काठमाडौं, वैशाख १८ (नागरिक)- माओवादी अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपालको सरकार सडकबाटै ढाल्ने चेतावनी दिएका छन्। 'जनता जागेर सडकमा आइसकेपछि हारेर फर्केको इतिहास छैन', खुलामञ्चको सभालाई सम्बोधन गर्दै उनले भने- ''सत्तासीन नेताहरुले बेलैमा सोचुन्।' काठमाडौंका नेवार समुदायको मुक्ति यो आन्दोलनको सफलतामात्रै हो भन्दै उनले सडकमा उत्रन आह्वान गरे। दाहालले अन्तर्राष्ट्रिय समुदायलाई पनि केही आग्रह गर्छु भन्दै बहुदलीय व्यवस्थाप्रतिको आफूहरुको समर्थनप्रति शङ्का नगर्न आग्रह गरे। उनले सानो समुदायलाई साथ लिएर हिंसा भड्काउनेतर्फ नलाग्न र यो शान्तिपूर्ण आन्दोलनलाई सहयोग गर्न पनि अनुरोध गरे।
उनले आफ्ना तर्फबाट केही कमजोरी भएको स्वीकार गर्दै पत्रकारलाई यतिबेला मन सानो नगर्न पनि आग्रह गरे। केही लाभका लागि नलाग्न भन्दै उनले यतिबेला पत्रकारको आलोचना गर्न आफूले नचाहेको पनि बताए। उनले उद्योगपति र अन्य समुदायलाई केही दिनका लागि कष्ट सहिदिन पनि अनुरोध गरे।
दमन गरेरै माओवादीलाई तह लगाउँछु भन्ने सोचिरहे त्यो पञ्चायत र ज्ञानेन्द्रको भन्दा पनि ठूलो भूल हुने चेतावनी पनि उनले दिएका छन्। 'यतातिर नलाग्न म पार्टीका साथीहरुलाई आग्रह गर्छु'- उनले भने।
दाहालले अब विदेशीको दबाबमा झुक्ने बेला समाप्त भयो भन्दै यहाँको मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन्। उनले शहीदले ल्याएको परिवर्तनमा बाघको छालामा स्यालको रजाइँ भन्दै यो स्थिति आफूहरुलाई सह्य नहुने बताए।
भोलिदेखिको आन्दोलन पनि शान्तिपूर्ण र अनुशासित हुने दाबी पनि उनले गरेका छन्। त्यो ऐतिहासिक र निर्णायक हुने पनि उनले बताए। त्यसलाई हिंसात्मक बनाए त्यसको जिम्मेवार सरकार नै हुने पनि उनले बताए।
प्रधान मन्त्रीले थिम्पूबाट फर्केपछि सेना परिचालनको कुरा गरेको भन्दै त्यसलाई स्याल हुइयाँमात्र भएको पनि उनले बताएका छन्। उनले भनेका छन्- थिम्पूबाट आएर गर्जनेहरुको आदेश तपाईंहरु मान्नुहुने छैन।
उनले सबै ठूला परिवर्तन सडकबाटै हुँदै आएका दाबी गर्दै भनेका छन्- संविधान र कानुनको माकुरे जालोमा राखेर केही मानिसले सधैं शोषण गरिरहने प्रवृत्तिलाई नै यो सरकारले पछ्याएको भनाइ पनि उनको थियो। उनले यति ठूलो सङ्ख्या र अनुशासित उपस्थितिले जनताले फेरि चमत्कार गर्न सक्छ भन्ने प्रमाणित भएको बताएका छन्। के आफू 'लेण्डुपे' भइसकेको त छैन भनेर सरकारमा बस्नेहरुले सोच्न सक्छन् ?- यो जनसागर देखेपछि उनीहरुले सोच्नुपर्ने दाहालले बताए।
आजको माओवादी सभालाई उनले असाधारण भनेका छन्। उनले भोलिदेखि सुरु गर्ने भनिएको आमहड्ताल आधा जितिसकेको आजको उपस्थितिले देखाएको दाबी पनि गरे। अनि भने- तपाईंहरुलाई बधाइ ! उनले यति व्यवस्थित र अनुशासित सभा यसअघि कहिल्यै नभएको पनि बताएका छन्।
सभापतिको आसनबाट बोल्दै माओवादी महासचिव रामबहादुर थापाले आजको कार्यक्रम सामन्त र साम्राज्यवादीहरुविरुद्ध धक्का भएको बताएका छन्। उनले सामन्त र दलालका लागि आजै चिहान खन्न पनि कार्यकर्तालाई निर्देशन दिए।
यसअघि माओवादी नेतृ जयपुरी घर्तीले रक्तपिपासुहरुले मुलुकलाई फेरि युद्धमा घचेटन् खोजेकी आरोप लगाएकी थिइन्। उनले राज्यसत्ता प्राप्तिका लागि अन्तिम पटकको लडाइँमा सहभागी हुन आग्रह पनि गरिन्।
वाइसिएल अध्यक्ष गणेशमान पुनले सेना परिचालन गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्। उनले विद्या भण्डारी, केपी ओली, भीम रावल र खुमबहादुर खड्कालगायतको नामै किटेर धम्की पनि दिए।
यसैगरी चलचित्र निर्देशक युवराज लामाले यो सरकार लागू पदार्थ खाएर सुतिरहेको बताएका थिए। उनले यो बिरामी भएकाले जनताको केही कुरा पनि नसुन्ने अवस्थामा पुगेको दाबी पनि गरे। र, भने- यसको सबै मिलेर उपचार गर्नुपर्छ। उनले म यो सरकारलाई हरुवाहरुको जत्था भन्दिन भन्दै यिनीहरुलाई नलखेटेसम्म आन्दोलन नटुङ्गिने बताए।
यसअघि माओवादी नेता रामरिझन यादवले आफूहरु १ करोड मधेशी जनताको मुक्तिका लागि बलिदान दिन तयार रहेको बताएका थिए। मधेशीलाई माओवादीबाहेक अरु कुनै दलले मुक्ति दिलाउन नसक्ने भनाइ पनि उनको थियो। यसअघि दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियारले माओवादीले लिएको नीतिअनुसारमात्र दलित मुक्ति सम्भव भएको बताएका थिए।
माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले परीक्षा र सम्पूर्ण व्यक्तिगत जीवन थाँती राखेर मुलुकका लागि लड्न सबैलाई भनेका छन्। नसिध्युन्जेल लडाइँ लडिरहने पनि उनले बताए।
यसअघि माओवादी नेता शालिकराम जमरकट्टेलले आफ्नो आन्दोलनले 'विदेशी दलाल' हरुलाई बढार्ने दाबी गरेका थिए। उनले भोलिदेखि सबैले आफ्नो काम बन्द गरेर सडकमा उत्रनुपर्ने पनि बताएका छन्।
यसअघि अर्का माओवादी नेता अग्नि सापकोटाले कठपुतली सरकारलाई नहटाइ अहिलेको समस्या समाधान नहुने दाबी गरेका थिए।
कार्यक्रमको बीचबीचमा गीत र नृत्य पनि प्रस्तुत गरिएका थिए। जसमध्ये माओवादी अध्यक्ष पुष्पकमल दाहालकी नातिनीले पनि गीत गाएकी थिइन्।
Saturday, May 1, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment