Friday, June 25, 2010

'कि बास देऊ कि मारिदेऊ'

लक्ष्मण खड्का, दोलखा, ११ असार : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवेशमार्ग निर्माणका क्रममा घरवारविहीन भएका लामाबगर- ४ छ्योतछ्योतका १० परिवारको बिचल्ली भएको छ । तीन वर्षदेखि तामाकोसी नदीकिनार र भीरको कापमा कटेरो हालेर बसेका १० तामाङ परिवारका ३० जना पहिरोको डरले रातभर जाग्राम बस्न बाध्य छन् ।
नदीकिनारमा बसेका साहिमान तामाङले पहिरोकै कारण आफूहरू विस्थापित भएको र अहिले पनि पहिरोको खतरा उत्तिकै रहेको बताए । 'रातभर निद्रा लाग्दैन, बालबच्चालाई च्यापेर कटेरामा अनिँदो रात बिताउनुपरेको छ,' उनले भने, 'सरकारले कि बास दिनुपर्‍यो कि मारिदनुपर्‍यो ।'

वषर्ायामसँगै उर्लिएको तामाकोसी नदीको भेल सतह नाघेर धेरै माथिसम्म आइपुगेको र बस्तीमाथि निर्माण गरिएको सडकका कारण कुनै पनि वेला पहिरो आउन सक्ने सम्भावना भएकोले उनीहरू त्रसित छन् । माथिल्लो तामाकोसी आयोजनाको प्रवेशमार्ग निर्माणका क्रममा प्याकेज नम्बर २ अन्तर्गत लामा कन्स्ट्रक्सनले काम गरेको सडकमा तीन वर्षअघि माथिबाट आएको पहिरोले छ्योतछ्योतका ९ घर पुरिएका थिए भने ६ वटा घरमा क्षति पुगेको थियो ।

पहिरोका कारण खेती गर्ने जमिन पनि ढुंगेबगरमा परिणत भएपछि विस्थापितले खेती गरेर खानसमेत पाएका छैनन् । पहिरोका कारण विस्थापित भएका साहिमान, दलबहादुर तामाङ, अनञ्ची तामाङ, कामी तामाङ, सिंहबहादुर तामाङ, ओमराज तामाङ, वीरमाई तामाङ, तिरमाई तामाङ र पातली तामाङको परिवार बिचल्लीमा परेको हो ।

नदीकिनारमा बस्दै आएका परिवार नदीमा पानीको वहाव बढेपछि किनारभन्दा माथिको भीरमा बस्न बाध्य छन् । तर, उनीहरू अहिले अस्थायी रूपमा बस्दै आएको ठाउँ पनि असुरक्षित छ । छ्योतछ्योत गाउँको माथिल्लो भागबाट सडक निर्माण भएको र त्यहाँको भौगोलिक अवस्था कमजोर भएकोले पहिरोको जोखिम अझै टरेको छैन ।

पीडित वीरमाई तामाङका अनुसार अहिले पनि भारी वषर्ा भएपछि माथिको भाग बिस्तारै बग्ने गरेको छ । पहिरो धेरै तानिएकोले सबैजना गाउँ छाड्ने तयारीमा रहेको उनले बताए । छ्योतछ्योतमा पहिरो गए स्थानीयहरू छिमेकी गौरीशंकर गाविसको सिमिगाउँ वा लामाबगरको गोगंरतर्फ बसाइँसराइ गर्नुको विकल्प छैन ।

पहिरोले खेती गर्ने जमिन र घर नष्ट पारेपछि विस्थापित दिनभर माथिल्लो तामाकोसीमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । माथिल्लो तामाकोसीको प्रवेशमार्ग निर्माणकै क्रममा उनीहरू विस्थापित भएको वषौर्ं बितिसके पनि पुनस्र्थापनका लागि आयोजनाले दीर्घकालीन व्यवस्था गर्न सकेको छैन ।

आयोजनाले पहिरोले क्षति भएको घर र जग्गाको आधारमा प्रतिपरिवार वाषिर्क १८ हजारदेखि ७५ हजारसम्म आर्थिक सहायता दिने गरे पनि त्यो पर्याप्त नभएको पीडितको गुनासो छ । स्थानीय कामी तामाङले सहायता रकम अपर्याप्त भएको गुनासो गर्दै भने, 'सहयोग रकमले दुई महिना पनि खान पुग्दैन । हामीलाई आर्थिक सहायता होइन, गरिखाने जमिन र बस्ने स्थायी बास चाहियो ।'

आयोजना प्रमुख मृगेन्द्रबहादुर श्रेष्ठले विस्थापितको पुनर्वासका लागि ६८ लाख बजेट विनियोजन भइसके पनि पहिरो नथामिएकोले स्थायी भवन बनाउन नसकिएको बताए । श्रेष्ठका अनुसार वषर्ायामपछि नै विस्थापित नौ परिवारलाई उपयुक्त स्थान हेरेर तीन कोठा र चर्पीसहितको एकतले पक्की घर निर्माण गरिनेछ ।

माथिल्लो तामाकोसी आयोजनाले नौ परिवारलाई एकै मोडलको एकतले पक्की घर र क्षति पुगेका ६ घरको मर्मतसम्भार गरिदिने तयारी गरिरहेको छ । आयोजनाका सामाजिक विकास अधिकृत हरिकृष्ण बरालले विस्थापितको पुनस्र्थापनमा आयोजना संवेदनशील भए पनि पहिरोको जोखिम कम हुने स्थानको व्यवस्था भई नसक्दा पुनस्र्थापन कार्यमा ढिलाइ भएको बताए ।

No comments:

Post a Comment