भक्तपुर । गत वैशाख अन्तिममा अवकाश प्राप्त शिक्षा विभाग सानोठिमीका उपनिर्देशक एवम् विद्यालय व्यवस्थापन शाखा प्रमुख निमराज जोशीले शाखाको महत्वपूर्ण कागज नबुझाई सम्पर्कविहीन भएपछि शाखाका महत्वपूर्ण कार्य रोकिएको छ ।
अवकाश हुनुअघि नै आफ्ना कार्यकालमा गरेका निर्णय, आगामी वर्ष हुने कार्ययोजना, प्रगतिलगायतका महत्वपूर्ण कागजपत्र बुझाउनुपर्ने नियम जोशीले कागजपत्र नबुझाएकाले महत्वपूर्ण कार्य नै रोकिएको शाखाले जानकारी दिएको छ ।
यस शाखाबाट सरकारी विद्यालय समुदायमा हस्तान्तरण, शिक्षक बढुवा, शिक्षक सरुवा, दरबन्दी थप, दरबन्दी वितरण, दरबन्दी मिलानलगायतका महत्वपूर्ण कार्य हुने शाखाले जनाएको छ ।
तत्कालीन शिक्षासचिव रामस्वरुप सिन्हा र तत्कालीन शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माको पालामा जोशीसमेतले भ्रष्टाचार गरेकाले फाइल नबुझाई सम्पर्कविहीन भएको विभागले आरोप लगाएको छ ।
तत्कालीन सचिव, महानिर्देशक र उपनिर्देशक जोशीले त्यस समयमा भएको शिक्षक दरबन्दी थप, दरबन्दी वितरणलगायतको फाइल र निर्णयसमेत लुकाएको आरोप विभागले लगाएको छ ।
महोत्तरी, रौतहट, सिरहा, सर्लाही, सप्तरी, सुनसरी, धनगढी, नवलपरासीलगायतका जिल्लामा आवश्यकताभन्दा अत्यधिक बढी दरबन्दी वितरण गरेर भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
एउटै जिल्लामा एकसयदेखि ८८७ वटासम्म दरबन्दी वितरण गरेको तर ती दरबन्दी कुन निर्णय, कुन नियम र कसरी वितरण भयो, फाइल उठाएको छ छैनसमेत थाहा नभएको विभागको दाबी छ ।
अहिले विभागलाई कुन जिल्लामा कति दरबन्दी छन्, कुन जिल्लामा दरबन्दी बढी र घटी छ समेत थाहा पाउन गाह्रो भएको शाखाले जनाएको छ ।
जोशी अवकाशपछि पेन्सनको कागजसमेत बनाउन नआएको, सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको शाखाले जनायो ।
झूटो दरबन्दी देखाएर भ्रष्टाचार गरेको हुनसक्ने बताउँदै शाखाले सम्पर्कमा नआउनाले काम गर्न कठिन हुँदै गएको जनाएको छ ।
शिक्षा विभागका महानिर्देशक हरिबोल खनालले तत्कालीन उपनिर्देशक जोशीले अवकाशपछि कुनै पनि कागजपत्र नबुझाई सम्पर्कविहीन भएको स्वीकार गर्नुभयो ।
अब यो महिनाभित्र पनि जोशी विभागको सम्पर्कमा नआए सार्वजनिक सूचना नै जारी गर्ने बताउनुभयो । (FNN)
Friday, August 6, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment