Thursday, June 24, 2010

किसिम किसिमका युवा

युवा पुस्ताका रुचि, स्वभाव, लगाव, विशेषता, समस्या, चुनौतीलगायत विभिन्न पक्षबारे त्रिभुवन विश्वविद्यालयका रिडर डा. अरुण गुप्तो :
ग्रामीण र सहरी दुवैथरी युवामा समस्या छ । काठमाडौं या देशका मुख्य सहरबाहिरबाट त्रिभुवन विश्वविद्यालयमा पढ्न आउने युवा पढाइमा भन्दा राजनीतिमा बढी सक्रिय छन् । । उनीहरूलाई क्याम्पसको राजनीतिक वातावरणले बिगार्छ । उनीहरूका लागि पढाइ, खेलकुद, कला, साहित्यभन्दा राजनीति नै ठूलो हुन्छ । त्रिभुवन विश्वविद्यालयमा आउने विद्यार्थीमध्ये ४० प्रतिशत मात्र पढाइप्रति संवेदनशील छन् भन्ने लाग्छ, मलाई । अर्काेथरी छन्, मध्यमवर्गीय सहरिय युवा । उनीहरू अत्यन्त बौद्धिक छन्, पैसा तिरेर पढ्छन् । जीवनप्रति सकारात्मक छन्, तर राजनीतिमा चासो नै दिँदैनन्, बरु वितृष्णा देखाउँछन् । देशमा के भइरहेको छ, वास्तै गर्दैनन् । देशमा बम पड्कियोस् या 'कु' होस्, उनीहरूलाई चिन्ता या मतलव हुँदैन । त्यसैले, ग्रामीण र सहरी युवामा समस्या छ जस्तो लाग्छ । एउटा अत्यन्त राजनीतिउन्मुख छ, अर्काे भने एकदमै राजनीतिविमुख ।

विश्वविद्यालय भनेको ज्ञान लिने ठाउँ हो । बुझ्ने र सिक्ने ठाँउ हो । तर, अहिलेको युवा भने यस ठाउँलाई नै सबै कुरा पूर्ति गर्ने ठाउँका रूपमा लिन्छन् । अघि नै भनेँ- विश्वविद्यालय सिक्ने ठाउँ हो । विश्वविद्यालयमा सिकेका कुरा प्रयोग गरेर पछि अघि बढ्ने हो । विश्वविद्यालय तालिमकेन्द्र मात्र हो । एकथरी युवाले विश्वविद्यालयलाई राजनीतिक 'स्पेस'का रूपमा प्रयोग गरिरहेका छन् । यहाँ राजनीति अत्यधिक हावी छ ।

अनि अहिलेका युवामा धेरै जानेको छु भन्ने भ्रम पनि छ । एकजना विद्यार्थीले मलाई पाठ्यक्रमबारे छलफल गर्न बोलाए । उनी एमए पहिलो वर्षमा अध्ययनरत थिए । त्यसखाले छलफल गर्न न उनीसँग दक्षता थियो, न अनुभव । तर, उनी पाठ्यक्रमको सान्दर्भिकताबारे छलफल चलाइरहेका थिए, मानौँ उनी यसका विज्ञ हुन् । एकथरी विद्यार्थी छन् जो एकैचोटि प्रगति गरौँ, भन्ने चाहन्छन् । युवामा धैर्य हुनुपर्‍यो । ज्ञान भएन भने संस्कृति खोक्रो हुन्छ । यी त भयो गाउँबाट पढ्न आउने विद्यार्थीका कुरा ।

अब कुरा गरौँ, सहरिय विद्यार्थीका । उनीहरू अत्यन्त बौद्धिक छन् । उनीहरूसँग धैर्य पनि छ । उनीहरूलाई मस्ती छ । 'कुल' छन् उनीहरू । जति गाली गरे पनि रिसाउँदैनन् । यो युवा मध्यमवर्गीय युवा हो । उनीहरू पैसा तिरेर प्राइभेट कलेजमा पढिरहेका हुन्छन् । तर, यो युवामा पनि खराबी छ । यो समूहलाई देशबारे कुनै चासो छैन । उनीहरू आफ्नै संसारमा मस्त छन् । युवा समूहका अधिकांश विदेश गइरहेका हुन्छन् ।

तर, म युवालाई दोष दिन चाहन्न । यसमा परिवार र राजनीतिक संस्था दोषी छन् । घरपरिवार प्राइभेट स्पेस हो भने राजनीतिक संस्था पब्लिक स्पेस हो । हाम्रो प्राइभेट स्पेसबाट पब्लिक स्पेसमा जाने जुन प्रक्रिया छ, त्यसैमा खराबी देख्छु, म ।

नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयमा पढ्ने विद्यार्थी कला, संस्कृति र साहित्यमा रचि नदेखाएर राजनीतिमा मात्र रुचि देखाउँछन् । उनीहरू कला, संस्कृति र दर्शनका कुरा गर्दैनन्, शुल्क कति र पाठ्यक्रम कस्तो हुनुपर्ने मात्रै कुरा गर्छन् ।

नेपालका सबै विश्वविद्यालयका पठनपाठन सामग्रीको स्तर अत्यन्त राम्रो छ । कैयौँ विदेशी विश्वविद्यालयका प्रोफेसरले हाम्रा विश्वविद्यालयका पुस्तक लिएर जान्छन् । युवा पुस्ताको ज्ञानको संगत पनि राम्रो छ, सामान्य चेतना पनि राम्रो छ । उनीहरूमा राजनीतिक चेतना पनि छ । युवा पुस्ता सीमित र 'क्लोज्ड' छैन । उनीहरूलाई अमेरिकी अश्वेत राष्ट्रपति बाराक ओबामा के गर्दै छन् देखि किर्गिस्तानमा के भइरहेको छ भन्ने सबै ज्ञान छ ।

एलेन ब्लुमले 'क्लोजिङ अफ द अमेरिकन माइन्ड'मा अमेरिकी युवाको विश्वको बारेमा सामान्य जानकारी वा ज्ञान निकै कम भएको वा शून्य भएको लेखेका छन् । अमेरिकी युवालाई विश्वको बारेमा थाहा छैन । नेपालको बारेमा पनि थाहा छैन । तर, हाम्रा नेपाली युवालाई विश्वको बारेमा धेरै थाहा छ । यो उनीहरूको सकारात्मक पक्ष हो ।

सहरिया युवाको मैले देखेको अर्काे राम्रो पक्ष भनेको के हो भने अहिलेको राजनीतिक अवस्था राम्रो नभए पनि उनीहरूको मनस्थिति नकारात्मक छैन । उनीहरू जीवनप्रति, भविष्यप्रति त्यति निराशावादी छैनन् । काठमाडौँ, विराटनगर, पोखराजस्ता सहरका युवाले जीवनलाई उत्सवका रूपमा लिएका छन् । जीवनप्रति आशावादी छन्, उनीहरू ।

हाम्रा युवाका नकारात्मक पक्ष भनेको आफ्नोे देशलाई एउटा मन्चका रूपमा प्रयोग गर्नु हो । यहाँ आइए, दस जोड दुई वा बिए पढेर अमेरिका, अस्ट्रेलिया, क्यानडा र युरोप जाने प्रवृत्ति छ । अर्थात् नेपाल त अन्यत्र जानका लागि तयारी गर्ने स्थल बनेको छ । योे देशका लागि अत्यन्त डरलाग्दो स्थिति हो ।

विश्वविद्यालयबाहिरका युवामा पनि अत्यन्त शक्ति र ऊर्जा छ, परिस्थितिसँग लडेर बाँच्ने हिम्मत छ । उनीहरू जापान, कोरिया, मलेसियाजस्ता देशमा गएर मिहिनेत र संघर्ष गरेर प्रगति गरिरहेका छन् । हामी केबल पढे-लेखेका युवा विदेश जाँदा 'ब्रेन ड्रेन' भयो भन्छौँ । यो पनि 'ब्रेन डे्रन' हो । यो कामदार बाहिर गएको होइन । देशको उन्नति, प्रगतिबारे सोच्ने शक्ति बाहिर गएको हो । एउटा संघर्षशील बुद्धिजीवी विदेश पलायन भएको हो ।

पढेर अमेरिका, युरोप जानेहरू एउटा अवसरबाट अर्काे अवसर प्राप्तिका लागि गइरहेका छन् । तर, मलेसिया, जापानमा कामदार भएर जानेहरू दुःख र संघर्ष गरेर जीवन सुधार्न लागिपरेका छन् । मलेसिया, जापान जाने कामदार मजदुर मात्रै होइनन्, बुद्धिजीवी पनि हुन् ।



प्रेममा नयाँ पुस्ता

प्रेममा सहरिया युवा पुस्ता अत्यन्त खुला छ । भ्यालेन्टाइन डे मनाउँछ । यसलाई नराम्रो मान्नुहँुदैन । सांस्कृतिक चाडपर्वले युवालाई कहिलेकाहीँ अनुशासनबाहिर गएर रमाइलो गर्ने छुट दिएका छन् । तर, यो छुटको दुरुपयोग भने गर्नुहुँदैन । चाडपर्वले मानिसलाई एकनासे जीवनबाट कहिलेकाहीँ स्वतन्त्रता दिन्छ । तर, त्यसैमा रुमलिनुहुँदैन । जीवनमा रमाइलो र मस्ती मात्र सबैथोक होइन । तर, प्रेममा खुला हुनु नराम्रो कुरा होइन । बस्, विकृत हुनुहुँदैन ।



नेपाली र विदेशी युवा

हाम्रा युवामा व्यावसायिकताको कमी छ । भारत, चीनका युवामा व्यावसायिकता अत्यन्त बढी छ । नेपालका सहरी युवा भारतको बेंंगलोर जाँदा व्यावसायिक बन्छन्, तर नेपाल आउँदा त्यही व्यावसायिकता उनीहरूमा हुँदैन । नेपालमा अवसरको कमी भएका कारण पनि यस्तो भएको हो कि जस्तो लाग्छ । सहरी क्षेत्रका युवा अन्य देशका युवाभन्दा बढी खुला छन् । उनीहरूमा स्वार्थीपना छैन । उनीहरूको मित्रता दीर्घकालीन हुन्छ । मेरी छोरीका अहिलेसम्म स्कुल पढ्दादेखिकै मिल्ने साथी छन् । अन्य मुलुकमा चाहिँ बढी व्यावसायिकता र प्रतिस्पर्धा भएर होला, युवामा गहिरो मित्रता हुँदैन ।

राजनीतिक स्थायित्व भएका देशका युवामा दिशा निश्चित हुन्छ । उनीहरू यो पढेपछि यो बनिन्छ भनेर पढ्छन् । तर, राजनीतिक अस्थिरता र अवसरको कमीका कारण हाम्रा युवाको निश्चित दिशा छैन । के पढ्ने, के गर्ने भन्ने दिशा छैन । अन्य देशमा विश्वविद्यालयलाई 'डम्पिङ साइट' का रूपमा लिइँदैन । विश्वविद्यालयको आफ्नै आकर्षण छ, सम्मान छ । त्यहाँ पढ्ने विद्यार्थीको छुट्टै सान हुन्छ । कुनै विद्यार्थीले टोकियो विश्वविद्यालयमा नाम निकाल्यो भने परिवार र टोलकै सान हुन्छ । हाम्रोमा त्यस्तो संस्कृति नै छैन । हाम्रोमा त 'एक/दुई वर्ष पढौँ, अनि त्यसपछि हेरौँला' भन्ने सोच छ, विद्यार्थीमा । विश्वविद्यालयमा सजिलै पहँुच भयो । तर, मैले सबै विद्यार्थीको विश्वविद्यालयमा पहुँच हुनुहँुदैन भन्न खोजेको कदापि होइन । सबैले पढ्न पाउनुपर्छ । तर, विश्वविद्यालय पढ्नका लागि तयारी गर्ने या कुर्ने संस्कृति खोइ त ? विश्वविद्यालय भनेको एउटा कोठाबाट अर्काे कोठामा जाने जस्तो सजिलो भएको छ । त्यसैले गुणस्तर खस्केको छ ।



जीवनशैली

गाउँको भन्दा सहरिय युवाको जीवनशैली फरक छ । सुविधाजनक छ । हाम्रो पाला अलि बढी संघर्ष थियो । अहिले स्थिति फरक छ । देश गरिब भए पनि हाम्रो युवामा गरिबी देखिँदैन । हुन पनि आर्थिक समस्या भएका युवा मलेसिया, कोरिया गइहाल्छन् ।

सहरका मध्यमवर्गीय युवाको जीवनशैली सुविधाजनक छ । तराईका युवामा पढाइप्रति लगाव देखिँदैन । पहाडी क्ष्ाेत्रबाट आएका नै उच्च शिक्षा लिनेमा बढी छन् । त्रिभुवन विश्वविद्यालयमा ९० प्रतिशत विद्यार्थी पहाडी क्षेत्रबाट आएका छन् । तराईमा राम्रो कलेज वा विश्वविद्यालय नै छैनन् । तराईको अहिलेको समस्या भनेकै पढाइप्रति विद्यार्थीको आकर्षण नहुनु हो । मेरो गृहनगर कपिलवस्तुका युवा पनि पढाइमा आकषिर्त छैनन् । एकपटक म आमासँग दसैँको वेला घर गएको थिएँ । ट्याक्सीमा एकजना युवाले हिन्दी आइटम गीत 'काँटा लगा'को दुर्गाको स्तुति बजाइरहेको थियो । उसले यस्ता पाइरेटेड क्यासेट भारतबाट ल्याएर यहाँ बेच्दोरहेछ । उसका अनुसार, यसमा पैसा पनि निकै हुन्छ रे ! बाहिर हेर्दा उसको जीवनशैली ठीकठाक छ । तर, यो 'एनी हाउ, पैसा कमाऊ' संस्कृतिले युवालाई कमजोर बनाउँदै छ । कैयौँ युवाले पढ्ने समयमा अश्लील भिडियो देखाएर पैसा कमाएको मैले देखेको छु । उनीहरूको सम्पूर्ण ऊर्जा यसैमा लागेको छ । यसमा न त तराईका नेताले केही बोल्छन्, न त परिवारले नै केही गर्छ । पढेर केही हँुदैन भन्ने सोचले गाँजिसकेको छ ।



युवाका चुनौती र अवसर

राजनीतिक अस्थिरता युवाका लागि चुनौती हो । यसपछि शिक्षा पनि चुनौतीका रूपमा रहेको छ । नेपाललाई शिक्षाको हिसाबमा एउटा तयारी गर्ने थलोका रूपमा हेरिएको छ, आज-भोलि । यो एउटा युवाका अगाडि ठूलो चुनौती हो । नेपालमा बस्नु वा पढ्नु भनेको विदेश जानका लागि तयार गर्ने ठाउँका रूपमा लिइनु अत्यन्त भयावह स्थिति हो ।

हाम्रो युवा पुस्ताको नेतृत्व क्ष्ामता छ । यो अत्यन्त सकारात्मक कुरा हो । हाम्रो युवा नेतृत्वले विवेकपूर्ण ढंगले विचार गरेर अघि बढ्यो भने हाम्राअगाडि थुप्र्रै अवसर छन् । तर, त्यही युवा नेतृत्व राजनीतिक पार्टीका दास भए भने युवाका अवसर समाप्त भएर जान्छन् । राजनीतिक पार्टीको पिछलग्गु भएर नहिँडेमा हाम्रा युवाका निम्ति धेरै अवसर छन् । राजनीति पार्टीलाई युवाले डोर्‍याउन सक्नुपर्‍यो । युवा पुस्ता जीवनप्रति सकारात्मक छ ।



प्रकृतिबाट टाढिँदै गएका युवा

अहिले धेरै सहरीकरण भइसक्यो । सबै कुरा डिजिटलतिर गइसक्यो । यसले सहरी युवामा प्रकृति र गाउँबारे अत्यन्त कम ज्ञान छ । एकपटक एकजना सहरी युवा मसँग मेरो गाउँ घुम्न गएका थिए । उसले प्रेममा भुलिरहेको कुखुराको जोडीलाई ढुंगाले हिर्कायो । 'किन हिर्काएको ?' भनेर मैले सोधेँ । उसले 'एक-अर्कालाई टोकिरहेका कुखुरालाई भगाउन' भन्ने उत्तर दियो । हाम्रा सहरी युवापुस्ता प्रकृतिबाट कति टाढा छन् भन्ने कुरा यस घटनाबाट बुझ्न सकिन्छ ।

अहिले मलाई खड्किएको अर्काे कुरा भनेको हाम्रो पालामा कथा भन्ने चलन थियो । हजुरबुबा/हजुरआमाले केटाकेटीलाई कथा सुनाउँथे । तर, अहिले त्यो लोक परिवेश छैन । एउटा अमेरिकी आदिवासी भनाइ छ- 'हाम्रो कथा सुनाउने संस्कृति लोप भयो भने हामीले सबै कुरा गुमाउँछाँै ।' अहिले हामीकहाँ त्यही भएको छ । हाम्रो संस्कृति र सभ्यताका छनक हुन्छन्, कथामा ।

हाम्रा युवा अहिले ग्रामीण परिवेश र संस्कृतिबाट अत्यन्त टाढा भएका छन् । मलाई यो कुरा साह्रै खड्किएको छ । सहरी युवासँग इन्टरनेट छ, विश्वसँगको पहँुच छ । तर, गाउँमा अहिले पनि त्यो सुविधा छैन ।

युवालाई राज्यले ध्यान दिएन भने देश बर्बादीको बाटोतिर जान्छ । राज्यले युवाका लागि अवसर सिर्जना गर्नुपर्‍यो । शिक्षामा लगानी हुनुपर्‍यो । त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी बस्ने कुर्सीको स्तर हेर्दा छक्क भइन्छ । यस्तो हुनु भएन । विश्वविद्यालयको आर्थिक अवस्थामा सुधार गरिनुपर्छ । अन्य विश्वविद्यालयमा वातावरण राम्रो छ । कम्प्युटर, इन्टरनेट, क्याफ्टेरिया आदि सबै स्तरीय हुन्छन् ।

यति हुदाहुदै म नेपाली युवा पुस्ताका सम्बन्धमा विल्कुल आशावादी छु । (nayapatrika)

No comments:

Post a Comment