको आधारमा, धमासको आधारमा र धम्कीको आधारमा सत्ता कब्जा गर्ने चिन्तन छाड्नुस् । आउनुहोस, बसेर छलफल गर्नुस् । अहिलेको मूल समस्या शान्ति स्थापना गर्ने हो, यसलाई पूर्णता प्रदान गर्ने हो, सकरात्मक निष्कर्षमा पुर्याउने हो । त्यसका निम्ति नागरिक पार्टीसँग सैन्य शक्ति हुनुहुँदैन भन्ने मान्यतका आधारमा चल्ने हो, सैन्य संरचना समाप्त गर्ने कुरालाई, द्वन्द्वकालका बाँकी समस्या समाधान गर्ने विषयलाई केन्द्रबिन्दुमा राखौं । २०६२-६३ सालको जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने, ऐतिहासिक परिवर्तनलाई दिशाबोध गर्ने सन्दर्भमा आवश्यक संवैधानिक र कानुनी दस्तावेजका रुपमा संविधान निर्माणलाई केन्द्रबिन्दुमा राखौं । संविधान निर्माणका सवालमा रहेका असहमतिहरुको छिनाफानो गर्नका लागि बसौं, छलफल गरौं र साझा सहमतिको खोजी गरौं ।
सरकार कुनै समस्याको विषय होइन । शान्ति प्रक्रिया टुंग्याएर संविधान निर्माण गर्ने विषय नै अहिलेका समस्या र चुनौतिका विषय हुन् । सरकारका सवालमा हामी फेरि पनि बसेर छलफल गर्न सक्छौं । अहिले कुनै एउटा पार्टीले चाहेर पनि देशको समस्या समाधान गर्न सक्दैन । माओवादीले पनि यो कुरालाई बुझ्न जरुरी छ । उनीहरुको ९ महिनाको सरकारले शान्ति प्रक्रिया एक कदम पनि अगाडि बढाउन सकेको थिएन । यो सत्य हो । ९ महिनासम्म शान्ति प्रक्रिया हल गर्न के कदम चालेका थिए ?, कुन सफलता प्रँप्त गरेका थिए ? हामी दाबाका साथ भन्न सक्छौं- शान्ति प्रक्रियाको सन्दर्भमा ४ हजार ८ अयोग्य लडाकुहरुलाई हामीले शिविरबाट बाहिर निकाल्न सफल भएका छौं । शान्ति प्रक्रियालाई टुंगो लगाउनकै लागि हामीले माओवादी लडाकुहरुको समायोजन र पुनस्र्थापना गर्ने नीति मात्रै होइन, कार्ययोजना पनि अगाडि सारेका छौं । त्यतिमात्रै होइन, उनीहरुको व्यबस्थापन गर्ने निर्देशिका र आचारसंहितामा समेत मूलत ः सहमति कायम गरेका छौं । माओवादी सेनाका लडाकुहरुको एउटा संख्यालाई सुरक्षा निकायमा समायोजन गरेर व्यबस्थापन गर्न सकिन्छ भने बाँकी संख्यालाई बिभिन्न किसिमको तालिम दिएर समाजमा उचित ढंगको जीवनयापन गर्ने अवसर दिन सकिन्छ । यी सबै कुरामा बसेर छलफल गर्न जरुरी छ । यसका लागि वतर्मान सरकारले आफ्नो तर्फबाट सहमतिका निम्ति एउटा प्रस्ताव सहितको दस्तावेज अगाडि सारेको छ र सहमतिका लागि निरन्तर लागिरहेको छ । त्यतिमात्रै होइन, मैले आफैँ एकीकृत नेकपा-माओवादी)का नेताहरुले तथानाम गाली गर्दागर्दै, गालीको तीर बर्साउँदाबर्साउँदै त्यसको प्रवाह नगरी उहाँहरुलाई सहमतिको बाटोमा ल्याउनका लागि धेरै प्रयास गरेको छु । तर मैले अझै हरेस खाएको छैन । अहिले पनि आउनुहोस् ! तपाईंलाई लागेको होला, माधव नेपालले कुर्ची छाड्दैन । माधव नेपाल आफ्नो ईच्छाले गएको पनि होइन । नेकपा-एमाले) को बकाइदा निर्णयबाट, २२ दलको समर्थनबाट, संसदको ३ सय ६० को समर्थनबाट, सहमतिको सरकार बनाउने राष्ट्रपतिको आह्वान सफल नभएको अबस्थामा अन्तत ः बहुमतकै आधारमा छिनोफानो गर्नुपर्ने अबस्था सिर्जना भइसकेपछि म गएको हो । आउनुहोस्, तपाईं-हामी सबै जेठ १४ गतेभित्र जिम्मेवारी पूरा गर्न गम्भीर बनौं । म पनि गम्भीर छु । जेठ १४ गतेपछि चिन्ताको स्थिति नदेखियोस्, सून्यता पैदा नहोस्, राजनीतिक संकट नदेखियोस् भन्नेमा म पनि त्यतिकै चिन्तित छु । दक्षिणपन्थीहरुले शीर उठाउन थालेका छन् । उनीहरुका योजनाहरु सफल नहुन् । प्रतिगामी शक्तिहरुले विगतका सबै गुमेका अधिकार फर्काउन उद्दत हुन थालेका छन्, त्यसलाई विफल पारौं । हिजो आन्दोलनमा जितेका परिवर्तनकामी शक्तिहरु आपसमा झगडा गर्न थाले भने यसको लाभ प्रतिगामी, पुनरुत्थानवादी, दक्षिणपन्थी शक्तिहरुलाई हुन्छ । त्यसकारण हामीले भाइ फुटे, गवरा लुटे भन्ने स्थिति निम्तिन दिनुहुँदैन । आपसमा हातेमालो गर्दै, परिवर्तनका निम्ति, मुलुकको विकासका निम्ति, जनतालाई अधिकार सम्पन्न बनाउनका निम्ति र सामन्तवादलाई समाप्त पारेर नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएर देशलाई विकासको दिशामा अगाडि बढाउन सबै हातेमालो गर्दै अगाडि बढ्न जरुरी छ । त्यसकारण म आह्वान गर्न चाहन्छु, अहिले त्रासको वातबरण पैदा गर्न खोजिएको छ, खुकुरीको, लाठीको नाच, आतंकको सिर्जना गरिएको छ प्रत्येक स्कुलहरुमा, क्याम्पसहरुमा, घरघरमा, आमनागरिकहरुका बीचमा, होटलहरुमा, लजहरुमा, बसका चालकहरुलाई मात्रै होइन, किसान, मजदुर, उद्यमी, पत्रकारहरु सबैलाई त्रसित बनाउन खोजिएको छ ।
यस्तो त्रसित बनाउने तरिकाबाट अगाडि बढ्नुभयो भने तपाईं नेपाली पोलपोटका रुपमा दर्ज हुनुहुनेछ र कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्नुहुनेछ । त्यसकारण पोलपोटको बाटोमा अगाडि नबढ्नुहोस् । साँच्चै प्रचण्डका कोही सच्चा मित्र हुनुहुन्छ भने माओवादीलाई पोलपोटको बाटोबाट रोक्ने सल्लाह दिनुहोस्, सँधैभरी यसमा सजग गराउनु नै बुद्धीमानी हुनेछ । त्यसकारण राजनीनिक गतिरोध अन्त्यका लागि त्यति धेरै जटिलता छ जस्तो मलाई लाग्दैन । कमरेड भरतमोहन अधिकारीले यस सन्दर्भमा चर्चा गर्नुहुनेछ । कसरी शान्ति प्रक्रियालाई सकरात्मक निष्कर्षमा पुर्याउने प्रस्ताव नेकपा-एमाले)ले अगाडि सारेको छ, कसरी अन्य राजनीतिक पार्टीले पनि अगाडि सारेको छ, कसरी संविधानका सवालमा पनि साझा सहमति निकाल्न सकिन्छ ? त्यसैगरी सत्ता बाँडफाँटका बारेमा पनि साझा सहमतिका आधारमै निकास निकाल्न नसकिने होइन । तर सडकमा तमासा देखाएर, बिद्रोह गरेर, रक्तपात मच्चाएर, वलजफ्ती सत्ता कब्जा गर्छु भन्ने मान्यता बोकेर कसैले सत्ता आफ्नो हातमा लिन्छु भन्ने ठानेको छ भने त्यो असम्भव छ । मुलुकले अर्को दुर्गति भोग्ने स्थिति बन्छ । त्यो बाटोमा कोही पनि नलागुन् भन्ने जोड दिँदै सहमतिका निम्ति बसेर, छलफल गरेर सहकार्य गर्दै सहमतिको खोजि गर्नुबाहेक अरु कुनै विकल्प नरहेको कुरामा जोड दिँदा नै मनमोहन अधिकारी जसले सँधैभरी सहमतिको खोजि गरिरहनुभयो, उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन सक्दछ ।
अन्त्यमा, कमरेड मनमोहन अधिकारी जस्ता युगपुरुषको सम्झनालाई चिरस्थायी बनाइराख्नका लागि मनमोहन स्मृति प्रतिष्ठानले जे जस्ता कामहरू गरिरहेको छ, यी प्रशंसनीय छन् । म आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइरहनुहोस् भन्ने कामना गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु ।
धन्यवाद !
Monday, April 26, 2010
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment