शीर्षस्थ नेताहरुले संविधानसभा भवनमा जम्मा भइ कुराकानी गरेका हुन्
संविधानसभाको म्याद बढाइएको झण्डै एक महिना पुग्न लाग्दा पहिलो पटक ठूला दलहरुले संविधान बनाउने विषयमा कुराकानी गरेका छन्।
भनिएको समयमा संविधान बनाउन नसकेपछि बढाइएको एक वर्षे म्याद घटदै जाँदा तीन ठूला दलका शीर्षस्थ नेताहरु संविधानसभा भवनमा जम्मा भइ कुराकानी गरेका हुन्।
संविधान सभाको म्याद बढाउँदा गरिएको तीन-बुँदे सहमतिको आफुखुशी व्याख्याले गर्दा बढेको सरकारबारेको अन्यौलसंगै संसदको बजेट अधिवेशन समेत अनिश्चित बनेपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले उक्त बैठक डाकेका थिए।
बैठकपछि उनी अलि आशावादी देखिएका थिए।
‘प्रतिबद्धता’
बैठक संविधान निर्माणमा केन्द्रीत भएर गंभीर छलफल गयो र जुन ठाउँमा यो प्रक्रिया रोकिएको थियो त्यहीं ठाउँबाट शुरु गर्ने प्रतिबद्धता व्यक्त गयो।
सुवास नेम्वांग, सभाध्यक्ष, संविधानसभा
उनले भने, “बैठक संविधान निर्माणमा केन्द्रीत भएर गंभीर छलफल गयो र जुन ठाउँमा यो प्रक्रिया रोकिएको थियो त्यहीं ठाउँबाट शुरु गर्ने प्रतिबद्धता व्यक्त गयो।“
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष झलनाथ खनाल र नेपाली काँग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले संविधान सभा भवनमा भएको भेलामा भाग लिएका थिए।
तीनै जना नेताहरु नयाँ प्रधानमन्त्रीका दावेदार पनि मानिएका छन्। उनीहरुमाथि संविधान भन्दा सरकारमा ध्यान दिएको आरोप छ।
संविधान सभाका अध्यक्ष नेम्वाङ यो कुरासंग अपरिचित छैनन्। त्यसैले उनले सतर्कताका लागि पनि जोड दिए।
उनले भने, “पहिले कुनै कुरामा भन्या जस्तो भएन भनेर यो कुरामा पनि त्यस्तै हुन्छ भन्ने नठानौं तर सबैजनाले निरन्तर सतर्क भएर दवाब दिइरहनु जरुरी छ।“
आशंका
शीर्षस्थ नेताहरुले आफ्नो कुराकानी आउँदो आइतबार फेरि अगाडि बढाउने भएका छन्।
तर सत्ताको तानातानमा अल्झेका नेताहरुको कुराकानी संविधान बनाउने कुरामा अगाडि बढ्ने संकेत देखिएको छैन।
सत्ता केन्द्रीत राजनीतिमा अल्झेका ठूला दलका नेताहरुबीच संविधानबारे सहमति जुटाउनु अझैपनि भ्यागुताको धार्नी पु-याउनु जस्तै हुने धेरैको आशंका छ।
Thursday, June 24, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment