डम्बरसिं राई, खोटाङ, श्रावण २४ २०६७ ०८:१६ - बढी खर्च लाग्ने डरले हवाईजहाजको सट्टा गाडीमा हुइँकिनेहरू धेरै छन् । खोटाङवासीका हकमा भने गाडीको भन्दा हवाईजहाजको यात्रा सस्तो पर्छ भन्दा
अनौठो लाग्न सक्छ । तर वास्तविकता यही हो । राजधानी, क्षेत्रीय कार्यालय वा अञ्चल कार्यालय जानुपर्यो भने खोटाङवासी हवाई यात्रै रोज्छन् ।
जिल्लाको तीन विमानस्थलमध्ये लामिडाँडाबाट काठमाडौं पुग्न नेपाल वायुसेवा निगमको जहाजमा २ हजार २ सय सय रुपैयाँ लाग्छ । त्यस्तै सीता एयरको जहाजमा २ हजार ३ सय रुपैयाँ लाग्छ । दुवै जहाजबाट ३० मिनेटमा काठमाडौं पुगिन्छ । विराटनगर जानुपरे १ हजार ४ सय ९५ तिरेपछि २५ मिनेटमा पुगिन्छ ।
अर्को पुरानो सदरमुकाम खोटाङ बजार नजिक रहेको थामखर्क विमानस्थलबाट विराटनगरका लागि १ हजार ३ सय २५ रुपैयाँ र काठमाडौंका लागि २ हजार ३ सय ६५ रुपैयाँ जहाज भाडा लाग्ने गरेको नेपाल नागरिक उड्डयान प्राधिकरणका कर्मचारी तथा स्टेसन म्यानेजर नरेन्द्र उदासले बताए । सदरमुकामसँगैको मनमाया राई विमानस्थलमा भने टावर कर्मचारी नआउँदा बैशाख १ देखि उडान रोकिएको छ ।
काठमाडांैबाट आउँदा भने ब्ल्याकमा टिकट किन्नुपर्ने बाध्यता छ । काठमाडांैबाट आउँदा एउटा टिकटको चारदेखि छ हजारसम्म तिर्नुपर्ने अवस्था छ । स्थलमार्गमा बस चढेर काठमाडौं जानुपर्यो भने ४ हजार रुपैयाँजति लाग्छ । त्यसबाहेक बाटो खर्च र समयको हिसाबले तीन दिन समय लाग्छ ।
यातायात व्यवसायी संघका अध्यक्ष गोपी उदासका अनुसार दिक्तेल-भोजपुर ६ सय, भोजपुर-लेगुवा ६ सय, लेगुवा-धरान २ सय ५० र धरान-काठमाडौं ७ सय र अन्य खर्च गरी काठमाडौं पुग्दा ४ हजारभन्दा बढी खर्च लाग्छ । दिक्तेलदेखि ३ सय किलोमिटर छिचोलेर विराटनगर पुग्दा जहाजको तुलनामा कम खर्च लाग्छ । जहाजमा लाग्नेभन्दा करिब हजार रुपैयाँ बढी खर्च लाग्छ ।
'क्षेत्रीय कार्यालय धनकुटा र अञ्चल कार्यालय सप्तरी पुग्नुपर्यो भने पनि त्यसै अनुपातमा खर्च र समय लाग्ने भएकाले समस्या भएको छ,' प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले भने । दिक्तेल-जयराम-घुर्मी-कटारी हुँदै विराटनगर वा अन्य कुनै ठाउँ जानुपरे उही अनुपातमा गाडी भाडा र समय लाग्ने भएकाले यहाँका स्थानीयवासी हवाईमार्ग रोज्छन् ।
'औषधि, बीउलगायत पनि जहाजबाटै ल्याउँछौं, सजिलो र छिटो हुन्छ,' बजिमय एग्रोभेटका प्रोप्राइटर राजु बजिमयले भने । दबाबमा वा घूसका कारण जहाजमा काम गर्ने लोडर तथा कर्मचारीले यात्रुका सामान कम लिने र व्यापारीको सामान बोक्ने गरेको गुनासो गरेका छन् ।
जयराम-घुर्मी-कटारी सडक खण्डमा सिन्डिकेटका कारण सामान लोडअनलोड गर्नुपर्ने भएकाले समस्या भएको छ । यस सडकखण्डमा सिन्डिकेट लगाइएकाले सामानको भाउ बढेको खोटाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष उपीनकुमार राईले बताए । उपाध्यक्ष राईका अनुसार यस सडकमा जयराम-घुर्मी, घुर्मी- कटारी र कटारी-लहान गरी तीन ठाउँमा सिन्डिकेट लगाइएको छ ।तीनै ठाउँमा सामान लोड/अनलोड गर्दा प्रतिकेजी ५ रुपैयाँभन्दा बढी रकम तिर्नुपर्छ । (ekantipur)


No comments:
Post a Comment