पर्सा, असार १४- हिन्दू युवा सङ्घका केन्द्रीय अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एकीकृत नेकपा (माओवादी)को जनवर्गीय सङ्गठन मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा भोजपुरा राज्यसमिति सदस्य जालिम मियाँलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, पर्साबाट गएको प्रहरी टोलीले मियालाई आइतबार राति पर्साको गाविस जगरनागपुरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सञ्जीव शार्मले जानकारी दिए।
तिवारीको हत्यामा संलग्नभएको आशंकामा वीरगन्जका विभिन्न स्थानबाट पहिले चारजनालाई पक्राउ गरिएकोमा उनीहरुबाट पाएको जानकरीको आधारमा मियाँलाई पक्राउ गरेको नायब उपरीक्षक शर्माले जानकारी दिए।
प्रहरीले आइतबार दिउँसो भारत सीतामढी निवासी निरजुकमार सिंह, रामगढवाका अरबिन्द पटेल तथा पर्सा अलौ गाविस-७ का नरायण साह र वीरगन्ज उपमहानगरपालिका-१३ का श्रीलाल गुप्तालाई पक्राउ गरेको थियो।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। तिवारीलाई शनिबार साँझ अज्ञात समूहले वीरगन्ज उपमहानगरपालिका-१३ अशोकबाटिकास्थित रामजानकी मन्दिरमा गोली हानी हत्या गरेको थियो।
यसैबीच हत्याको विरोधमा सङ्घले आह्वान गरेको वीरगन्ज बन्दका कारण जनजीवन प्रभावित भएको छ। बन्दकै कारण बजार र शिक्षणसंस्था पनि बन्द भएका छन्। सवारी आवागमनसमेत प्रभावित भएको छ।
सङ्घका कार्यकर्ताले हत्यारालाई कारबाही र मृतकलाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्। माग पूरा नभएसम्म बन्द जारी रहने सङ्घले जनाएको छ। रासस
Monday, June 28, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment