रामशरण बजगाईं/नयाँ पत्रिका, काठमाडौं, ८ असार : प्रधानमन्त्रीको राजीनामा र नयाँ सरकार निर्माणको विषयमा माओवादी र एमालेबीच छलफल प्रारम्भ भएको छ । छलफल सकारात्मक रूपमा अघि बढेको नेताहरूले बताएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालबीच मंगलबार भएको छलफलमा नयाँ सरकारको नेतृत्वका विषयमा कुराकानी भएको थियो । भेटपछि खनाल तीनबुँदे सहमति कार्यान्वयनमा वार्ता सकारात्मक भएको भन्दै बाहिरिए । माओवादी नेताहरूले प्रधानमन्त्रीको राजीनामापछि मात्रै सत्ता साझेदारीबारे छलफल गर्ने आफ्नो अडानप्रति एमाले गम्भीर भएको प्रतिक्रिया दिएका छन् ।
'सहमतिको सरकार निर्माण र संविधान लेखनलगायतका विषयमा दुई दलबीच महत्त्वपूर्ण छलफल भयो,' भेटपछि एमाले अध्यक्ष खनालले भने, 'यसले तीनबुँदे सहमति कार्यान्वयनमा सहजता ल्याएको छ ।'
प्रचण्ड-खनाल भेटअघि मंगलबार नै खनालपक्षीय एमाले नेताहरूले प्रचण्डलाई भेटेका थिए । एमाले केन्द्रीय सदस्यहरू योगेश भट्टराई, घनश्याम भुसाल, विजयकुमार पौडेल र अरुण नेपालले माओवादी अध्यक्षसँग एक घन्टा लामो भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको राजीनामापछि सत्ता साझेदारीबारे छलफल अगाडि बढाउनुपर्ने माओवादीको अडानमा एमाले लचिलो भएको वार्तापछि माओवादी नेता पोष्टबहादुर बोगटीले बताए । 'यसले तीनबुँदे सहमति कार्यान्वयन हुने आशा पलाएको छ,' उनले भने ।
यसअघि सोमबार कांग्रेस-माओवादीबीच भएको वार्तामा दुवै पक्ष आ-आफ्नै अडानमा थिए । कांग्रेसले सहमति निर्माण भएपछि मात्र प्रधानमन्त्रीको राजीनामा आउने बताएको थियो भने माओवादीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्र अरू विषयमा छलफल अगाडि बढाउनुपर्नेमा जोड
दिएको थियो ।
खनाललाई प्रधानमन्त्री बनाउन पहल
अध्यक्ष खनाललाई प्रधानमन्त्री बनाउन उनीनिकट एमाले नेताहरूले पहलकदमी अगाडि बढाएका छन् । माओवादी नेतृत्वसित भएको भेटमा एमाले नेताहरूले अनौपचारिक रूपमा सो प्रस्ताव राखेका थिए । सो प्रस्तावमा माओवादी अध्यक्ष प्रचण्डले सकारात्मक जवाफ दिएको एमाले नेताहरूको दाबी छ ।
नयाँ सरकारको नेतृत्व एमाले अध्यक्षलाई दिने विषयमा माओवादी सकारात्मक नै रहेको एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले बताए । 'तपाईं -प्रचण्ड) को नेतृत्वमा सरकार बनाउन सबै सहमत हुन्छन् र सहज हुन्छ भने हाम्रो पनि समर्थन रहनेछ । तर, स्थिति त्यस्तो देखिँदैन,' माओवादी अध्यक्षसित एमाले नेताहरूले राखेको भनाइ उद्धृत गर्दै भट्टराईले भने, 'त्यस अवस्थामा हाम्रो अध्यक्षलाई जिम्मेवारी दिँदा सहज हुन्छ ।' भट्टराईले माओवादी अध्यक्ष प्रचण्ड यस विषयमा सकारात्मक रहेको पनि बताए । 'जेएनलाई सरकारको नेतृत्वमा पठाउन तुलनात्मक रूपमा सहज हुन्छ भन्नेमा माओवादी अध्यक्ष नेगेटिभ देखिनुभएन,' भट्टराईले नयाँ पत्रिकासँग भने ।
सहमतीय राजनीतिको पक्षमा रहेकाले पनि खनाल सहमतीय सरकारको प्रधानमन्त्री हुन सक्ने एमाले युवा नेताहरूको तर्क थियो । यसअघि सोमबार अध्यक्ष खनालको उपस्थितिमा बसेको एमाले सल्लाहकार परिषद्को बैठकमा वामपन्थी समीकरणको सरकार बनाउन केही सदस्यहरूले माग गरेका थिए ।
एमाले युवा नेताहरूसँगको छलफलमा अध्यक्ष दाहालले ठूलो पार्टी भएकाले माओवादीकै नेतृत्वमा सरकार बन्नु स्वाभाविक भएको तर्क पनि राखेका थिए । 'आप\mनै नेतृत्वमा सरकार गठन स्वाभाविक हुन्छ भन्ने उहाँहरूको कुरा थियो,' एमाले केन्द्रीय सदस्य घनश्याम भुसालले नयाँ पत्रिकासँग भने, 'तर, हामीले समय र परिस्थिति हेरेर वास्तविक निकासतिर मुलुकलाई लैजानुपर्छ भन्यौँ ।'
एमाले टोलीले माओवादी अध्यक्षलाई ठूलो पार्टी हुनुको जिम्मेवारीबोध गरेर अडानमा लचकता प्रस्तुत गर्न आग्रह गरेका थिए । एमाले युवा नेताहरूसँगको भेटपछि अध्यक्ष प्रचण्डले आफ्नै निवासमा एमाले अध्यक्ष खनालसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव पोष्टबहादुर बोगटी र एमाले अध्यक्ष झलनाथ खनाल तथा स्थायी समिति सदस्य भरतमोहन अधिकारी सहभागी थिए ।
Wednesday, June 23, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment