९ असार, काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक सहमति भए आफू जुनसुकै बेला राजिनामा दिन तयार रहेको बताउनुभयो ।
राजधानीमा बुधबार आयोजित बालबालिकाविरूद्ध हुने हिंसा अन्त्यका लागि सार्क राष्ट्रका मन्त्रीहरुको तेस्रो बैठकको उद्घाटनपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले जसको नाममा सहमति हुन्छ उसैले राष्ट्रिय संयुक्त सरकाको नेतृत्व गर्ने बताउनुभयो ।
आगामी सरकारको नेतृत्व आफैले गर्नुपर्छ भन्ने माओवादी अडान उचित नभएको भन्दै प्रधानमन्त्री नेपालले अहिले सरकारको नेतृत्व भन्दा पनि शान्ति प्रक्रिया र संविधान निर्माण महत्वपूर्ण कार्य भएको बताउनुभयो ।
माओवादीले सरकारको नेतृत्व आफैले गर्नु पाउनुपर्ने भनेर गरेको ढिपी मेरो गोरुको बाह्रै टक्क भन्ने उखान जस्तै भएको उहाँको टिप्पणी थियो ।
‘बालहिंसा सार्क क्षेत्रकै चूनौती’
यसअघि सार्क राष्ट्रका मन्त्रीहरुको तेस्रो बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले बाल हिंसा र बेचबिखन सार्क क्षेत्रकै लागि चूनौती बनेको बताउनु भएको छ । नेपालमा सडक बालबालिकाको बढ्दो संख्या र बालबालिको बेचबिखन नरोकिँदा समस्या उत्पन्न भएको उहाँको भनाई छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्री नेपालले पढ्ने उमेरका बालबालिका जोखिमपूर्ण काममा लाग्न बाध्य हुनुका साथै हिंसाको सिकार हुने गरेको भन्दै यसलाई रोक्न सबै राष्ट्र गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
सन् २०१० लाई लैंङगिक हिंसाविरुद्धको वर्षको रुपमा मनाइँदै गरेकोले यसै वर्ष भित्र बालबालिका माथिको हिंसा पनि अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सार्क मन्त्रीस्तरीय बैठकले महिला तथा बालबालिका सम्बन्धि हिंसा नियन्त्रण गर्न नेपालमा सार्कस्तरीय सचिबालय स्थापना गर्ने पनि निर्णय गरेको छ ।
होटल सोल्टीमा सुरु मन्त्रीस्तरीय बैठकमा नेपाललगायत, भारत, श्रीलंका, मालदिभ्स, पाकिस्तान, अफगानिस्तान र भुटानका मन्त्री तथा उच्च अधिकारीहरुको सहभागिता छ । बैठकमा नेपालबाट महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सर्वदेव ओझाले नेतृत्व गर्नुभएको छ । (onlinekhabar)
Wednesday, June 23, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment