Monday, April 26, 2010

'जातीय राज्य' विरुद्ध हतियार तालिम

नारायण सापकोटा काभ्रे, १२ वैशाख माओवादीले अन्तिम युद्धका लागि भन्दै देशभरि प्रशिक्षण सञ्चालन गरिरहेका वेला आफूलाई क्षेत्री सेना बताउने युवा भने 'जातीय राज्य'विरुद्ध काभ्रेमा सैन्य तालिम लिइरहेका छन् । सेना र प्रहरीबाट अवकाशप्राप्त व्यक्तिसमेत तालिममा सहभागी भएको स्रोतले बताएको छ ।
तालिम तीन महिनादेखि रातिको समयमा चालिरहेको छ । शनिबार राति ६० जना युवाले तालिम लिएको आफूलाई पूर्व भारतीय सैनिक बताउने युद्धसिंह बस्नेतले बताए । उनले आफ्नो नेतृत्वमा तालिम सञ्चालन भइरहेकोसमेत बताए । युवालाई अत्याधुनिक हतियारदेखि खुकुरी र लाठी चलाउने कला सिकाइन्छ ।

तालिममा सहभागी सबैले खुकुरीको क्रस चिह्न भएको कपडा टाउकोमा बाँध्ने गरेका छन् । 'अहिले सबै संगठनसँग हतियार छ, जातीय राज्यविरुद्घ सडक आन्दोलन गर्दा क्षेत्रीमाथि आक्रमण हुन सक्छ, त्यसको प्रतिकार गर्न सैनिक तालिम सञ्चालन गरेका हौ,' बस्नेतले नयाँ पत्रिकासँग भने, 'हाम्रो आन्दोलन जातीय राज्यविरुद्घ मात्र लक्षित हुन्छ ।'

तालिममा काभ्रेका अलावा सिन्धुपाल्चोक, रामेछाप, मकवानपुरका युवासमेत सहभागी छन् । सातामा तीन दिन मात्र सैनिक तालिम सञ्चालन हुने बस्नेतले जानकारी दिए । '१०१ जाति बस्ने देशमा सीमित जातिको नाममा राज्य छुट्याउँदा अरू जातिले के गर्ने ?' उनले भने, 'सबै जातिले आ-आफ्नो राज्य माग्न थाले भने यो देशको अवस्था के हुन्छ ?'

उनीहरूले हरेकपटकको तालिममा स्थान परिवर्तन गर्ने गरेको तालिममा सहभागी एक युवाले बताए । तालिममा सहभागीमाथि कुनै पनि किसिमको आक्रमण हुन सक्छ भनेर अवकाशप्राप्त सेना र प्रहरीका जवानले हतियारसहित तालिमस्थलमा सुरक्षा दिएका थिए । 'जातीय युद्घ गराउन चाहनेले हाम्रो खोजी गरिरहेका छन्,' थापा थरका अवकाशप्राप्त एक सैनिकले भने, 'हामी अनुभवी भएकाले तालिमेको सुरक्षा दिइरहेका हौँ ।' देशका अन्य ठाउँमा पनि सैन्यतालिम भइरहेको उनको दाबी छ । उनीहरूसँग एलएमजी, एके- ४७, सट्मेसिनगन, एसएलआर, सट्गनलगायतका भारतीय र चाइनिज हतियार रहेको स्रोतले बताएको छ ।

शनिबार राति कुसादेवी-र्‍यालेको बाटो हुँदै केही हातहतियार ल्याइएको बस्नेतले बताए । 'हो केही हतियार आएका छन्,' उनले भने, 'यहाँको तालिम शनिबारबाट सकिएको छ, अब अन्य जिल्लामा केन्दि्रत हुन्छाँै ।' आफूहरूको तालिम जनतालाई दुःख दिन नभई क्षत्रीहरूको रक्षा तथा जातीय राज्यविरुद्ध मात्र भएको बस्नेतको भनाइ छ । (नयाँ पत्रिका)

No comments:

Post a Comment