Friday, April 30, 2010

प्रदर्शनकारीलाई १४ सय भत्ता

रत्नेश शशी, काठमाडौं, वैशाख १७- आन्दोलनका निम्ति काठमाडौं भित्र्याइएका माओवादी कार्यकर्ताले आफूहरु प्रत्येकलाई १४ सय रुपैयाँ भत्ता दिइने बताइएको भए पनि त्यो रकम नपाएको गुनासो गरेका छन्।


राजधानीको सुन्धारा क्षेत्रमा सप्तरीबाट ८५ र सिरहाबाट आएका ७७ जना कार्यकर्ताले यस्तो गुनासो गरेका हुन्। आफूहरु सुरक्षा व्यवस्थाका निम्ति बोलाइएको समेत उनीहरुले बताए।

'इन्चार्जले यहाँ आइपुगेपछि पैसा पाइन्छ भनेकाले सरासर आयौं,' सुन्धारा छेवैको एलआइसी कार्यालय रहेकै भवनमा बसोबास गरिरहेका उनीहरुले भने,'तर, यहाँ खर्च सकि सकेको छ। दिइने भनिएको पैसाको कुनै टुंगो नलाग्दा अलमलमा परेका छौं।' साथै ल्याउने इन्चार्जले समेत पैसा छैन भनेपछि अन्यौल बढेको उनीहरुको गुनासो थियो। छेउकै खुला स्थानमा पकाएका खानेकुरा पाइएकाले खाने र बस्ने समस्या भने नभएको उनीहरुले बताए। उनीहरुका अनुसार यसरी आएकाहरुलाई दिनको दुई छाक टन्न खान दिइएको भए पनि खाजा वा अन्य कुराको केहि व्यवस्था छैन।

'हामीसँगै आएकामध्ये केहि साथी फर्किसके,' उनीहरुले भने, 'अरु केहि भने आफन्तको घर तर्फ लागेका छन्।' दाँत माझ्ने ब्रससमेत नबोकेर हिँडेका आफूहरुलाई उक्त स्थानमा एउटै हलमा चार सयका हिसाबले राखिएको उनीहरुले बताए।

त्यस भवनमा मात्रै यसरी ल्याइएका कार्यकर्ताले चारवटा हल प्रयोग गरिरहेका छन्। आफूहरुलाई राज्यका आधारमा विभाजन गरेर राखिएको र यो भवनलाई 'मिथिला राज्य' नामाकरण गरिएको जानकारीसमेत उनीहरुले दिए। सुन्धारा क्षेत्रमा मात्रै आफूहरु जस्ता १५ हजार जनालाई बसोबासको व्यवस्था मिलाइएको उनीहरु बताउँछन्। आफूहरु मध्ये कोहि सामान्य जानकारीका आधारमा, कोहि करले र कोहि रहरले आइपुगेको समेत उनीहरुको कथन थियो।

'नुहाउनका निम्ति हामीलाई सामुहिक रुपले नै सुन्दरीजल लैजाने योजना रहेको सुनेका छौं,' बब्लु नाम गरेका कमाण्डरले भने, 'खानका निम्ति चाँहि ट्यांकर मगाएर राखिएको छ।' उनीहरु बसोबास स्थलको छेवैमा खुला स्थानमै खाल्डो खनेर लहरै शौचालय बनाइएको छ जसलाई प्लास्टिकले छोपिएको छ। (nagariknews)

No comments:

Post a Comment