मैना धिताल थिम्पु । थिम्पु (भुटान), वैशाख १३ - कूल राष्ट्रिय खुसी (ग्रस नेशनल हृयाप्पीनेस-जिएनएच) मूलमन्त्र सहितको विकास नीति अवलम्वन गर्दै आएको भुटानका नागरिक यतिबेला राजधानी थिम्पुमा अनुहारभरी मुस्कान छर्दै अतिथीहरुलाई स्वागत गर्न व्यस्त छन् ।
जिएनएचको नारा लिएर दक्षिण एसियाको आर्थिक विकासमा आफुलाई अग्रणी स्थानमा उभ्याउन सफल भुटानको राजधानी र पर्यटकीय सहर पारो दुलही झै सिंगारिएको छ । १६ औं सार्क सम्मेलनको आयोजक राष्ट्र भुटानमा सार्क क्षेत्रका सरकारी प्रतिनिधि, सञ्चारकर्मी र पर्यवेक्षकहरुको घुइचो लागेको छ । मिडीया सेन्टर यसअघि नै खचाखच भइसकेका छन् । सडकमा आठै सदस्य राष्ट्रहरुको राष्ट्रिय झण्डा फरफराइएको छ । साथै, ती देशका सरकार प्रमुखहरुको तस्विर पनि सडकमा देख्न सकिन्छ । तासी देल्ले -स्वागत, नमस्कार) लेखिएका स्वागत द्वारहरु ठाउंठाउंमा राखिएका छन् ।
वरीपरी अग्ला डांडाले घेरिएको सानो उपत्यका थिम्पु र एक मात्रा अन्तर्राष्ट्रिय विमानस्थल पारोलगायतका स्थानमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । स्मार्ट पोशाकमा रहेका प्रहरीहरु जतासुकै गस्ती गरिरहेका भेटिन्छन् ।
महिनौं लगाएर तयारी गरिएको हो । सडक विस्तार गरिएका छन् भने रेलिङ पेन्ट गरिएका छन् । थिम्पुदेखि पारोसम्मको मुख्य सडकमा सार्वजनिक यातायात व्यवस्थित बनाइएको छ, जसअनुसार अपि्रल २६ देखि ३० सम्म जोर र बिजोर नम्बरका आधारमा सवारी साधन चल्ने व्यवस्था गरिएको छ । ठूला सवारी साधनलाई भने सम्मेलनअवधिभर थिम्पु सहरमा प्रवेश गर्न रोक लगाइएको भुटान टुडेले जनाएको छ ।
भारतले जिएनएचलाई सार्क क्षेत्रको विकासको सम्भावित मोडलका रुपमा प्रवर्द्धन गर्न लागेको हो । सम्मेलनमा जिएनएचसम्वन्धी आफ्ना् अनुभव बाड्न पनि त्यस सम्वन्धी गतिविधि गर्ने सरकारी अधिकारीले जनाएका छन् । जिएनएच विश्वका धेरै भागमा फैलीसके पनि दक्षिण एसियामा लागु हुन नसकेको भुटानी प्रधानमन्त्री जिग्मे वाई. थिन्लेले सञ्चारकर्मीलाई बताएका थिए । यस पालीको मुख्य एजेण्डा जलवायु परिवर्तन पनि जीएनएचसंगै आवद्ध गरिएको छ । भुटानको प्राकृतिक वातावरणको संरक्षणलाई यसैको एउटा मुख्य आधारस्तम्भ मानिएको छ ।
आइतबार सुरु भएको सार्क सचिव स्तरीय बैठकले सम्मेलनको तीन प्रमुख एजेण्डा व्यापारमा सार्क सम्झौता -सार्क एगि्रमेन्ट अन ट्रेड इन सर्भिसेज), प्रकोप व्यवस्थापनलाई तिव्र सम्बोधन गर्ने संयन्त्र र वातावरणसम्वन्धी सहयोग गरी अन्तिम रुप दिएको छ ।
भारतीय बिदेश सचिव निरुपमा रावले विदेश सचिवहरुको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै सार्कका जनताको जीवनस्तर सुधार गर्न यस क्षेत्रको सरकारले विकासमा केन्दि्रत गर्दै मुद्दाहरुको पहिचान गर्न जरुरी रहेको बताइन् । उनले भुटानले सम्मेलन आयोजना गरेर अहिलेको जल्दोबल्दो बिषय जलवायु परिवर्तनलाई केन्द्रमा राखेकोमा प्रशंसा गरिन् । सम्मेलनमा भारतले यातायात, व्यापार र सञ्चारको माध्यमबाट सार्क क्षेत्रलाई जोड्ने प्रस्ताव राख्ने उनले जनाइन् ।
नेपालका परराष्ट्र मन्त्री सुजता कोइराला पनि आइतबारै ड्रुक एयरको उडानबाट थिम्पु आइपुगेकी छन् । सार्क सम्मेलनको उद्घाटनका बेला सार्क विकास कोष -एसडिएफ) को स्थायी सचिवालयको पनि उद्घाटन गर्ने कार्यक्रम छ । यो कोषको प्रारम्भिक रकम ३० करोड अमेरिकी डलर छ । कोषको सचिवको नियुक्ती पनि यसै अवसरमा गरिने जनाइएको छ । सम्मेलनले यसअघि भएका सम्झौता र सन्धीको पनि समीक्षा गर्नेछ ।
सम्मेलनमा सदस्य राष्ट्र र पर्यवेक्षक मुलुकका गरी करिव ४ सय जना प्रतिनिधि आउने पक्का भएको भुटान अब्जर्भरले जनाएको छ । यस्तै, करिव १ सय १० जना क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पत्रकारहरुले सम्मेलनको समाचार संकलनका लागि दर्ता गरेका छन् । सार्क भिलेजको नामले चिनिने मोटीहाङस्थित मन्त्रीस्तरीय कम्युनमा भिआईपीहरुलाई राखिनेछ भने अन्य प्रतिनिधिहरुका लागि साढे ४ सय कोठाहरु बुक गरिएका छन् । प्रतिनिधिहरुको आवात्जावतका लागि सरकारले १ सय ८० सवारी साधन भाडामा लिएको छ । -इकान्तिपुर
Tuesday, April 27, 2010
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment