केदार ओझा
काठमाडौ, श्रावण २५ - त्रिभुवन विमानस्थल प्रहरीले सोमबार एक अपांग पाकिस्तानी नागरिकबाट नक्कली भारु मुद्रा बरामद गरेको छ ।
पक्राउ पर्ने 'सी ८९६८०११' राहदानी बहाक पाकिस्थानको कराँची निवासी ५० वर्षका महोम्मद फारुक हुन् । विमानस्थल प्रहरीले बरामद रकम २५ लाखभन्दा बढी भएको बताएको छ । अभियुक्त फारुकले ब्यागेजमा ल्याएको हि्वल चेयर र साथैमा ल्याएका सुटकेसबाट प्रहरीले ती रकम बरामद गरेको हो । बरामद हजार र पाँच सय दरका नोटहरू छन् ।
विमानस्थल प्रहरी प्रमुख रमेशशेखर बज्राचार्य भन्छन्, 'पाकिस्तानी जहाजको नियमित उडानबाट काठमाडौं आएका ती अपांग यात्रुलाई विमानस्थल प्रहरीले ब्यागेजबाट आएको हि्वल चेयरमा बस्न लाग्दा शंका लागी जाँच गर्ने क्रममा ती नोट बरामद भएको थियो ।' उड्डयन प्राधिकरणले अपांग पाकिस्तानी नागरिकलाई जहाजमै हि्वल चेयर लगी ल्याएको थियो । तर शंकास्पद तवरले हि्वल चेयर परिवर्तन गरेपछि प्रहरीको आँखा उनीमाथि परेको थियो । शंका लागेपछि अभियुक्त फारकलाई पुरानै हि्वल चेयरमा राखी प्रहरीले ब्यागेजमा आएको हि्वल चेयरलाई एक्सरेमा हालेका थिए । एक्सरेमा जाँच गर्दा गद्दाभित्र नोटका बन्डलहरू देखिएलगत्तै प्रहरीले फारुकलाई थप अनुसन्धानका लागि पुनः माथिल्लो तथास्थित प्रहरीको अनुसन्धान कक्षमा लगेको थियो ।
केही लाख हि्वल चेयरको बस्ने गद्दाभित्र र केही बि्रफकेसमा अल्मुनियमको फल्स बटम बनाई लुकाइरहेको अवस्थामा भेटिएका थिए । फारुकको यो पहिलो काठमाडौं आगमन होइन । बरामद राहदानीमा उनले यसअघि पनि काठमाडौं र बंगलादेश आवतजावत गरेको देखिन्छ । बरामद नोट र फारुकलाई काठमाडौं प्रहरी परिसमा पठाइएको छ । विमानस्थल प्रहरीले यस वर्षमात्रै पटकपटक गरेर भारु एक करोडभन्दा बढी नक्कली हजार र पाँच सय दरका नोट बरामद गरिसकेको छ । (ekantipur)
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment