Saturday, May 1, 2010

के आउँछ प्रधान मन्त्रीको सम्वोधनमा ?

तिलक पाठक, वैशाख १८- प्रधान मन्त्री माधवकुमार नेपालले शान्ति र संविधानको ग्यारेण्टीसहितको सहमति भए आफू राजिनामाका लागि तयार भएको सम्बोधन गर्ने तयारी गर्दैछन्। तर, सडकबाटै सरकार परिवर्तनको अलोकतान्त्रिक विधि मान्य नहुने कुरा पनि सम्बोधनमा आउने स्रोतको भनाई छ।


प्रधान मन्त्रीको यो सम्बोधनले माओवादीलाई वार्ता प्रक्रियामा आउन दबाब पुग्ने कङ्ग्रेस-एमाले नेताहरूको बुझाई छ। प्रधान मन्त्रीको सम्बोधनले उनी राष्ट्रिय सहमतिको पक्षमा रहेको देखाउनेछ, जुन माओवादीका लागि नैतिक दबाब पनि हुनेछ। यो स्थितिमा माओवादी शान्ति र संविधानको पक्षमा भए सहमति हुन गाह्रो छैन।

राष्ट्रिय सहमतिको सरकारचाहिँ कसको नेतृत्वमा हुने भन्नेमा यकिन गर्न सकिने स्थिति छैन। जसरी नेपाल नेतृत्वको सरकार राष्ट्रिय सहमतिका लागि असफल भएको हो, त्यसैगरी संविधानसभाको निर्वाचनलगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार पनि असफल भएको निष्कर्ष कङ्ग्रेस र एमाले नेताहरूको छ। त्यसैले आगामी राष्ट्रिय सहमतिको सरकार यी दुई नेताबाहेकको नेतृत्वमा हुनुपर्ने हिसावले छलफल अघि बढाउने पक्षमा कङ्ग्रेस र एमाले नेता छन्।

यस हिसावले सरकारको नेतृत्व माओवादीलाई दिनुपर्ने स्थितिमा दाहालबाहेकको विकल्पमा जाने सम्भावना छ। प्रधान मन्त्री नेपालले यसअघि सार्वजानिकरूपमै दाहालबाहेकको विकल्प आफूलाई स्वीकार्य हुने बताइसकेका छन्। त्यसैले माओवादीलाई नेतृत्व दिनुपर्ने अवस्था आइपरे कङ्ग्रेस, एमालेलगायतका राजनीतिक दल 'पुष्पकमल दाहालबाहेकको विकल्प' मा जाने सम्भावना छ।

त्यसो हुँदा माओवादीवाट स्वाभाविकरूपमा उपाध्यक्ष बाबुराम भट्टराई कङ्ग्रेस, एमालेलगायतका नेताहरूको रोजाईमा पर्नेछन्। त्यसो त पार्टीभित्र लोकतान्त्रिक छवि बनाएका भट्टराई अन्तर्राष्ट्रिय समुदायका लागिसमेत स्वीकार्य हुन सक्ने बुझाई उनीहरूको छ।

माओवादीले यसअघि पटक–पटक अध्यक्ष दाहालकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेकाले अन्य दलबाट 'भट्टराईलाई प्रधान मन्त्री' भनेर आउन सक्ने सम्भावित प्रस्तावलाई स्वीकार गर्न अप्ठयारो भएको हो। त्यसमाथि भट्टराईलाई प्रधान मन्त्रीमा पठाउँदा पार्टीभित्र अध्यक्ष दाहाल कमजोर हुने र त्यसले पार्टीभित्र आन्तरिक विवादसमेत निम्त्याउन सक्ने बुझाई माओवादी पक्षको छ।

त्यसैले पनि हुन सक्छ, अध्यक्ष दाहालले एक सार्वजानिक कार्यक्रममा माओवादी पार्टीभित्रैबाट विकल्पको प्रसङ्गमा चर्को आक्रोश पोखेका थिए- राजतन्त्रको अन्त्य भएपछि पनि प्रधान मन्त्री तोक्दै हिFडने राजा–महाराजा शैली कहाँबाट आयो ? (nagariknews)

No comments:

Post a Comment