Friday, August 13, 2010

कुबेत गएका अधिकांशको किर्ते प्रहरी रिपोर्ट

लोकमणि राई, काठमाडौ, श्रावण २९ - वैदेशिक रोजगारका लागि कुबेत गएका ९२ प्रतिशत नेपालीका प्रहरी रिपोर्ट नक्कली रहेको खुलेको छ । कुबेतका लागि नेपाली राजदूत मधुवन पौडेलले करिब ३ साताअगाडि छानबिनका लागि पठाएकामध्ये ९२ प्रतिशत रिपोर्ट नक्कली भएको प्रहरी छानबिनले देखाएको हो ।

दिल्ली र नेपालबाट अपराधिक गिरोहले बनाउने ती रिपोर्टमा लेटर हेड, छाप र हस्ताक्षर नक्कली छन् । प्रहरी रिपोर्टमा परराष्ट्रले हान्ने छाप र हस्ताक्षरसमेत नक्कली छन् । वैदेशिक रोजगारिका लागि जाने मानिसले प्रहरीको चालचलन शाखाबाट 'पुलिस क्लिअरेन्स रिपोर्ट' लिनुपर्छ । उक्त रिपोर्ट परराष्ट्रले प्रमाणित गर्नुपर्छ ।
नक्कली कागजातका आधारमा दुवई, सारजहाँ र कतारसम्मको भिसा लिएर गैरकानुनी रूपमा नेपाली पुगेको कुबेती कम्पनीको उजुरीपछि राजदूत पौडेलले ७७ प्रहरी रिपोर्टसहितका कागजात छानबिनका लागि नेपाल पठाएका थिए । त्यसमध्ये ७१ रिपोर्ट र त्यसमा परराष्ट्रले हानेको करिब आधा छाप नक्कली भएको प्रहरीको चालचलन शाखाको अनुसन्धानले देखाएको छ ।

प्रहरी र परराष्ट्रको नक्कली छाप, लेटर हेड र हस्ताक्षर प्रयोग गरी किर्ते कागजात बनाउने गिरोह दिल्लीसम्म रहेको र यसमा बंगलादेशी नागरिकसमेत संलग्न भएको प्रहरीले जनाएको छ । '७७ मध्ये ७१ वटा प्रहरी रिपोर्ट किर्ते पायौं,' प्रहरी प्रवक्ता यादव खनालले कान्तिपुरलाई भने ।
प्रहरीले पीडितको उजुरीका आधारमा त्यस्ता रिपोर्ट बनाउने दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । हनुमानढोका प्रहरी परिसरमा रहेका ती दुई जना फारुक अहमद र देवेन्द्र लुइँटेल हुन् । फारुक बंगलादेशी नागरिक भएको प्रहरीले जनाएको छ । बाबु लामा र सुमन थापा नामका दुई व्यक्तिले दिल्लीबाट नक्कली रिपोर्ट बनाउने गरेको पीडितसँगको सोधपुछका आधारमा प्रहरीले पत्ता लगाएको छ । उनीहरूले एक हजार पाँचदेखि दुई हजार पाँच सय रुपैयाँसम्म लिएर रिपोर्ट बनाइदिने गरेको पीडितहरूले प्रहरीलाई बताएका छन् । त्यस्ता रिपोर्ट नक्कली भएको सर्वसाधारणलाई थाहा नहुने प्रहरीको भनाइ छ ।

ती रिपोर्टमा चालचलन शाखाका पूर्वप्रमुख दानसिंह बोहरा, गोपाल रायमाझी, वीरेन्द्रकुमार बस्याललगायतकाको नक्कली हस्ताक्षर भएको प्रहरीले फेला पारेको छ । रिपोर्टमा चालचलन शाखामा कहिल्यै प्रमुख नभएका कुन्दन कँडेलको समेत हस्ताक्षर छ । (ekantipur)

No comments:

Post a Comment