किरण पुन, काठमाडौं, असार १४- एकीकृत माओवादी पोलिटब्युरो सदस्य एवं सभासद् अग्नि सापकोटाको अमेरिका भ्रमण रोकिनुको कारण उनीविरूद्व २०६२ सालको एउटा हत्या घटना भएको खुलेको छ।
उक्त घटनापछि परिवारजनले दिन लागेको जाहेरी पनि माओवादीको दबाबमा काभ्रे प्रहरीले दर्ता नगरेको मानवअधिकारवादीहरूको आरोप छ।
अमेरिकी अधिकारवादी संस्था ह्युमन राइटस् वाचको विरोधका कारण अमेरिकी राजदूत स्कट एच डिलिसीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरी भिसा दिन असमर्थ भएको जानकारी दिएका थिए।
'सापकोटाको भिसा आइसकेको थियो। तर ह्युमन राइट वाचले -न्यूयोर्क) एअरपोर्टमै समस्या खडा गर्ने स्थिति आयो भनेर भनेर राजदूत डिलिसीले फोन गर्नुभयो,' पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा शनिबार अध्यक्ष दाहालले भनेका थिए, 'उहाँलाई कहीँ पनि मुद्दा छैन। यो झुटो आरोप हो।'
दाहालका अनुसार, राजदूत डिलिसीले पहिलो दिन अन्य नेतालाई जान दिने र शुक्रबार सापकोटालाई पठाउने भनेपछि तीन माओवादी सभासद् अन्य दलका नेतासँगै प्रस्थान गरेका थिए। 'भोलिपल्टै राजदूतले मिलाउन सकिएन भनेर 'सरी' भन्नुभयो,' उनले भने।
सापकोटालाई ह्युमन राइट्स वाच नामक अमेरिकी संस्थाले विरोध गरेको कारण ४८ वर्षीय अर्जुनबहादुर लामालाई २०६२ वैशाख ६ गते माओवादीले काभ्रे, दाप्चास्थित घरबाट अपहरण गरी हत्या गरेको घटना थियो। माओवादीले लामा सुरक्षाकर्मीसँग भएको भिडन्तमा मारिएको दाबी गर्दै आएको छ।
राजावादी संगठन राष्ट्रिय एकता परिषद्मा संलग्न लामालाई अनुसन्धानबाट असारको अन्ततिर बुढाखानी गाविसमा माओवादीले हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको मावनअधिकारवादी संस्था एड्भोकेसी फोरमकी प्रमुख मन्दिरा शर्माले बताएकी छन्।
माओवादीले सापकोटाको विषयमा 'केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अस्वस्थ विरोध' रहेको भन्दै आपत्ति जनाएको छ।
अमेरिकी दूतावासले सापकोटामाथि मानवअधिकार उल्लंघनको गम्भीर अभियोग लागेकाले भिसा नदिएको जनाए पनि कुन घटना भन्ने खुलेको थिएन। अभियोगमाथि छानबिन गरी टुंगो नलागेसम्म अमेरिका भ्रमणको अनुमति दिनु उपयुक्त नहुने डिलिसीले शुक्रबार प्रेस वक्तव्यमार्फत जनाएका थिए। 'द्वन्द्वकालमा मानवअधिकार उल्लंघनका गम्भीर अभियोग लागेकाले उनको आवेदन स्वीकृत हुन सकेन,' वक्तव्यमा भनिएको थियो।
सापकोटालाई जान नदिएपछि माओवादीले अन्य दलका नेतासँगै बिहीबार अमेरिका उडेका पार्टी सचिव सीपी गजुरेल, स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र पोलिटब्युरो सदस्य पम्फा भुसाललाई फिर्ता बोलाइसकेको छ।
'माओवादीले अर्जुन लामालाई सुरक्षा फौजसितको भिडन्तमा मारिएको भने पनि अनुसन्धानले यातना दिएरै मारेको देखाएको छ,' एड्भोकेसी फोरमकी निर्देशक शर्माले नागरिकसित भनिन्, 'सापकोटासहितका नेतालाई लामा हत्याको आरोप छ।'
सापकोटाले पहिलोपटक विदेश भ्रमण गर्न विदेश भ्रमण गर्न नपाएका भने होइनन्। गत पुसमा पनि उनलाई अस्ट्रेलिया जान रोकिएको थियो। सापकोटालाई भिसा नदिइएपछि सभामुख सुवासचन्द्र नेम्वाङले संसदीय टोलीकै भ्रमण रद्द गरेका थिए।
अमेरिका उडेका माओवादी नेताहरू गजुरेल, रायमाझी र भुसाल 'बोस्टन सम्झौता र राज्य निर्माणसम्बन्धी' कार्यक्रममा भाग नलिई फर्कंदै छन्।
'संविधानसभा चुनावअघि एड्भोकेसी फोरम अदालतमा मुद्दा गर्न गए पनि कतै दर्ता भएको छैन,' पारिवारिक स्रोतले नागरिकसित भन्यो, 'आरोपका कुरा गर्ने हो भने सबभन्दा बढी माओवादी अध्यक्षलाई छ।'
काभ्रे क्षेत्रको प्रमुखका हैसियतले सापकोटाकै निर्देशनमा लामाको हत्या भएको अधिकारवादी संस्थाको आरोप छ। फोरमकी निर्देशक शर्माका अनुसार पीडित परिवार जाहेरी दिन जाँदा माओवादीको दबाबमा काभ्रे प्रहरीले दर्ता गरेको थिएन। त्यसपछि फोरमको सहयोगमा लामापत्नीले २०६४ असार ३२ गते सर्वोच्च अदालतमा रिट हालेकी थिइन्।
सर्वोच्चले २०६४ फागुन २७ मा काभे्र जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई सापकोटासहित काभ्रेका स्थानीय नेता सूर्यमान दोङ, यादव पौडेल, कर्णखर गौतम, नोर्बू मोक्तान र भोला अर्याललाई हत्या जोहरी दर्ता गर्न आदेश दिएको थियो। त्यसपछि मात्र २०६५ साउन २७ मा काभ्रे प्रहरीले दर्ता भएको थियो। यो मुद्दालाई एड्भोकेसी र ह्युमन राइट वाचले अनुगमन गरिरहेको शर्माले बताइन्।
मानवअधिकारवादी संस्थाको विरोधलाई माओवादी अध्यक्ष दाहालले 'शान्ति र संविधान भाँड्ने तत्वको माओवादीविरुद्ध नियोजित षड्यन्त्र' भनेका छन्। (nagariknews)
Sunday, June 27, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment