टंक पन्त, (काठमाडौं), चौथोपटक प्रधानमन्त्री पदमा पराजय भोग्नुपरेपछि संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी ले सहमतिका लागि मार्गप्रशस्त गर्न आवश्यक देखिएको भन्दै प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता गर्न नेपाली कांग्रेससमक्ष प्रस्ताव गरेको छ।
माओवादीको उक्त प्रस्तावप्रति नेपाली कांग्रेसले भने असहमति जनाएको छ। माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेसबाट संसदीय दलका नेता रामचन्द्र पौडेल प्रधानमन्त्री पदका प्रत्याशी हुनुहुन्छ र उहाँहरु दुवै जना चार÷चारपटक पराजित भइसक्नुभएको छ।
चारपटक पराजित भइसकेपछि जनतामा दलहरुप्रति नकारात्मक धारणा बन्दै गएको र संसदीय वितृष्णा बढ्न थालेको भन्दै माओवादी अध्यक्ष एवम् प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डले सहमतिका लागि आफ्नो पार्टी उम्मेदवारी फिर्ता गर्न तयार रहेको जानकारी गराउनुभएको थियो। माओवादी र कांग्रेसका शीर्ष नेताहरुको सोमबार िसंहदरबारमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले माओवादीका तर्फबाट तीनवटा विकल्प राख्नुभएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभयो।
संविधानसभाको सबैभन्दा ठूलो दलको हैसियतले माओवादीका उम्मेदवारलाई कांग्रेसले पनि सघाउनुपर्ने त्यसो हुन नसके विगतमा भएका ६ बुँदे र ३ बुँदे सहमति कार्यान्वयन गरी प्रचण्डको नेतृत्वमा सहमतिको सरकार निर्माण गर्ने र त्यो पनि स्वीकार्य नभए कांग्रेस र माओवादीका दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता गरी सहमतिको सरकार निर्माण गर्न नयाँ प्रक्रिया थालौं भन्ने माओवादीका तर्फबाट बैठकमा प्रस्ताव राखिएको थियो।
नेपाली कांग्रेसले भने शान्ति र संविधानका लागि आफ्नो पार्टीको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने र त्यसका लागि सबैको सहयोग आवश्यक भएको भन्दै माओवादीसमक्ष पनि सहयोगसहित सरकारमा नै सहभागी हुनुपर्ने धारणा राखेको पार्टी प्रवक्ता अर्जुननरसिह केसीले जानकारी गराउनुभयो।
प्रधानमन्त्रीको चुनाव प्रकरणले संसदीय मूल्य र मान्यतालाई गम्भीर प्रहार हुने गरी आर्थिक चलखेल एवम् विकृति विसंगति बढ्नुका साथै पार्टी विभाजित हुने स्थिति सम्म आएका बारेमा पनि बैठकमा छलफल भएको थियो। सो विषयमा नेपाली कांग्रेसले बढी जोड दिएको बताइएको छ। माओवादीको भोलि बुधबारदेखि प्रारम्भ हुने केन्द्रीय कमिटीको बैठकलाई समेत ध्यानमा राखेर पार्टी अध्यक्ष प्रचण्डले सहमति हुन्छ भने आफ्नो पार्टी प्रधानमन्त्रीको उम्मेदवार फिर्ता गर्न पनि तयार रहेको कुरा अन्य पार्टीसमक्ष राख्न थाल्नुभएको बुझिएको छ।
चारचार पटकसम्म पराजित हुँदा पनि बहुमतकै लागि अग्रसर भइरहनु पार्टीको प्रतिष्ठा र हितविपरीत भएको आवाज केन्द्रीय कमिटीमा उठाउने तयारी भइरहेको कारण पनि अध्यक्ष प्रचण्डले सो धारणा बनाउनुभएको बुझिएको छ।
माओवादी पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले आगामी केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री पदमा चार/चारपटक पराजित हुनु परेको अवस्थाका बारेमा समीक्षा हुने र अन्य विकल्पका बारेमा पनि निर्णय हुन सक्ने संकेत गर्नुभएको छ। उहाँले सोमबार रिपोटस्र क्लबमा बोल्दै प्रचण्डको पक्षमा सहमति हुन नसके उपाध्यक्ष डा. बाबुराम भट्टराईको पक्षमा सहमति हुने सम्भावना देखिएमा पार्टीले सहमतिको उम्मेदवारलाई नयाँ प्रक्रियाद्वारा अगाडि बढाउने पहल गर्ने जानकारी गराउनुभएको छ।
सबै क्षेत्रबाट नेता भट्टराईको नाममा सहमति हुन्छ भन्ने धारणा जबरजस्त रुपमा बाहिर आएकाले पार्टीले पनि उहाँका पक्षमा किन निर्णय नगर्ने ? -नेता पौडेलले प्रश्न गर्नुभयो। जनताले नेता भट्टराईलाई प्रधानमन्त्री बनाउन चाहेकोतर्फ पार्टीको ध्यानाकर्षण हुने नै छ भन्दै नेता पौडेलले आफूहरुको प्रयत्न अध्यक्ष प्रचण्डका लागि नै हुन्छ तर नहुने स्थिति देखिएपछि विकल्पमा जानैपर्छ भन्नुभयो। (nepalsamacharpatra)
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment