इलाम, साउन २६ (नागरिक)- बिहीबार हुने इलाम कांग्रेसको अधिवेशनमा तीन धारले नेतृत्व दाबी गरेका छन्। कार्यवाहक सभापति सुशील कोइरालानिकटका सहसभापति हिमालय कर्माचार्य, वरिष्ठ नेता शेरबहादुर देउवानिकटका सभापति केशव थापा र कुलबहादुर गुरुङनिकट भेषराज आचार्यले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
अलग-अलग खेमाका भनेर चिनिएका तीनैजनाले आफूलाई साझा उम्मेदवार बताएका छन्।
सहमतिको सम्भावना नरहेकाले मतदानबाटै सभापति चयन हुने जिल्ला नेताले बताएका छन्। ‘व्यक्तिमा होइन, कार्यक्रममा सहमति हुनुपर्यो तर त्यो सम्भावना देखिएको छैन,' सभापतिका प्रत्यासी आचार्यले भने।
गाउँ अधिवेशनमा देउवा खेमा कमजोर देखिएकाले कर्माचार्य र आचार्यबीच मुख्य प्रतिस्पर्धा हुने कार्यकर्ताको अनुमान छ।
सचिवमा देउवानिकटका होम दुलाल, गुरुङनिकटका खगेन्द्र देवान र पुण्य सिवाकोटीले दाबी गरिरहेका छन्। देवान र सिवाकोटी एउटै खेमाका भएकाले अधिवेशनअघि सहमतिको कसरत भइरहेको कार्यकर्ताले बताएका छन्। कोषाध्यक्षमा ज्ञानीप्रसाद सिवाकोटी, डम्बर खड्का, श्याम खड्गी, बुद्ध राई, राजकुमार भक्तराजलगायतले उम्मेदवारी दिने चर्चा भए पनि सहमतिको कसरत भइरहेको छ।
बिहीबार सदरमुकाममा हुने अधिवेशनमा जिल्लाका पाँच सय ६२ प्रतिनिधिले भाग लिनेछन्।
देउवाकै वर्चस्व
डडेल्धुरा- केन्द्रीय सभापतिका प्रत्यासी वरिष्ठ नेता शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसको पाँचौँ जिल्ला अधिवेशन मंगलबार सुरु भएको छ।
एकै निर्वाचनक्षेत्र रहेको डडेल्धुरामा खुला र समावेशी गरी १२ महाधिवेशन प्रतिनिधि पदमा ४० बढी मैदानमा छन्। खुला प्रतिस्पर्धाको ७ सिटमा मात्रै तीन दर्जन बढी दाबेदार छन् भने समानुपातिकतर्फ पनि डेढ दर्जन बढीले उम्मेदवारी दिने बताएका छन्। देउवाको एक्लो प्रभावक्षेत्र डडेल्धुरामा सक्रिय अधिकांश नेता खुलातर्फ प्रत्यासी बनेका छन्।
जिल्ला सभापति पदका लागि पनि महाधिवेशन प्रतिनिधि जित्नैपर्ने वैधानिक प्रावधानले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका पनि प्रतिनिधिमा उम्मेदवार बनेका छन्। सभापतिमा आधा दर्जन बढी नेताले दाबी गरिरहेकाले महाधिवेशन प्रतिनिधिको उम्मेदवारी अझ बढ्न सक्छ।
दुई कांग्रेस एकतापछि जिल्लामा सक्रिय सबै नेता देउवाकै पक्षमा रहेकाले सभापतिका दाबेदार सबै उनकै पक्षधर हुन्। खुला निर्वाचनतर्फ महाधिवेशन प्रतिनिधिमा कांग्रेस डडेल्धुराका सभापति रघुवर भट्ट, महासमिति सदस्य गोविन्द बोहोरा, सहसभापति शेरबहादुर ढाँट, उपसभापतित्रय गणेशराज भट्ट, धर्मानन्द भट्ट र कैलाशकुमार पाण्डेयले उम्मेदवारी दिएका छन्।
यसैगरी, पूर्वसांसद हिरादत्त भट्ट, पूर्वजिविस सदस्य पदम विष्ट, तारिसिंह बोहरालगायत पुराना अनुहारसहित नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्याक्ष नैनसिंह महर, त्रिवि स्ववियुका पूर्वसभापति लोकराज भट्ट, नेपाल प्राध्यापक संघका पूर्वमहासचिव पीआर पन्त, कर्णबहादुर मल्ल, हरिप्रसाद भट्टलगायतले सभापतिमा उठ्न महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने तयारी गरेका छन्।
समावेशीतर्फ महिला कोटामा देउवापत्नी, सभासद आरजु देउवा, महिला संघकी पूर्व जिल्लाअध्यक्ष नारुदेवी ओझा, संघकी वर्तमान अध्यक्ष मानकुमारी थापा, नेविसंघ पद्मकन्या क्याम्पस इकाइ सभापति कौशिला भट्ट, मष्टमाडौं गाविसका पूर्वउपाध्यक्ष कमलादेवी ठगुन्नालगायत प्रतिस्पर्धा गर्दैछन्। दलिततर्फ नरभान कामी, भरत नेपाली, अल्पसंख्यक अपांगतर्फ जिल्ला सचिव हेमराज चटौत, सुरेन्द्र माली, नाई संघका अध्यक्ष सियाशरण ठाकुरलगायतले उम्मेदवारी दिने भएका छन्।
जनजातितर्फ भने निर्माण व्यवसायी संघका अध्यक्ष लोकेन्द्र गुरुङ उम्मेदवारका रूपमा देखिएका छन्।
युवामै टक्कर
चितवन- चितवन कांग्रेसमा यसपटक ४० वर्षमुनिका युवाबीच टक्कर हुने देखिएको छ। सभापतिमा केही पाकाले उम्मेदवारी घोषणा गरे पनि अन्य पदमा सबै युवा उम्मेदवार छन्। यहाँ बुधबार (आज) जिल्ला अधिवेशन हुँदैछ। जिल्ला नेतृत्वको चुनावमा खेमा नछुट्टिने भएको छ। स्थानीय र क्षेत्रीय निर्वाचनमा पराजय भोग्नुपरेपछि देउवा पक्षका नेता पछि हटेका छन्।
४० वर्षमुनिका सभापति उम्मेदार विकास कोइराला सभापतिको प्रतिस्पर्धामा छन्। सभापतिमा हालका सभापति रामकृष्ण घिमिरे, विजय भुषाल, भीमप्रसाद थपलिया, तीर्थ भुषाल र सुशीला उप्रेतीले प्रतिस्पर्धा गर्दैछन्। सहसचिवमा विष्णु ढकाल र भरत खनाल, कोषाध्यक्षमा सीता सापकोटा र सुरवीर पोखरेलले उम्मेदवारी दिँदैछन्। ५८० प्रतिनिधिले जिल्ला नेतृत्व चयनमा मतदान गर्नेछन्।
सभापतिका दुई प्रत्यासी
सुर्खेत- सुर्खेत कांग्रेस सभापतिमा दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ। पहिले नै उम्मेदवारी घोषणा गरेका हालका सभापति तप्तबहादुर विष्टसँग कालीप्रसाद शाक्यले होड गर्दैछन्। शाक्यले मंगलबार पार्टी कार्यालयमा उम्मेदवारी घोषणा गरेका छन्।
युवा नेता विष्टलाई हृदयराम थानी र शाक्यलाई सहसभापति डम्बरबहादुर जिसीले प्रस्ताव गरेका हुन्।
Tuesday, August 10, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment