Sunday, June 27, 2010

'मधेसवादी दलहरु पुनः एउटै मोर्चामा'

श्यामसुन्दर शशि जनकपुर , अषाढ १४ - आपूर्तिमन्त्री राजेन्द्र महतोले संविधान र संघीयताको मुद्दालाई यथाशीघ्र संवोधन गराउन मधेसवादी दलहरुबीच पुनः मोर्चावन्दी को गृहकार्य भइरहेको जानकारी दिएका छन् । सदभावना पार्टीका अध्यक्ष समेत रहेका उनले तीन ठूला दल सत्ताको भागवण्डामा लागेको कारण संविधान निर्माण र शान्तिप्रकृया ओझेलमा परेको दावी गरे ।
जनकपुरमा सोमवार आयोजित पत्रकार सम्मेलनलाई संवोधन गर्दै उनले यसका लागि मधेसवादीदलहरु बीच गृहकार्य पनि सुरु भई सकेको जानकारी दिए । 'संविधान र संघीयता विना मधेस अधिकार सम्पन्न हुनै सक्दैन । संघीयताको ग्यारेन्टीको लागि संविधान आवश्यक छ । यसैले हामी मोर्चा मार्फत तीन ठूला दललाई दवाव दिने निर्णय गर्दै छौं ।' उनले भने, 'तीन दलबीच जेठ १४गते १२ वजे राति भएको सम्झौता पनि अव बेकार सावित हुदै छ । संविधान निर्माणको लागि थपिएको १२महिनामध्ये एक महिना पनि बितिसक्यो । तीन दल असफल भएको कारण मधेसवादी दलहरुले निर्णायक भूमिका खेल्ने अवसर आएको छ ।'
संचारकर्मीहरुको एक जिज्ञासामा उनले मधेसवादी दलहरुको भूमिका प्रधानमन्त्री वा मन्त्री बन्न नभई संविधान र संघीयताको लागि हुने बताए । उनले थपे, 'तर कुनै मधेसी नेतालाई सरकारको नेतृत्व गर्ने जिम्मा दिईन्छ भन्ने यसलाई अस्वीकार गर्न सकिन्न ।'
तीन ठूला दलका नेताहरु शासक वर्गसंग सम्बद्ध रहेको उल्लेख गर्दै उनले सुशील कोईराला, झलनाथ खनाल तथा पुष्पकमल दाहाल आम नागरिकमा समावेशी र समानुपातिक अधिकार हस्तान्तरण होस भन्ने चाहेका छैनन् । संघीयता र संविधान ओझेलमा पर्नुको कारण पनि यही भएको उनले बिष्लेषण गरे । मुलुकमा भ्रष्टाचार मौलाएको स्विकार गर्दै उनले मधेसवादी दलहरु भित्र पनि भ्रष्टाचारको रोग पलाएको बताए । उनको कथन थियो, 'जवसम्म शासन,प्रशासनमा व्याप्त जडसूत्रवादको अन्त्य हुदैन यी रोगहरु निर्मूल हुनै सक्दैन ।'

मधेसका जिल्लाहरुमा पछिल्लो पटक बढेको आपराधिक घटनाहरुप्रति चिन्ता व्यक्त गर्दै उनले यसबाट सरकारको काम कार्यवाहीप्रति जनतामा नकारात्मक संदेश गएको बताए । (ekantipur)

No comments:

Post a Comment