Sunday, August 15, 2010

केटी बेचेको आरोपमा मोडल पक्राउ


मोडल रमिता भण्डारीले नेपाली युवतीलाई सिंगापुर पुर्‍याएर नांगो नाच नाच्न लगाउने गरेको प्रहरीको दाबी
विनोद न्यौपाने, नयाँ पत्रिका, काठमाडौं, २९ साउन, नेपाली युवतीलाई सिंगापुर लगेर नांगै नाच्न लगाउने गरेको
आरोपमा मोडल रमिता भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । भण्डारीको नेतृत्वमा आधा दर्जन नेपाली युवतीलाई सिंगापुरको नांगो नाच हुने बारमा पुर्‍याइएको प्रहरी दाबी छ ।

सिंगापुरबाट फर्केकी काठमाडौंनिवासी अनिता नकर्मीको उजुरीको आधारमा प्रहरीले उनलाई ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो । भण्डारीसँगै अर्की मोडेल शबु शाह पनि पक्राउ परेकी थिइन्, तर उनलाई बेलुकी छाडिएको छ । केही समयअघि मात्रै सिंगापुरबाट नेपाल फर्केका उनीहरू शनिबार फेरि सिंगापुर उड्ने तरखरमा थिए ।
प्रहरीले सुरुमा नकर्मीमाथि कुटपिटको आधारमा उनीहरूलाई पक्राउ गरे पनि हिरासतमा राखेर अनुसन्धान गर्दा युवती बेचविखनको खुलासा भएको हो । 'हामीले कुटपिटको अभियोगमा उनीहरूलाई पक्राउ गरेका थियौँ,' प्रहरी प्रभाग जनसेवाका प्रमुख प्रहरी निरीक्षक अवदेश विष्टले नयाँ पत्रिकासँग भने, 'अनुसन्धानको क्रममा अन्य केटीलाई पनि डान्सबारमा नांगो नाच नचाउन लगेको पाइएको छ ।'

मोडेलद्वयले नकर्मीलाई गत फेब्रुअरीमा सिंगापुर लगेका थिए । केही वर्षका लागि भन्दै सात हजार आठ सय सिंगापुर डलरमा लगे पनि दुई महिनामै भिसा सकिएपछि उनी नेपाल फर्केकी थिइन् । उनलाई पर्यटक भिसामा सिंगापुर लगिएको थियो । नेपाल आए पनि उनी तीन महिनासम्म घर गएकी थिइनन् । 'पैसा कमाउन गएको मान्छे रित्तो हात फर्केपछि कसरी घर जानू ?' नकर्मीको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, 'यही भएर तीन महिनासम्म साथीहरूकहाँ बसेँ ।'

नकर्मी नेपाल आएको जानकारी पाएपछि परिवारले उनलाई घर लगेको थियो । आफूलाई लैजाने मोडेल केही साताअघि मात्रै नेपाल फर्केको जानकारी पाएपछि नकर्मी आफ्नो फसेको सात हजार आठ सय सिंगापुर डलर माग्न उनीहरूको कोठामा पुगेकी थिइन् । तर, उनीहरूले पैसा फिर्ता नदिने भन्दै कुटेर पठाएपछि नकर्मी प्रहरीको शरणमा पुगेकी हुन् । नकर्मीले आफूमाथि कुटपिट भएको र पैसासमेत फिर्ता नदिएको भन्दै उजुरी दिएको निरीक्षक विष्टले जानकारी दिए । सोही उजुरीको आधारमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेपछि दुवैले लामो समयदेखि सिंगापुर बसेर डान्स बारमा काम गर्ने गरेको प्रहरीलाई बताएका छन् । तर, निवेदक अनिताले भनेजस्तो नेपालबाट युवतीलाई जबर्जस्ती लगेको आरोप उनीहरूले स्विकारेका छैनन् । नकर्मी आफ्नो आफन्त भएको मोडेलको दाबी छ ।
नकर्मीले दिएको उजुरीमा ब्युटिसियनको कोर्स पढाउने भन्दै सात हजार आठ डलर असुलेर मलेसिया हुँदै सिंगापुर पुर्‍याइएको र त्यहाँ पुगेपछि डान्सबारमा काम गर्न दबाब दिइएको उल्लेख छ । भण्डारी र शाहले अरू नेपाली युवतीलाई पनि डिपार्टमेन्टल स्टोरमा काम लगाइदिने प्रलोभन देखाएर सिंगापुरका नांगो डान्स बारमा पुर्‍याएको उजुरीमा आरोप लगाइएको छ । आफूसँगै गएकी अर्की एक नेपाली युवतीलाई अलपत्र पारेको नकर्मीले दाबी गरेकी छिन् ।
प्रहरीका अनुसार पक्राउ परेका मोडेलको साथबाट उनीहरूमाथि लगाइएको आरोप पुष्टि हुने तस्बिर र भिडियोहरूसमेत बरामद भएको छ । प्रहरी प्रभाग जनसेवाले भण्डारीको काम शंकास्पद देखिएको भन्दै थप अनुसन्धानका लागि काठमाडौं परिसर हनुमानढोका पठाएको छ । शाहलाई भने हाजिरी जमानीमा छाडिएको काठमाडौं परिसरका डिएसपी केदार ढकालले बताए । भण्डारीमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले हिरासतमै राखिएको उनको भनाइ छ । प्रहरी स्रोतका अनुसार उनीहरूको साथबाट दुई/दुईवटा पासपोर्टसमेत बरामद गरिएको छ । तर, यसको पुष्टि भने हुन सकेको छैन ।
०६२ देखि मोडलिङमा लागेकी रमिता सन् २००० मा मिस हेटौंडासमेत भएकी थिइन् । उनले उपाधि जितेलगत्तै टिनएजर्स नामक गीति एल्बम निकालेकी थिइन् । भण्डारीले अल नेपाल मोडेल कम्पिटिसन २००२, वेस्ट कपल अफ दि इयर २००३ आदिमा उपाधिहरू जितेकी छिन् । उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।
रमिताद्वारा लिखित 'अधुरो प्रेम' नामक साहित्यिक कृतिसमेत प्रकाशित छ । उनकी पार्टनर शबु शाह काठमाडौंको सामाखुसीकी हुन् । मोडलिङ क्षेत्रमा संघर्ष गर्दागर्दै भण्डारीसँग चिनजान भएपछि केही वर्षअघि दुवै सिंगापुर गएका थिए । त्यसयता उनीहरू वर्षमा ६ महिना नेपाल र ६ महिना सिंगापुरमा बस्दै आएका छन् ।
प्रहरीले भण्डारीमाथि कुन अभियोगमा मुद्दा चलाउने यकिन नभएको बताएको छ । नेपाली केटीलाई सिंगापुर लगेर नांगो नाच नाच्न लगाएको तथ्य प्रमाणित भएमा उनीमाथि मानव बेचविखनको मुद्दा चलाइनेछ । मानव बेचविखनको अभियोगमा १५ वर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान छ ।

यसअघि बुधबार मात्रै नायक एवं चलचित्र निर्माता रोज राणा मानव बेचविखनकै अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका छन् । उनलाई भने राजधानीका विभिन्न स्थानमा रहेका आफ्नो लगानीका डान्सबारमा नेपाली युवतीलाई नांगो नाच नाच्न लगाएकाले मानव बेचविखन तथा ओसारपसारको मुद्दा लगाइएको हो ।

No comments:

Post a Comment