Saturday, May 1, 2010

टकराबमा सरकार-माओवादी

तिलक पाठक, काठमाडौं, वैशाख १८- प्रधानमन्त्री माधवकुमार नेपालले सरकार परिवर्तनका लागि स्थापित राजनीतिक र संवैधानिक प्रक्रिया अपनाउनुपर्ने बताउदै आन्दोलनरत प्रमुख विपक्षी एकीकृत माओवादीलाई चुनौती दिएका छन्। माओवादीले सडक आन्दोलन गरेर सरकारलाई दवाव दिइरहेको स्थितिमा प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्दै लोकतान्त्रिक मान्यता अपनाउन चुनौती दिएका हुन्।

राजनीतिक सहमतिमा संवैधानिक व्यवस्थालाई अनुशरण गरौ"। सहमतिबाट होइन धम्कीबाट, संवैधानिक प्रक्रियाबाट होइन सडकबाट नै आफ्ना सबै माग पूरा गराउने तरिका अवलम्बन गर्न थालियो भने लोकतन्त्र, संवैधानिक पद्दति र अभ्यासको के अर्थ रहन्छ?', प्रधानमन्त्री नेपालले माओवादीको गतिविधीप्रति लक्षित गर्दै प्रश्न गरे, 'आज सरकारको नेतृत्वका निम्ति प्रयोग गरिने हतियार भोलि आफू अनुकूलको संविधान निर्माणलगायत अनेकौ" माग पूरा गराउने सन्दर्भमा दोहोरिँदैन भन्ने के कसैले प्रत्याभूति गर्न सक्छ?'

आवेगमा आएर गलत नजिर स्थापित गरियो भने भोलिको लोकतान्त्रिक राजनीतिक प्रक्रियामा समेत नकारात्मक असर पर्ने प्रधानमन्त्रीको भनाई थियो।

यता माओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार ढलेर माओवादीको नेतृत्वमा सरकार बने मात्रै आम हडताल रोकिने बताएका छन्। एक हिसाबले भन्ने हो भन्ने हो भने सरकार विशेष गरी प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुवै पक्षले राजनीतिक सहमति र शक्ति वाँडफाँटको विषयलाई प्रतिष्ठाको विषय बनाएका छन् जसले गर्दा राजनीतिक शक्तिहरूबीचको टकरावलाई निम्त्याएको छ। यसले साढे चार वर्ष यताको शान्ति प्रक्रियाका उपलब्धिहरू गुम्ने खतरालाई बढाएको छ। साथै विगतमा राजनीतिक सहयात्रा गर्दै आएका राजनीतिक शक्तिहरूबीच टकरावको स्थिति आएमा मुलुक अन्त्यहीन द्धन्दमा फस्ने खतरा पनि उत्तिकै छ।

टकरावको स्थिति बढदै जाँदा दुवै पक्षले सहमतिको कुरालाई भने अस्वीकार गर्न सकेका छैनन्। माओवादी अध्यक्ष दाहालले खुल्लामञ्चको सभामा वार्तामार्फत समस्या समाधान गर्न चाहेको र त्यसको लागि आन्दोलनसँगै वार्ताको टेबलमा पनि बसेको बताए भने त्यसलगत्तैको प्रधानमन्त्रीको सम्बोधनमा पनि राजनीतिक शक्तिबीचको सहमति र एकतामा नै जोड दिइयो।

'राजनीतिक दलहरुका बीचमा हुने सहमतिलाई कार्यान्वयन गर्न म सदैव तयार छु', प्रधानमन्त्री नेपालले सम्बोधनमा भने। लोकतन्त्र, शान्ति र संविधानको सुनिश्चितताका लागि आवश्यक लचकता अपनाउन तयार रहेको कुरा बारम्बार प्रष्ट पार्दै आएको कुरालाई पनि प्रधानमन्त्रीले दोहोर्‍याए। यसरी दुवै पक्षले सहमतिको रटान लगाएपनि गन्त्ब्यमा पुग्ने बाटोलाई लिएर भने दुवै पक्ष अनुदार बन्दै गएको देखिन्छ।

राष्ट्रिय सहमतिको यात्रा कहाँनिरबाट अवरुद्ध भयो भन्ने अतितको यथार्थ नेपाली जनताको मनमा ताजै भएको बताउदै पधानमन्त्री नेपालले भने, 'सरकार बनाउने क्रममै एकीकृत नेकपा (माओवादी)ले निषेधको राजनीति सुरु गर्‍यो।' संविधान निर्माणको समग्र प्रक्रिया र शान्ति प्रक्रियामा गम्भीर व्यवधान उत्पन्न भएको पनि उनले बताए। प्रधानमन्त्रीले माओवादीप्रति लक्षित गर्दै भने, 'संविधानसभाको सबैभन्दा ठूलो दल नै आफ्नै नेतृत्वमा सरकार बन्दैन भने यी कुनै प्रक्रिया सम्पन्न हुन नदिने, बरु सडकबाटै 'सत्ता कब्जा' गर्ने र सडकबाटै 'नयाँ संविधान जारी गर्ने' धम्की दिन्छ भने संविधान निर्माण र शान्ति प्रक्रियामा बाधक को रहेछ भन्ने प्रस्ट हुँदैन र?'

प्रधानमन्त्रीको यो अभिव्यक्तिले पनि सरकार अनुदार बन्ने सम्भावनालाई नकार्न सकिँदैन। (nagariknews)

No comments:

Post a Comment