‘बहिनी, सन्चै छौ?’ गाडीबाट हतारिंदै ओर्लिएपछि अभिनेता राजेश हमाल मैनातिर सोझिए। उनी राजेशको पर्खाइमा बाह्र बजेको घाम खपेर आधा घण्टादेखि बसिरहेकी थिईन्। निर्धारित समयभन्दा
केही ढिला आएका राजेश थप भलाकुसारीमा अल्झेनन्।
बरु सरासर मैनाको ह्वील चियर धकेल्दै ‘खगेन्द्र नवजीवन केन्द्र’को हलमा छिरे जहाँ उनको जन्मदिन मनाउने तयारी हुँदै थियो।
उनले ‘ह्यापी बर्थ डे राजेश हमाल’ लेखिएको केक काटे। जसको व्यवस्था गरेकी थिईन् उनै मैनाले। राजेशले उनलाई एक टुक्रा केक खुवाए। मैनाले पनि राजेशलाई खुवाईन्। शारीरिक अपाङ्गता भई केन्द्रमा रहेका केही र ‘नयाँ नेपाल अनाथ आश्रम’बाट आएका वालवालिकाले उनलाई जन्मदिनको शुभकामना दिए। राजेशले सबैलाई मिठाई, केक र चिसो बाँडे। उनको ४७ औं जन्मदिन (राजेशका अनुसार)को औपचारिकता यसरी सकियो।
‘सुपरस्टारको जन्मदिन, बेलुका त केही ‘तामझाम’ होला नि?’ सञ्चारकर्मीको पंक्तिबाट आएको यो जिज्ञासा मेटाउन उनले कसैले कोक खाएर फालेको प्लाष्टिकको कप देखाउँदै भने ‘तामझामको भ्यालु सकिएपछि यस्तै हो। कसैले सम्झदैन। यसरी जन्मदिन मनाउन पाउँदा मलाई एकदमै आनन्द मिल्छ। सायद यहाँ उपस्थित धेरैले सम्झन्छन् पनि।’ उनले १८ बर्षदेखि यसै केन्द्रमा जन्मदिन मनाउने गरेको समेत बताए।
‘उहाँ अपराध फिल्मको सुटिङमा पहिलो चोटी यहाँ आउनु भएको थियो। हामीलाई साह्रै माया गर्ने राजेश मिथुन जस्तो लाग्थ्यो। १५ दिन जति यहाँ सुटिङ भयो। जाने बेलामा मैले सम्पर्क नम्बर मागेँ। पछि फोन गरेर तपाईंलाई दाइ बनाउँछु भन्दा सजिलै मान्नुभयो,’ मैनाले राजेशसँगको सम्बन्ध खोलिन्,’त्यो बर्षदेखि हरेक जन्मदिन र भाइटीकामा उहाँ यता आउने गर्नु भएको छ। आफ्नै दाइले भन्दा पनि धेरै ख्याल गर्नुहुन्छ राजेश दाइले।’ राजेशले एक महिना अघि आफैँले रोजेको ह्वील चेयर किनिदिएको उनले बताईन्।
‘केही समस्या परे भन भन्नुहुन्छ। विरामी भएको थाहा पाएपछि भेट्न आइहाल्नु हुन्छ,’ राजेशप्रति उनको एउटै गुनासो छ,’छिटै विहे गरे हुन्थ्यो।’ राजेश भने अझै दुई/तीन वटा जन्मदिन नमनाई विवाह गर्ने पक्षमा देखिएनन्। मैनाको आग्रह सुनेपछि उनले भने,’अब चाहिँ जीवनमा कसैको सहारा महसुस गर्न थालेको छु।’ यस पटक पनि उनले भनेजस्तो केटी नभेटेको बाहना सुनाए। ‘केटी र घोडा उस्तै रहेछ। नयाँ भेटेपछि त्यसलाई बुझ्न र सिक्न उत्तिकै समय लाग्ने। बुझ्ने प्रयास गर्दा गर्दै समय बित्यो।’
विवाह जस्तै उमेर पनि रहस्यमा राख्ने प्रयास गर्छन् राजेश। ‘जिन्दगी छोटो छ। जवानी झन् छोटो छ। यसलाई तन्काउने प्रयास गर्नुपर्छ। तैपनि एकदिन त चुँडिहाल्छ। म जवानी लम्ब्याउने प्रयासमा छु,’ घुमाउरो कुरा गरेर उमेर छल्न खोजेपनि यस पटक उनी उम्कन सकेनन्। निकै बेरपछि बोले,’अबको तीन बर्षमा आधा शताब्दीको हुन्छु।’


No comments:
Post a Comment