काठमाडौ, वैशाख १७ - सरकारले आन्दोलनमा हिंसाको प्रयोग भए सेना परिचालन गर्ने जनाएको छ ।
माओवादी आन्दोलनको पूर्वसन्ध्यामा उपप्रधानमन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा मन्त्रिपरिषदले बनाएको सुरक्षा प्रबन्ध समितिको बिहीबार बेलुकी बसेको बैठकले हिंसात्मकस्थितिमा सेना परिचालन गर्ने निर्णय गरेको हो ।
बैठकमा आन्दोलनको पूर्वसन्ध्यामा भएको खुकुरी, लाठी प्रदर्शन र सकेट बमको बरामदीले हिंसा र मुठभेडको खतरा निम्त्याएको र आन्दोलनले हिंसात्मक रुप लिए सेना समेत परिचालन गर्ने विषयमा छलफल भएको थियो ।
'नागरिकलाई सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हो । हिंसात्मक अवस्थामा सिर्जना भए अन्य सुरक्षा निकायका साथै सेना पनि परिचालन हुन्छ,' रक्षामन्त्री विद्या भण्डारीले ईकान्तिपुरसित भनिन् । समितिले बृहत् शान्ति सम्झौता उल्लंघन नहुने गरी शान्तिपूर्ण रुपमा आन्दोलन गर्न माओवादीलाई आग्रह गरेको छ ।
'सरकारले पनि संयम्ता अपनाउछ । माओवादी पनि आन्दोलनमा हिंसाको प्रयोग नगरोस्, शान्ति सम्झौताको दायराभित्र रहोस् भन्ने हाम्रो आग्रह हो,' रक्षामन्त्री भण्डारीले भनिन् । गृहमन्त्री भीम रावलले आन्तरिक सुरक्षाका तीन वटै निकाय प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको तयारीबारे जानकारी दिएका थिए । समितिमा सत्तारुढ चार ठूला दल कांग्रेस, एमाले, फोरम लोकतान्त्रिक र तमलोपाको प्रतिनिधित्व हुनेगरी रक्षा, गृह, संसदीय मामिला, शिक्षा र सन्चारमन्त्री सदस्य छन् ।
रक्षामन्त्री भण्डारीले बिहीबार नै प्रधानसेनापति छत्रमानसिंह गुरुङसंग माओवादी आन्दोलनमा हुने संभावित हिंसा रोक्न सेनाको तयारीबारे जानकारी लिएकी थिइन् । स्रोतका अनुसार उनले सेनासमेत परिचालित हुनुपर्ने अवस्था आउन सक्ने भएकाले बन्दोबस्तीसहित उच्च सतर्कतामा बस्न सेनापतिलाई निर्देशन दिएकी थिइन । (ekantipur)
Friday, April 30, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment