Tuesday, April 27, 2010

मरूभूमिमा गाईका बथान

दिनेश रेग्मी अल, वैशाख १३ - रकियाको घाँसेमैदान डुल्दै गर्दा किसान साथीहरूले जर्सी 'गाई फारम' जाने कि भनेर सोधे ? ओहो ,यो त गजब मौका हो, नजाने त कुरै भएन । घुम्ने मान्छेलाई नयाँ ठाउँमा जान पाउनुको जस्तो आनन्द के हुन्छ र !
मिनी टाटामा घाँसको भारी थियो, त्यही फाराममा लैजान । काठमाडौं कोटेश्वरका बुद्ध थापा, बागलुङ खुङ्गाका गनबहादुर फगामी, सर्लाही लालबन्दीका बुद्धमान पाखि्रन र म फारामतर्फ लाग्यौं । थापा र पाखि्रन गाई फारामकै चालक र फगामी फारामका घाँसी । अल रकियाबाट १३ किमिमा छ- यो गाई फाराम पुग्न । अल मुजम्मा भन्ने ठाउँमा रहेको फाराम दोहाबाट साउदी बोर्डर लाग्दा सल्बा रोडको २९ किमि पार गरेपछि एक किमि दाहिनेतर्फ भित्र गए भेटिन्छ ।

गाई फारामको ठूलो कम्पाउन्डको गेटमै पुगियो । हामी प्रवेशद्वारमा छिर्न लाग्दा गेटमा त पानी ताल परेको थियो । गाडी छर्रर गर्दै अगाडि बढ्यो ।

बाटोमा किन पानी ताल पारेका होलान् भन्ने लाग्यो । कहाँ ताल पार्नु नि, त्यो त औषधि पानी पो रहेछ । गाई फाराममा जाँदा टायरले कीटाणु/जीवाणु बोकेर लैजान्छ भनेर तिनलाई मार्न पो रहेछ । कति सुरक्षा हैन ? सजिलै हुने भए त जसले पनि पाल्थे होला नि ।

भित्र छिरेपछि गाईका टहरा -गोठ) हरू खुबै देखिए । साथीहरू भन्दै थिए- गाईका ८ वटा र बाच्छीका २ वटा छन् । गाईलाई पनि वर्गीकरण गरेर राखिएको छ- दूध दिने क्षमताको आधारमा । संख्या जम्माजम्मी २ हजार रहेछ, जसमध्ये दूध दिने ८ सय । अरू केही ब्याउने अवस्थाका, केही थाकेका र कही बाच्छी । अस्टे्रलियाबाट शुक्रकीट ल्याएर तयार गरेका गाई हुन् भन्थे उनीहरू । बहर लगाउने चलन छैन । त्यही हुनाले बाच्छा जन्मिए पाल्नु नपर्ने रहेछ । प्रत्येक गाई हुन् वा बाच्छी सबैको कानमा ट्याग छ, जसको विस्तृत विवरण कम्प्युटरकृत गरिएको छ । कुनै गाईलाईर् पनि दाम्लो लगाएको छैन । नजिकै छुन जाने हो भने डराएर पर जान खोज्दा रहेछन् ।

हामी गाईलाई हेर्दे दाना बनाउने ठाउँमा गयौं, घाँस र अन्न मिलाएर बनाइँदै थियो- घाँस दाना । धनुषा सबैलाका सन्तोषकुमार साह लोडरबाट दाना बनाउने मेसिनमा घाँस खसाउँदै थिए । एकजना बंगलादेशी पनि थिए- तयार दानालाई निकाल्न । मेसिनमा मकै, जौ, भटमास, सूर्यमुखी फूल, भुस, कटन, हरियो र सुख्खा घाँस, डेरी मिक्स औधषि, सोडियम कार्बन, पानी, चुना, नुनलगायतका सामान मिसाएर तयार गरिन्छ भन्दै थिए- साह । उनले दाना कुटानी पिसानी गर्ने मिल, गाईको तौल लिने ठाउँहरू घुमाए ।

यो फारामको सनैयामा आफ्नै डेरी फार्म रहेछ, जहाँबाट दूध, दही, घिउ, पनिर, मोही उत्पादन हुँदोरहेछ । त्यही हुनाले गाई फाराम आफैंमा पर्फ]{ट छ, अर्थात् फारामका सबै चिजको व्यवस्था छ । काम गर्नेहरूमा एकजना डाक्टर, एक म्यानेजरसहित चालक, वेल्डर, लेबर, टेक्निसियन, इलेक्टि्रसियनसहितका रहेछन् । गाईको खुर काट्ने टेक्निसियन पनि रैछन् । नेपालीहरू भन्दै थिए- जम्मा ३९ जना छौं, जसमा सबैभन्दा बढी बंगलादेशी १५ जना, नेपाली ९, मिश्री ८, बर्मेली २ पाकिस्तानी, फिलिपिनो र सुडानी १/१ जना ।

हामीहरू घुम्दै बाच्छाहरू राख्ने ठाउँमा पुग्यौं, जहाँ दूधे बाच्छाहरू थिए । तिनलाई हेर्ने एकजनाले हामीलाई गाईको दूध र बिगौती दूध खान दिए । दूध त ठीकै हो तर बिगौती दूध खान कस्तो कस्तो लाग्यो । घरमा त भैंसीको बिगौती पकाएर खाने गरिन्थ्यो । गाईको बिगौती, त्यसमा पनि काँचै, घुटुघुटु निल्न अप्ठ्यारै भयो । तैपनि तीन घुट्की निलियो ।

अलि पर खोटाङ, टेम्माका कबिन्द्र राई गोबर सोहर्ने गाडी -बोक्टाट) चलाउँदै थिए । गाईको माथि टिनका ढ्वाङजस्ता भाँडा थिए- 'कोरल कुल' हो भने भने राईले, जसले गाईलाई गर्मीबाट जोगाउँछ अर्थात् गाईको लागि एसी । गाई फाराम डुल्दै गनबहादुर र म दूध दुहुने ठाउँ, जसलाई मिल्क पार्लर भनिँदो रहेछ- त्यहाँ पुग्यो । दुईटा पार्लरमध्ये एउटामा दूध दुहेर सकिएको रहेछ । अर्को पार्लरमा भने दुहुँदै थिए- संखुवासभा, मादीमूलखर्कका ठिटा वीरेन्द्र कार्की र एकजना बर्मेली ।

एउटा गाई दुहुन ५ मिनेट भए पुग्ने । एक सिफ्टमा ३२ वटा गाई दुहुँदा रहेछन्- यहाँ । एउटा गाईले दिनमा ३०/ ४० लिटर दूध दिँदो रहेछ । दिनमा तीनपटक गाई दुहुनैपर्ने । गाईलाई मिल्क पार्लरमा ल्याएर छुट्टाछुट्टै क्याबिनमा लस्करै राखेपछि ग्वालाहरू थुनको सरसफाइ गर्छन् । अनि दूध दुहुने मेसिन फिट गरिदिएपछि सरर दूध र्झछ र मेसिन आफैं खस्छ । दूध पाइपमा जम्मा भएर ट्याङ्कीमा पुग्छ । गाइको गतिविधि र कुन गाईले कति दियो, सबै गाईको कति भयो, क्यामरा र कम्प्युरटले रेकर्ड गरिरहेको हुन्छ । रमाइलो लाग्यो- गाई फारम नियाल्दा । कृषिप्रधान देश भए पनि अहिलेसम्म आफ्नो देशमा यस्तो देख्न पाइएको थिएन । तर मरुभूमि नै मरुभूमिको देशमा व्यवस्थित पशुपालन देख्दा भने आश्चर्य नै लाग्यो । (कान्तिपुर कतार)

No comments:

Post a Comment