Friday, June 25, 2010

बाबु खोज्दा बेपत्ता दाजुभाइ गाउँ फकर्दा...

बच्चु विक,
बाबु त भेटिएनन् नै, हजुरबुबा पनि बितेछन्, घर पनि हुरीले उडाएछ, दुवै बालक मामाको जिम्मामा

चाँदनी -कञ्चनपुर), ११ असार

'ए, हाम्रो घर कस्तो छ, ला ?'

'छैन, यार । केही छैन, भत्किसक्यो ।'

'के भयो ? कसले भत्कायो ।'

'बयालो -हुरी)ले उडायोे । काठजति अरुले लगे ।'

'सााच्ची हो ? केही छैन ?'

'हो, यार केही छैन । खाली छ ।'

प्रवासी नेपालीको सहयोगमा भारतको राजिस्तानबाट गाउँ फर्केका १० वषर्ीय बालक प्रेम सुनारले सहपाठीका कुरा सुनेर निन्याउरो अनुहार बनाए । उनका सात वषर्ीय भाइ शेखरको मुहार रातो भयो । प्रहरीको गाडीको पछाडि बसेका उनका तीन सहपाठी पनि चुप लागे ।

भारतको दिल्लीमा बेपत्ता भएर राजिस्तानबाट शुक्रबार नेपाल आएका प्रेम र शेखर गाउँ पुग्दा उनीहरूको घर थिएन । बुबा खोज्दै जाँदा बेपत्ता भएका उनीहरूको बुबा पनि गाउँ फर्केका थिएनन् । हजुरबाको दुई साताअघि मृत्यु भएको थियो भने हजुरआमा पनि गाउँमा थिइनन् । आमाले त एक वर्षअघि नै छाडिसकेकी थिइन् ।

गाउँनजिकै भेटिएका तीन सहपाठीले उनलाई घरनजिकै त लगे, तर घर नदेखेपछि प्रेम र शेखर अक्क न बक्क भए । कसैसँग बोल्न सकेनन् । घर खोज्दै गाउँ पुगेका दुई दाजुभाइले चुपचाप आँसुमात्र खसाले । उनीहरूलाई लिएर गाउँ-गाउँ चहार्दै घर खोज्दै गरेको प्रहरी टोली पनि रनभुल्लमा पर्‍यो ।

कञ्चनपुरको चाँदनी-७ पशुपतिटोलका प्रेम र शेखर पाकिस्तान-भारत सीमाक्षेत्र राजिस्तानबाट शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । भारतको दिल्लीमा बेपत्ता भएका उनीहरूलाई राजिस्तानबाट मूलप्रवाह अखिल नेपाल भारत एकता समाजले नेपाल ल्याएको हो । 'डिउटी'मा गएका बुबा गणेशलाई खोज्न घरबाहिर निस्केका दाजुभाइलाई एक भारतीय युवकले फकाएर लगेको थियो । 'तिम्रो बुबालाईर् देखाइदिन्छु भन्यो । चक्लेट, बिस्कुट दियो । अंकल -भारतीय युवक)सँगै गयौँ,' प्रेमले १२ दिनअघिको घटना सुनाए । त्यसपछि भारतीय युवकले उनीहरूलाई दिल्लीमै होटलमा छाडेको थियो । दुई दाजुभाइले दिल्लीकै होटलमा दुई दिन भाँडा माझेको बताए ।

होटलमा बुबा नभेटाएपछि दुई दाजुभाइ तेस्रो दिन मध्यराति होटलबाट भागेका हुन् । 'राति सबै सुतेका थिए, सुटुक्क बाहिर निस्केँ,' कान्छो शेखरले भने । त्यसपछि रेलमा चढेका दाजुभाइले पाकिस्तान-भारत सीमाक्षेत्र राजिस्तानको गंगा नगरस्थित कालुवाला गाउँ पुगेका थाहै पाएनन् । 'पाँच किलोमिटर पार गरेका भए, पाकिस्तान पुग्ने थिए,' उनीहरूलाई नेपाल ल्याएका मूलप्रवाह नेपाल-भारत एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसीले भने । स्थानीयवासीले गंगा नगरको प्रहरीलाई बुझाएपछि राजिस्तान प्रहरीले प्रवासी नेपालीको जिम्मा लगाएको हो । समाजका केन्द्रीय अध्यक्ष केसी र गंगानगर इन्चार्ज रमेश केसीले उनीहरूलाई नेपाल ल्याएका हुन् ।

शुक्रबार बिहान महेन्द्रनगर आएका प्रेम र शेखरलाई कञ्चनपुर प्रहरीले उनीहरूको गाउँ पुर्‍याएको छ । माछा मार्दै गरेका उनीहरूका सहपाठीले गाउँ देखाए पनि घर भने भेटिएन । तीन साताअघि आएको हुरीले उनीहरूको घर भत्किएको थियो भने घरका सरसामान पनि गाउँलेले लगिसकेका थिए । उनीहरूको घर भएको ठाउँमा नामनिसान नै थिएन । 'यहाँ त केही छैन,' घरनजिकै पुगेपछि जेठो प्रेमले कान्छो शेखरलाई सोध्यो- भाइ, हाम्रो घर कहाँनेर हो ? उनीहरू आएको देखेपछि गाउँले पनि जम्मा भए । उनीहरूको नजिक कोही आएनन् । सबै निन्याउरो अनुहार बनाउँदै रुन थाले ।

घर-परिवारजन कोही नभएपछि प्रहरीले प्रेम र शेखरलाई उनका मामा भीम सुनारको जिम्मा लगाएको छ । डिउटीमा गएका बुबा खोज्दा आफँै बेपत्ता भएका दाजुभाइ मामाघरमा बसेका छन् । उनीहरूकी आमा मधु एक वर्षअघि अर्को बिहे गरेर गएको र बाजेको पनि दुई साताअघि मृत्यु भएको उनीहरूका मामा भीमले बताए । दिल्लीमा चौकीदारी गर्ने उनका बुबा गणेशले गत चैतमा प्रेम र शेखरलाई आफैँसित दिल्ली लगेका थिए ।

No comments:

Post a Comment