काठमाडौं, असार १० (नागरिक)-सत्तारुढ कांग्रेस र एमालेले शान्तिप्रक्रिया, संविधान लेखनको कार्यतालिका र प्रधानमन्त्रीको राजीनामा सँगसँगै आउनुपर्ने साझा धारणा बनाएका छन्।
बुधबार कांग्रेस-एमाले बैठकमा जेठ १४ राति भएको तीनबुँदे सहमतिलाई प्याकेजमा कार्यान्वयन गर्न दुई दिनभित्र तीन दलको बैठक डाक्ने सहमति भएको छ।
तीनबुँदे सहमति कार्यान्वयन गरेर राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रियामा जानुपर्ने दुई दलको साझा धारणा छ। राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न माओवादीसहितको बैठक आह्वान गर्न उनीहरू सहमत भएका छन्।
'तीनबुँदे सहमति कार्यान्वयनका लागि दुई दलबीच भेट भएको हो,' कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले नागरिकसँग भने, 'शान्तिप्रक्रिया, संविधान लेखनको कार्यतालिका र राजीनामा सँगसँगै आउनुपर्छ भन्ने दुई दलबीच सहमति भएको छ।'
तीनबुँदे सहमति प्याकेजमा कार्यान्वयन गर्न कांग्रेस, एमालेले शान्तिप्रक्रियाको कार्यतालिका र संविधान लेखनका लागि प्रतिबद्धता आउनुपर्ने दोहोर्याएका छन्। 'तीनबुँदे सहमति कार्यान्वयनका लागि तत्काल तीन दलको बैठक डाक्ने सहमति भएको छ,' एमाले सचिव विष्णु पौडेलले भने।
कांग्रेस-एमालेले माओवादीसँग समायोजन हुने लडाकुको संख्या, वाइसिएलको अर्धसैन्य संरचना विघटनलगायतको सर्त राख्दै आएका छन्।
बैठकपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले तीनबुँदे सहमति कार्यान्वयनका लागि दुई दिनभित्र माओवादीसहितको संयुक्त बैठक बस्ने जानकारी सञ्चारकर्मीलाई दिए।
साना दलले भण्डाफोर गर्ने
प्रमुख तीन दलले देशलाई अनिर्णयको बन्दी बनाएको निष्कर्ष निकाल्दै संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलले त्यसको भण्डाफोर गर्ने निर्णय गरेका छन्।
बुधबार साना १४ दलको संयुक्त बैठकपछि राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले ठूला दलको सत्ताकेन्द्रित राजनीतिविरुद्ध देशभर जनसभा गर्ने जानकारी दिए।
ठूला दल सत्ता लुछाचुँडीमा लागेकाले समयमा संविधान बन्न नसकेको र संविधानसभाको म्याद थपेको २४ दिनपछि पनि काम अघि बढ्न नसकेको साना दलको ठहर छ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको सिंहदरबारस्थित संविधानसभा दलको कार्यालयमा बोलाइएको २२ दलको बैठकमा १४ दल मात्र सहभागी थिए।
उपप्रधानमन्त्री एवं फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार अनुपस्थित रहेकाले बिहीबार फेरि बस्ने गरी बैठक स्थगित गरिएको थियो।
Wednesday, June 23, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment