Monday, June 21, 2010

प्रधानमन्त्रीको सम्पत्ति कति ?

२७ लाखको सेयर लगानी

(नागरिक) काठमाडौं, असार ७- प्रधानमन्त्री माधवकुमार नेपालले आइतबार आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेका छन्। विवरणअनुसार प्रधानमन्त्रीसँग विभिन्न बैंक तथा वित्तिय संस्थाको २७ लाख रुपैयाँको सेयर रहेको छ।
गृहजिल्ला रौतहटको गौर नगरपालिका वडा नं ९ मा घरसहित दुई कित्ताको १७ धुर जग्गा, श्रीमती गायत्रीको नाममा चन्द्रनिगाहपुर वडा नं १ मा करिब एक कठ्ठा ११ धुर जग्गा र काठमाडौं महानगरपालिका वडा नं ३५ कोटेश्वरमा घरसहित एक रोपनी चार आना तीन पैसा र तीन दामको जग्गा रहेको छ।

प्रधानमन्त्रीकी श्रीमतीको आयस्रोतका रुपमा सात तोला सुनको गरगहना र ५०० ग्राम चाँदी पनि रहेको छ। त्यस्तै प्रधानमन्त्रीको आफ्नै आयस्रोतका रुपमा राष्ट्रिय वाणिज्य बैंक गौर, नेपाल बैंक लिमिटेड कुपन्डोल, स्टयान्डर्न्ड चार्टर्ड बैंक नयाँ बानेश्वर र एभरेस्ट बैंक लिमिटेड सिंहदरबारमा कुल रु १२ लाख ५३ हजार १ सय १८ रुपैयाँ बचत रहेको छ।

प्रधानमन्त्रीको नवयुग सहकारीमा आफ्नै आयस्रोतबाट रु १० हजारको सेयर रहेको छ भने श्रीमतीको नाममा मनमोहन मेमोरियल अस्पताल, जनता बैंक (पहिले पिपुल्स बैंक),रावा बैंक सहकारी कोष र रावा बैंक केन्द्रीय कार्यालयमा गरी कुल रु २७ लाख दुई हजार ७२५ को सेयर रहेको छ।

श्रीमती नेपालले आफ्नो नोकरी अवधिमा तिर्नुपर्ने गरी कर्मचारी सुविधाबापत लिएको रकम भने रु नौ लाख १४ हजार ८७६ रहेको विवरणमा जनाइएको छ।

उहाँका अन्य सम्पत्तिमा टेलिभिजन, रेफ्रिजेरेटर, कम्प्युटर, क्यामरा, फर्निचर आदि छन्।

No comments:

Post a Comment