प्रेम बास्तोला (नयाँ पत्रिका) सुनसरी, ११ असार : कुवेतको फाहाहिल सहरमा २५ नेपाली महिला बन्धक बनाइएका छन् । यौन व्यवसाय गर्न नमानेको भन्दै उनीहरूलाई दुई नेपाली महिलाले बन्धक बनाएका हुन् । कुवेतमा कुमारी नामले चिनिएकी काठमाडौं गोकर्ण घर भएकी उत्तरकुमारी सुनुवार र झापा घर भई धनकुटा लेगुवा-७ को पासपोर्ट भएकी शोभिता पुरीले नेपाली महिलालाई बन्धक बनाएको भागेर नेपाल आएकी मोरङ बेलबारीकी पीडित महिला उमा गुरुङले जानकारी दिइन् । दुई साताअघि फर्केकी गुरुङका अनुसार उनीहरूले फाहाहिलमा खोलेको म्यानपावर कार्यालयमा महिनौंदेखि नेपाली महिलालाई बन्धक बनाएर राखिएको छ ।
अलनाका म्यानपावर एजेन्सी खोलेर जागिरको प्रलोभनमा कुवेत पुर्याइएका नेपाली महिलालाई सुनुवार र पुरीले जबर्जस्ती यौन व्यवसायमा संलग्न गराउने गरेको पनि पीडित महिला गुरुङले बताइन् । गुरुङका अनुसार उनीहरूले कुवेतीसँग मिलेर नेपाली चेलीलाई कुवेत र साउदीमा यौनकर्मीका रूपमा बिक्री गर्दै आएका छन् । उत्तरकुमारीलाई काठमाडौंबाट उनका बाबु मानबहादुरले सहयोग गरेको पनि गुरुङले जानकारी दिइन् ।
दुवैजनाले राम्रो कमिसन दिएर नेपालबाट चेली पठाउन एजेन्ट खटाएका छन् । राम्रो जागिरको प्रलोभनमा पारेर नेपाली चेलीलाई दिल्ली र मुम्बैको बाटो हुँदै एजेन्टले कुवेत पुर्याउने गरेको गुरुङको भनाइ छ । उनका अनुसार कुवेत पुर्याइएपछि केही दिन म्यानपावरमा राखेर यौन व्यवसायका लागि चेलीहरूलाई बिक्री गरिन्छ ।
मोरङको लक्ष्मीमार्गनिवासी स्थानीय एजेन्ट उषा खवासले प्रलोभनमा पारेर भारतको दिल्लीमा रहेका भीम नामका एजेन्टमार्फत आफूलाई कुवेत पुर्याइएको पीडित गुरुङले बताइन् । 'अनैतिक काममा लगाउन खोजेपछि मैले अस्वीकार गरेँ,' आफूलाई बन्धक बनाइएकोबारे उनले भनिन्, 'अस्वीकार गरेपछि घरपरिवारसँग पनि सम्पर्कविहीन बनाएर बन्धक बनाए ।'
सुरुमा केही महिना घरेलु काममा लगाएर पछि यौनकार्यमा संलग्न हुन सुनुवार र पुरीले दबाब दिएको गुरुङले बताइन् । यौनकार्यमा संलग्न नहुँदा आफूसहितका थुप्रै महिलालाई उनीहरूले चरम यातना दिएर बन्धक बनाएको पनि उनले जानकारी दिइन् । 'मसहित २६ जना महिलालाई उनीहरूले आफ्नै म्यानापावर कार्यालयमा बन्धक बनाएर राखे,' उनले भनिन्, 'एक छाक मात्र खान दिएर दैनिक यातना दिन्थे ।'
कुवेत पुर्याइएका महिलालाई उनीहरूले यौनकार्यमा संलग्न नभए ज्यान मार्नेसम्मको धम्की दिने गरेका छन् । 'नेपालमा पनि नराम्रो काम गरेर यहाँ आएका हौँ । हामीले भनेको मान्छेसँग गएर उसको चाहनाअनुसार काम नगरे ज्यान पनि लिन सक्छौँ,' दलाल महिलाहरूको भनाइ उद्धृत गर्दै पीडित गुरुङले थपिन्, 'तिमीहरू मरे पनि मर, हामीलाई मतलब छैन । हामी यसै नराम्रो काममा लाग्यौँ, लाग्यौँ । हामीलाई पैसा र मोजमस्ती भए पुग्छ ।'
अनैतिक कार्य गरेका महिलाले समेत एक रुपैयाँ पारिश्रमिकसमेत नपाएको गुरुङको भनाइ छ । 'सबै पैसा उनीहरूकै म्यानपावरमा आउँदो रहेछ,' घरेलु काम गर्दाको रकमसमेत उनीहरूले नै लिएको बताउँदै गुरुङले भनिन्, 'घरबाट श्रीमान्ले पठाएको ५० हजार रुपैयाँ सुनुवारलाई बुझाएपछि म्यानपावरबाट फुत्किएँ ।' भागेपछि डेढ महिना जेलमा बसेर घर र्फकन सफल भएको उनले बताइन् । नेपालीले प्लेन खर्च जुटाइदिएपछि रित्तो हात घर फर्केको उनको भनाइ छ ।
जेलमा समेत दुई नेपाली महिला पागल अवस्थामा भेटिएको उनले बताइन् । उनका अनुसार उदयपुर रामपुरकी चन्द्रकला तामाङ र अर्की एकजना महिला पागल अवस्थामा भेटिएका हुन् । 'जेलमा उनीहरू हाँस्ने, रुने र मलाई घर जान देऊ भन्दै विलौना गर्थे । उनीहरूको शरीरभरि नीलडाम थियो,' उनले भनिन्, 'उनीहरूमध्ये एउटीले यौनकार्यमा नलागेको भन्दै सुनुवारले नै चरम यातना दिएको बताएकी थिइन् ।'
रूपन्देही बुटवलकी माया दर्जीलाई पनि सुनुवारले जबर्जस्ती यौनकार्यमा संलग्न गराएको तर, पछि जान नमानेपछि करेन्ट लगाएर चरम यातना दिएर बन्धक बनाइएको गुरुङले जानकारी दिइन । उनका अनुसार यातनाबाट बुटवलकी माया तामाङ पनि गम्भीर बिरामी परेकी छिन् । काठमाडौं, बुटवल, गोरखा, मोरङ, झापालगायतका जिल्लाबाट ललाइफकाई कुवेत पुर्याइएका महिलालाई प्रयोग गरेर सुनुवार र पुरीले यौन व्यवसाय चलाएको गुरुङले जानकारी दिइन् ।
कुवेतमा पुगेका महिलाको अवस्था निकै दयनीय रहेको समेत उमा गुरुङले बताइन् । 'धेरै नेपाली दिदीबहिनीले कुवेतमै ज्यान गुमाएका छन् भने कतिलाई बेपत्ता बनाइएको छ,' उनले भनिन्््, 'कतिपय दिदीबहिनीहरू प्ाासपोर्ट नभएको र अशिक्षित भएकाले कुवेतमै हराउने गरेका छन् ।'
आफूसँगै मोरङ केराबारीबाट कुवेत पुगेकी एक महिलालाई सुनुवार र पुरीले बेपत्ता बनाएको उनले दाबी गरिन् । 'आफन्तले घरबाट सम्पर्क गर्दा गफ गर्न नदिई आफैंले काममा व्यस्त छे, ज्यादै राम्रो काम पाएकी छे, चिन्ता मान्नुपर्दैन भन्थे,' उनीहरूको
भनाइ उद्धृत गर्दै गुरुङले भनिन्, 'अब केही सातापछि पैसा पनि पठाउँछे भनेर ढाँट्थे ।'
बन्धक बनाइएका कतिपय महिलालाई भने उनीहरूले कुवेतसम्म ल्याउँदा लागेको खर्च भन्दै मोटो रकम लिएर छाड्ने गरेको पनि गुरुङले बताइन् । उनले भनिन्, 'म कुवेतमै हँुदा, तँबाट हामीले फाइदा लिन सकेनौँ । तँ घर जा, तर तँलाई यहाँ ल्याइपुर्याउँदा धेरै खर्च भएको छ भन्दै बुटवलकी कौशिला गैडेसँग रकम मागे ।' उनका अनुसार घरपरिवारसँग एक लाख ५० हजार रुपैयाँ मगाएर बुझाएपछि गैडे बन्धकमुक्त भएकी थिइन् ।
कुवेतमा सयौँ नेपाली महिलाको ज्यान जोखिममा रहेकाले तत्काल उनीहरूको उद्धारको पहल गर्न गुरुङले सरकार तथा मानवअधिकारवादी संस्थालाई आग्रह गरिन् । 'पहिले सुनुवारका बाबु मानबहादुरलाई पक्राउ गरेर बन्धक बनाइएका २५ जना दिदीबहिनीलाई नेपाल फर्काउन सरकारले पहल गर्नुपर्छ,' उनले भनिन्, 'केही साताभित्र उद्धार नभए उनीहरूको ज्यानै जोखिममा पर्नेछ ।'
Friday, June 25, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment