Monday, August 9, 2010

३२ वायुसेवा कम्पनीको अत्तोपत्तो छैन

प्रकाश शाह,काठमाडौं, २४ साउन
पछिल्लो १८ वर्षको अवधिमा मुलुकमा ५७ वटा एयरलाइन्स कम्पनीहरू दर्ता भए पनि अहिले १२ वटामात्र सञ्चालनमा छन् । विसं २०४६ को राजनीतिक परिवर्तनपछि मुलुकमा हवाईसेवा सञ्चालनको क्रम ह्वात्तै बढे पनि अधिकांश एयरलाइन्सहरू प्रतिस्पर्धात्मक बजारमा टिक्न सकेनन् ।
हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो दुई दशकमा दर्ता भएका र उडान अनुमति प्राप्त गरेका मध्ये ३२ कम्पनीको अस्तित्व नै छैन भने पाँच एभिएसन स्पोर्टर्ससहित १७ कम्पनीले सेवा दिइरहेका छन् । यसरी हराएका ३२ कम्पनीमध्ये ३० वटाको उडान अनुमति प्राधिकरणले रद्द र खारेज गरिसकेको छ ।
प्राधिकरणको तथ्यांकअनुसार नेपालले निजी क्षेत्रका लागि हवाईसेवा खुला गरेपछि सबैभन्दा पहिले २०४८ सालमा एभरेस्ट एयर र नेपाल एयरवेजले उडान अनुमति पत्र (एओसी) प्राप्त गरेका थिए । त्यसपछि अल्पाइन, कस्मिक, गरुडलगायतले अनुमति लिएका थिए । सन् २००५ सम्ममा हिमचुली, फ्लाइङ ड्रगन, एसियन, नेकोन, बेस र नेपाल एयरलाइन्स प्राइभेटलगायतले अनुमति लिए पनि अधिकांश कम्पनीसँग वायुयान तथा कुनै पनि भौतिक पूर्वाधार छैन । लुम्बिनी, नेकोन, मुक्तिनाथ, इम्प्रो, कस्मिक, कर्णाली, एसियन, एभरेस्ट र नेपाल एयरवेजलगायतका कम्पनीले केही समय उडान सञ्चालन गरे पनि छिट्टै बन्द भएका थिए । कस्मिक, नेकोन, एयर नेपाल र फ्लाई यती डटकमजस्ता कम्पनीले अन्तर्राष्ट्रिय उडानसमेत भर्थे ।
२०४६ पछि खुला आकास र २०४८ को उदार हवाई नीतिपछि निजी वायुसेवा कम्पनीहरू थपिने क्रम बढेको हो । निजी कम्पनीले धमाधम उडान अनुमति लिन थालेपछि लामो समयसम्म एकछत्र राज गरेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एकाधिकार तोड्ने प्रतिस्पर्धा नै चल्यो । तर, सुरुवातका चरणमा उदाएका कम्पनी दिगो समयसम्म टिक्न सकेनन् । केही समय सेवा सञ्चालन गर्दै हराएका यस्ता कम्पनीको अचेल नामोनिसान भेटिदैन ।
वायुसेवाबारे जानकार सिम्रिक एयरका महाप्रबन्धक योगराज कँडेल वायुसेवा कम्पनी आउँदै हराउनुमा कमजोर व्यवस्थापनलाई नै प्रमुख कारण मान्छन् । “प्राधिकरणको उडान अनुमति लिन सजिलो छ, फाइदामात्र खोजेर न्यूनतम तीन वर्षसम्मको घाटा व्यवसायको जोखिम मोल्ने आन्तरिक योजना नहुँदा कम्पनी नै ध्वस्त भएर जाने रोग विद्यमान छ,” उनी भन्छन् ।
कँडेलका अनुसार राम्रो लगानी भए चलाउने, नभए हराएर जाने संस्कारका कारण एओसीप्राप्त कम्पनीमध्ये हाल २० प्रतिशतमात्र सञ्चालनमा छन् ।
गरुड, एरोन, हिमचुली, बेस, मेरोलगायतका कम्पनी वायुयान ल्याइनपु¥याउँदै हराएका हुन् । एक दशकअघि आन्तरिक उडानतर्फ अत्यन्त सफल मानिएको लुम्बिनी एयरवेजको पनि अहिले कुनै नामोनिसान छैन । आन्तरिक वायुसेवा गोरखा एयरलाइन्स आफ्ना १९ सिट क्षमताका दुई डोर्नियर जहाज डेढ वर्षअघि यती एयरलाइन्सलाई भाडामा दिएपछि जहाजविहीन छ ।
प्राधिकरणस्रोतका अनुसार पटक–पटक इजाजतपत्र नवीकरणको सार्वजनिक सूचना जारी गर्दासमेत यी कम्पनीले कुनै चासो देखाएका छैनन् । “वायुसेवा कम्पनीका नाममा न एउटा जहाज अथवा हेलिकप्टर छ, न त कुनै भौतिक पूर्वाधार नै, यस्ता कम्पनी हराएको नभनेर के भन्ने ?” प्राधिकरण एओसी शाखाका अधिकृत माधव दाहाल भन्छन् ।
उनका अनुसार उडान इजाजत लिई वर्षौंदेखि सञ्चालनमा नरहेका नौवटा कम्पनीको इजाजतपत्र नै खारेज गरी नवीकरण नगर्ने निर्णय भएको छ । गोरखा, कस्मिक, यती अन्तर्राष्ट्रिय, अल्पाइन, इम्प्रोलगायतका २६ कम्पनीको इजाजतपत्र रद्द भइसकेको छ ।
आन्तरिक उडानका लागि जहाज र हेलिकप्टर सेवा सञ्चालकले इजाजत लिन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १० लाख रुपैयाँ धरौटी राख्नुपर्छ । हवाई नीतिमा आन्तरिक सञ्चालकसँग तीन जहाज हुनुपर्ने र कम्तीमा एउटा जहाज दुर्गम क्षेत्रमा उडाउनुपर्ने उल्लेख छ । मन्त्रालयले इजाजत दिएपछि प्राधिकरणले अनुमति दिने र त्यसको छ महिनाभित्र एओसी लिनुपर्ने प्रावधान छ । एओसी लिएको एक वर्षभित्र जहाज ल्याएर सेवा सुरु नगरे मन्त्रालयले धरौटी जफत गरेर इजाजत रद्द गर्छ ।

एओसी खारेज भएका कम्पनी

वायुसेवा कम्पनी एओसी प्राप्त मिति सन्मा
एरोन एयर १९९९ (खारेज)
नेपाल ट्रान्सकन्टिनेन्टल १९९८ (खारेज)
गरुड एयर १९९८ (खारेज)
नेपाल एयरवेज १९९२ (खारेज)
हिमालयन हेलिकप्टर १९९६ (खारेज)
एभरेस्ट एयर १९९२ (खारेज)
ट्रान्सकन्टिनेन्टल १९९८ (खारेज)
एयर सांग्रिला २००४ (खारेज)
हिमचुली २००६ (खारेज)
गोरखा एयरलाइन्स १९९८ (रद्द)
कस्मिक एयर २००३ (रद्द)
यती एयरलाइन्स अन्तर्राष्ट्रिय २००७ (रद्द)
अल्पाइन एयर १९९८ (रद्द)
इम्प्रो एयरवेज २००५ (रद्द)
एयर नेपाल अन्तर्राष्ट्रिय २००८ (रद्द)
कर्णाली एयर सर्भिस १९९७ (रद्द)
सांग्रिला एयर १९९९ (रद्द)
स्काइलाइन एयरवेज १९९९ (रद्द)
फ्लाइङ ड्रगन २००५ (रद्द)
बेस एयर २००५ (रद्द)
नेपाल एयरलाइन्स प्राइभेट २००५ (रद्द)
मेरो एयर २००५ (रद्द)
बेलुन सनराइज १९९६ (रद्द)
एसियन एयरलाइन्स १९९६ (रद्द)
नेकोन एयर १९९६ (रद्द)
माउन्टेन एयर १९९८ (रद्द)
मनकामना एयरवेज १९९६ (रद्द)
डायनास्टी एभियसन १९९६ (रद्द)
फ्लाइट केयर एभियसन १९९८ (रद्द)
लुम्बिनी एयरवेज १९९६ (रद्द)
मनाङ एयर २००१ उडान बन्द
मुक्तिनाथ एयर २००९ उडान बन्द

स्रोतः नागरिक उड्डयन प्राधिकरण (karobar)

No comments:

Post a Comment