Tuesday, June 22, 2010

लोक-दोहोरीमा पर्यटन

सुशील पौडेल, काठमाडौ, अषाढ ९ - लोक-दोहोरी गीतको क्रेज केही वर्षयता ह्वात्तै बढ्न थालेपछि सांगीतिक बजारमा रातारात धेरै लोकगायक/गायिका झुल्किए । कति पैसा कमाउनका लागि आए, कति पैसा खन्याएर पनि आए । अरू विधामा भन्दा लोकलयमा गाउन सहज हुने भएपछि पैसाकै भरमा गायक बन्ने धेरै भएको आरोप पनि लाग्न थाल्यो ।
यस्तोमा गायक बन्न आएका पर्यटन व्यवसायी गणेश न्यौपानेसँग पनि पैसा प्रशस्तै थियो । अरूलाई जस्तै उनलाई पनि 'नामको भोको' भएको आरोप नलागेको होइन । 'वास्तवमा म पैसाकै भरमा गायक बनेको पनि हो,' ४८ वर्षेले भने, 'तर गायक बन्नु मात्र ठूलो होइन, त्यसलाई निरन्तरता दिँदैं टिकिरहनु ठूलो हो ।' अनि यसका लागि पैसा भएर मात्रै हुँदैन ।

दस वर्षअघि लोकदोहोरी 'छेक्यो डाँडा कुहिरोले...' मार्फत सांगीतिक दुनियाँमा आएका न्यौपानेको पहिलो गीतै फ्लप भयो । 'शीतको थोपा' लोक-आधुनिक एल्बम पनि सफल भएन ।

'तर संगीतको नशा भएकैले गाउन भने छोडिनँ,' उनले सुनाए, 'पैसाकै तुजुकमा मात्रै आएको हुन्थेँ भने पलायन भइसक्थें ।'

पर्यटक गाइड भई कुनाकन्दरा र भीरपाखाका छिचोल्दै जाँदा लखतरान शरीरमा स्फूर्ति भर्न गीतसंगीतको सहारा लिँदाको विगत उनले सम्झे । गीतसंगीतको रुचि सानैदेखि भए पनि व्यावसायिक रूपमै गायन क्षेत्रमा आउन त्यति बेलैको एक घटना उनलाई काफी भयो । 'टे्रकिङमा सधैं बोक्ने बाँसुरी र मादलको तालमा गीत गाउन साथीभाइमा होडबाजी नै चल्थ्यो,' न्यौपानेले सम्झे, 'म पनि गायक बनेर देखाइदिन्छु भनी गुरु (नवीन गुरुङ) सँग प्रशिक्षण लिएँ र गायनमा लागेँ ।'

पर्यटन व्यवसायी भएकैले उनले गाउने र लेख्ने गीत चल्तीका भन्दा केही फरक छन् । गीतले प्रायः पर्यटन प्रवर्द्धनलाई छोएका छन् । 'धनकुटा डाँडा बजार, जाऊ कान्छी बिस्तारै छैन हतार...', 'भेटौंला धनकुटा भेडेटारैमा, जाऊ साइँली सरर धरान बजार...', 'कञ्चनजंघा शिर...' जस्ता गीतले यस्तै छनक दिन्छन् ।

सरला राई र कृष्ण भक्तसँग गाएको लोकगीत 'कञ्चनजंघा शिर...' ले २०६५ मा इमेज अवार्ड पाएपछि भने आफू पुनः गायनमा हौसिएको उनले बताए ।

न्यौपानेलाई लोक-दोहोरीका भिडियोमा विकृति भित्रिएको लाग्छ । त्यसैले उनी अचेल आफ्ना गीतका भिडियो आफैं बनाउँछन् । 'म गीत अनुसार नै गाउँपाखाका दृश्य र ठेटपन उतार्छु, छोटा-छोटा लुगामा ग्ल्यामर देखिने संस्कृतिको विरोधी हुँ,' उनले भने, 'मेरो सोच निर्देशकसँग बेमेल भएकैले आफैं निर्देशनमा खट्ने गरेको हुँ ।'

न्यौपाने असारभित्रै पाँचौं लोक-जुहारी एल्बम 'यानीमाया' ल्याउने तयारीमा छन् । धनकुटा बुढीमोरङका उनले उक्त एल्बमका गीत पनि ठाउँ चिनाउने नै बनाएका छन्- 'शैलुङ्गे डाँडाको लेकैमा...,' 'चिया टिपेर... इलाम घुमेर...,' 'सेउती झरेर...,' 'साहुरी डाँडाको भीरैमा...,' 'धनकुटा मूलघाट दोभान...' ।

उनी 'यानीमाया' पनि सफल हुने विश्वासमा छन् । यसमा उनीसहित राजेशपायल राई, रिमा गुरुङ, अञ्जना गुरुङले स्वर दिएका छन् ।

No comments:

Post a Comment