Sunday, August 8, 2010

दक्षिण एसियाको गरिबीमा नेपाल

दक्षिण एसियालाई विशाल भूराजनीतिक, सामाजिक तथा सांस्कृतिक विविधताको घर भन्ने गरिन्छ । यस क्षेत्रमा बसोबास गर्ने मानिसको संख्या १.४ अर्ब छ, जुन विश्वको कुल जनसंख्याको २२.२ प्रतिशत हो । दक्षिण एसियाको कुल जनसंख्याको औसत ३१.७ प्रतिशत मानिस गरिब छन् ।
सार्क राष्ट्रहरूमा माल्दिभ्स अरू मुलुकका दाँजोमा गरिबी कम भएको देश हो । माल्दिभ्सलाई छाडेर अन्य मुलुकको गरिबी हेर्ने हो भने २६.७ देखि माथि झन्डै ५० प्रतिशतसम्म रहेको छ । माल्दिभ्सको गरिबीको प्रतिशतचाहिँ सबैभन्दा कम छ, १३ प्रतिशत । नेपालको गरिबी ३८ प्रतिशत छ भने भारतको २६.१ रहेको छ । सबैभन्दा गरिब बंगलादेश रहेको छ । यहाँ ४९.८ प्रतिशत नागरिक गरिब छन् ।
दक्षिण एसियामा स्वास्थ्य र शिक्षाको क्षेत्रमा उपलब्ध गराइनुपर्ने आवश्यक सुविधा तथा सहायता प्रणाली न्यून छ । त्यसैले पनि यस क्षेत्रले सक्षम जनशक्तिलाई भरपूर उपयोग गर्न सकेको छैन । न त राज्यले यस क्षेत्रका नागरिकलाई रोजीरोटीको व्यवस्था गर्न सक्नेसम्म बनाउन सकेको छ । अशिक्षाले पिरोलिएको यस क्षेत्रका नागरिकलाई उपचार सम्भव भएका र खर्च पनि धेरै नलाग्ने खालका रोगहरू क्षयरोग, मलेरिया, श्वास-प्रश्वाससम्बन्धी रोग, झाडापखाला, हैजा आदिले बर्सेनि अकाल मृत्युवरण गर्न बाध्य पारेको छ । शिशु तथा आमाहरूले पर्याप्त मात्रामा पोसिलो खाना नपाउने र पाएको खानामा पोषणको मात्रा न्यून रहने गरेको छ । महिलामा देखिने शारीरिक समस्याहरूको समयमै उपचार हुन नसक्दा बाँझोपनको सिकार हुनुपर्ने, कमजोर स्वास्थ्यले गर्दा गर्भवती महिलाको मृत्यु हुने, रोगी बच्चा जन्मने आदि समस्या यस क्षेत्रका बहुसंख्यक महिलाले भोग्ने गरेका छन् । गरिबी र अव्यवस्थित रहनसहनले यहाँका मानिसको सरदर आयु छोट्याइदिएको छ ।

गरिबीले गर्दा नेपालले भोग्नुपरेको एउटा जटिल समस्या चेलीबेटी बेचबिखन पनि हो । गरिब आमाबाबुको सन्तान भएर जन्म लिनु नारीका लागि अपराधजस्तै हुने गरेको छ, नेपाली समाजमा । घरको आर्थिक स्थितिले सताइएका कतिपय आमाबाबुले पैसा पाउने लोभमा आफ्ना छोरीहरू दलालका हातमा बेचेका घटना सुुन्नमा आउँछन् वेलावेलामा । कतिपय युवती त गरिबीले ग्रस्त जीवनले दिएका पीडाबाट मुक्ति पाइने र सन्तोषले भरिएको जीवन व्यतीत गर्न पाउने आशामा दलालको झुटो प्रेममा परी बेचिएका कुरा अरू प्रकारका बेचबिखनका घटनाभन्दा बढी घटेका र बाहिर आएका छन् । कतिपय गरिब आमाबाबुले आफ्ना छोरीलाई आफन्तले रोजगारी दिलाइदिने र छोरीले प्रतिमहिना पैसा पठाउने प्रलोभनमा आएर आफन्तको जिम्मा छोरी लगाइदिँदा छोरी वेश्यालयको कोठीमा पुगेका घटना पनि नेपालको परिवेशमा नौला रहेनन् ।

बालबालिकाको यौनबजार र श्रमबजारमा खुलेआम प्रयोग भएको छ । विदेशी र स्वदेशी दुवैखाले आगन्तुकलाई लोभ्याउन र पैसा झार्न कलिला बालिकालाई यस पेसामा लगाइएको छ । १० वर्षमुनिका बालबालिकालाई घरेलु कामदारका रूपमा काठमाडौंका घरधनीहरूले आफ्नो क्रूरताभित्र कैद गरेका छन् र पाशविकताको सीमा नाघेर गरिएका अत्याचारका घटना वेलावेलामा सञ्चारमाध्यममा आउने पनि गर्छन् । बाल यौनशोषणको नालीबेली पनि योभन्दा फरक छैन ।

बालबालिकालाई यौनबजारमा राखेर आफ्नो गोजी भर्ने लालसा र मानिसमा बढ्दै गइरहेको यौन-आसक्तिले गर्दा बालबालिका शोषणमा परिरहेका छन् । बालबालिकाका क्षेत्रमा काम गर्न नौ सय ४० वटा राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसरकारी संस्था क्रियाशील रहेको समाज कल्याण परिषद्को तथ्यांकले देखाउँछ । बालबालिकासम्बन्धी राष्ट्रिय-अन्तर्राष्ट्रिय कानुनका आधारमा काम गर्ने ती संस्थाले कति जना बालबालिकालाई शोषणको दलदलबाट मुक्त गर्न सकेका छन्, त्यो फरक बहसको विषय हो ।

बालश्रमिक, बालयौन शोषण, घरेलु द्वन्द्व र हिंसा, बेरोजगारी, युवापुस्ताको विदेश पलायन, कमिसनखोरी र भ्रष्टाचार, राजनीतिक दाउपेच र सत्तालिप्सा, विदेशी हस्तक्षेप आदि नेपाल र नेपालजस्ता गरिब देशका प्रमुख समस्या बनेका छन् । यी समस्याको मूल कारक भनेको देशभित्रको गरिबी मात्रै हो । देश यदि सम्पन्नताको बाटामा डोर्‍याइने हो र नीति-निर्माताले गरिब नागरिकको हितमा कार्यक्रम बनाउनतिर ध्यान दिन थाल्ने हो भने गरिबीले फैलाएको संक्रमणबाट पीडित हुनुपर्नेछैन ।

गरिब नागरिकका पक्षमा उठ्ने आवाजलाई समयक्रमसँगै बुलन्द र एक गर्नुको साटो पार्टीहरूले राजनीतिकोे मुद्दा बनाउने गरेका छन् । नागरिकले भोगिरहेको गरिबीलाई हटाउन नसक्दा देशभित्र फैलिएको अशान्ति, त्रास, निराशा आदिलाई कम गर्न सकिँदैन, रोग, भोक र शोकका मुद्दालाई सम्बोधन गर्न नसक्दा हाम्रो नेपाललाई राम्रो नेपाल बनाउन सकिँदैन ।

(nayapatrika) रामदत्त जोशी, मैतीदेवी, काठमाडौं

No comments:

Post a Comment