Friday, August 13, 2010

ओली-खनाल आरोप प्रत्यारोप

काठमाडौं, साउन २९ (नागरिक) -प्रधानमन्त्री निर्वाचनमा तटस्थ बस्ने पार्टी निर्णयलाई लिएर एमालेका शीर्ष नेताबीच बढिरहेको आन्तरिक मतभेद सतहमै देखिएको छ। शुक्रबार काठमाडौं जिल्ला कमिटीले पार्टी
मुख्यालय बल्खुमा गरेको कार्यकर्ता भेलामा अध्यक्ष झलनाथ खनाल र स्थायी कमिटी सदस्य केपी शर्मा ओली आरोप प्रत्यारोपमै उत्रिए।
कार्यक्रममा ओलीले प्रधानमन्त्रीको निर्वाचनमा माओवादी उम्मेदवारलाई कुनै हालतमा जित्न नदिने बताए। 'एक सय एक पटक निर्वाचन भए पनि माओवादीलाई जित्न दिँदैनौं,' उनले भने, 'हतियार नत्यागेसम्म माओवादीको नेतृत्वमा सरकार बन्न सक्दैन।' सरकारको नेतृत्व गर्न माओवादीले सेना र हतियार छाड्नुपर्ने ओलीको भनाइ थियो। 'उनीहरूको हंस कुर्सीमा नै बसेको हो भने हतियार र सेना छाड्नुपर्छ,' माओवादी अध्यक्ष पुष्पकमल दाहालको नामै किटेर ओलीले भने।
प्रधानमन्त्री निर्वाचनमा तटस्थ बस्ने भनेर पार्टीले गरेको निर्णयप्रति पनि ओलीले असन्तुष्टी जनाए। 'केन्द्रीय कमिटीको अघिल्लो बैठकले सधैंभरि तटस्थ बस्ने निर्णय गरेको होइन,' उनले भने। माओवादीलाई सरकारमा जानबाट रोक्न पनि एमालेले आफ्नो तटस्थता तोड्नुपर्ने ओलीको भनाइ थियो।
एमाले तटस्थ बस्दा माओवादीबाहेक अरूको नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना नभएको बताउँदै ओलीले भने, 'माओवादीलाई सरकारमा जानबाट रोक्न र कांग्रेसलाई बाटो छेकेको भन्ने आरेपबाट बच्न पनि एमालेले विकल्प सोच्नुपर्ने बेला आएको छ।' एमाले तटस्थ बस्दा अन्य दलमा चलखेल गरेर माओवादीले बहुमतीय सरकारको नेतृत्व लिन सक्नेतर्फ ओलीको संकेत थियो।
'प्रधानमन्त्रीलाई आजै राजीनामा गर, भोलि नै राजीनामा गर भन्नेहरू यतिका दिन बित्दा कहाँ गए?' ओलीले अध्यक्ष खनालप्रति संकेत गर्दै भने। उनले माओवादी अध्यक्ष दाहालको कटाक्ष गर्न भुलेनन्। 'श्याम शरणलाई आफैंले बोलाउने, अनि आफू अनुकूल नभएपछि नानाथरी कुरा गर्दै हिँड्ने? यो राजनीतिमा सुहाउने कुरो होइन,' ओलीले भने।
आफूमाथि पार्टीभित्रैबाट मदन भण्डारी फाउन्डेसन स्थापना गरी भारतबाट पैसा लिएको भन्ने आरोप लाग्दै आएको भन्दै ओलीले त्यो आरोप पुष्टि गर्न चुनौती दिए। 'बाटोमा कराउँदै हिँडेर केही हुँदैन, त्यो आरोप पुष्टि गरेर देखाउनुहोस्,' उनले संस्थापनप्रति संकेत गर्दै भने, 'मदन भण्डारीको विचार नै मन नपरेको हो भने खुलस्त भन्न सक्नुपर्‍यो, जुनसुकै कुरामा पनि छलफल गर्न तयार छु।'

पार्टीभित्र गुटको विवाद भनेर प्रचार गरिएपनि यो विचार र सिद्धान्तबीचको विवाद भएको ओलीको भनाइ थियो। 'पार्टीमा विचार र सिद्धान्तका विषयमा विवाद हुने गरेको छ,' ओलीले भने, 'तर म पार्टीलाई सिद्धान्त र विचारबाट विचलित हुन दिन्नँ।'
ओलीको आरोपलाई अध्यक्ष खनालले सोही मञ्चबाट खण्डन गरे। पार्टीको आठौं महाधिवेशनको भावना र मर्म नबुझेर पार्टीभित्र विवाद खडा गरिएको उनले बताए। 'पार्टीभित्र जसले विवाद खडा गरेका छन् उनीहरूले आठौं महाधिवेशनको मर्म र भावना बुझ्न सकेका छैनन्,' अध्यक्ष खनालले भने। पार्टीको बैठकभित्र एउटा निर्णय गर्ने र बाहिर अर्कै बोल्ने प्रवृति देखिएको बताउँदै खनालले भने, 'यस्ता प्रवृतिको अन्त्य छिट्टै हुनुपर्छ।'
एमालेलाई सत्तामोह नभएको बताउँदै अध्यक्ष खनालले भने, 'हाम्रो पार्टी कुर्सी प्राप्त गर्न वा कसैलाई कुर्सी दिलाउनमात्रै लाग्दैन, राष्ट्रिय समस्याको समाधानमा लाग्छ।' तर, एमालेलाई कुनै पार्टी विशेषको पुच्छर बनाउने खेल भइरहेको उनले बताए।
'हाम्रो पार्टी कांग्रेस र माओवादी दुवैको पुच्छर हुन सक्दैन,' उनले भने। पार्टीमा आन्तरिक विवादमात्रै होइन, विभाजनको खेलसमेत भएकोतर्फ संकेत गर्दै उनले भने, 'पार्टीलाई कुनै हालतमा फुटाउन दिन्नँ।'

No comments:

Post a Comment