नेपाल समाचारपत्र, (काठमाडौं), एक वर्षदेखि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने भनी संघर्ष गर्दै आएको एकीकृत नेकपा माओवादी बहुमतको सरकारका लागि तयार भएको छ।
विकल्पसम्बन्धी पत्रकारहरुको प्रश्नमा प्रचण्डको भनाइ थियो- पत्रकारहरुका प्रश्न सकिएजस्तो छ
- भावी प्रमबारेको जिज्ञासामा भट्टराईले ‘अध्यक्ष प्रचण्ड हुँदा राम्रो’ भन्नुभयो तर ‘हुनैपर्छ’ भन्नु भएन l
पार्टीको पोलिटब्युरो बैठकका निर्णय सार्वजनिक गर्न शनिबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादीले राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना क्षीण भएको भन्दै सहमतिको सरकार या बहुमत दुवैका लागि पार्टीले विकल्प खुला राखेको बताएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पोलिटब्युरो बैठकले गरेको तर को व्यक्ति भन्ने कुरा पार्टीले आवश्यकता परेको बेला नै निर्णय गर्ने जानकारी गराए पनि प्रधानमन्त्रीका लागि विकल्प खुला हो कि भन्ने बताउन इन्कार गर्नुभयो। पत्रकारहरुले पटकपटक विकल्प खुला हो या होइन भन्ने प्रश्न राख्न थालेपछि अध्यक्ष प्रचण्डले पत्रकारहरुका प्रश्न सकिएजस्तो छ भनी कार्यक्रम अन्त्य भएको घोषणा गर्नुभयो।
माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार बनाउन पार्टी सहमत हुने हो भने अन्य पार्टीले पनि समर्थन गर्ने धारणा बाहिर आएको छ त्यसबारेमा पार्टीको धारणा के हो भनी अध्यक्ष प्रचण्डलाई प्रश्न सोधिए पनि उहाँले त्यसको जवाफ दिन डा. भट्टराईलाई जिम्मा लगाउनुभयो। डा. भट्टराईले पनि ‘पार्टी अध्यक्ष प्रचण्ड हुँदा राम्रो’ सम्म भन्नुभयो। तर उहाँ नै हुनुपर्छ भन्नु भएन। डा. भट्टराईकै नेतृत्वमा सरकार बन्छ भने पार्टी तयार हुनुपर्छ भन्ने धारणा पोलिटब्युरो सदस्यहरु धेरैको रहेको बताइएको छ।
उपाध्यक्ष डा. भट्टराईले पार्टीले जे निर्णय गर्छ त्यो आफ्ना लागि स्वीकार्य हुने भन्दै पार्टीले आगामी सरकारको नेतृत्व गर्न भन्छ भने तयार हुने आशय व्यक्त गर्नुभयो।
संविधान र समायोजन सँगै
माओवादीले संविधान निर्माण र सेना समायोजन एकसाथ हुनुपर्ने र त्यहीअनुसार कार्यतालिका बनाउनुपर्ने पोलिटब्युरोको निर्णय भएको जनाएको छ। अध्यक्ष प्रचण्डले अन्मिनले प्रमाणित गरेका सबै माओवादीका लडाकूलाई समायोजन गर्नुपर्ने बताउनुभएको छ। कांग्रेस-एमालेले पहिले सेना समायोजन त्यसपछि संविधान निर्माण कार्यलाई टुंगो लगाउनुपर्ने भन्दै आएका छन्।
पोलिटब्युरो बैठकले गत जेठ १४ गतेको तीनबुँदे सहमति कार्यान्वयन नगरिए सदन संघर्षलाई सशक्त बनाउने निर्णय गरेको छ।
माओवादी पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्ने स्थिति भएमा पार्टीले उहाँलाई बिनाहिचकिचाहट पठाउनुपर्ने हुन्छ भन्दै त्यसका लागि पार्टीले विकल्प खुला राखेको जानकारी गराउनुभएको छ। नेता पौडेलले शनिबार रिपोर्टस्र क्लबमा बोल्दै अध्यक्ष प्रचण्डका लागि पहिलो पहल हुन्छ नभए उपयुक्त विकल्प डा. भट्टराई नै हो भनी स्पष्ट पार्नुभएको छ। उहाँले भट्टराईको नेतृत्वमा सरकार बन्ने सम्भावना आफूले देखेको बताउनुभयो।
Saturday, June 26, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment