म्यानपावरलाई कारबाही गर्न सिफारिस
होम कार्की
काठमाडौं, श्रावण २७ - काठमाडौंस्थित शिवाकोटी म्यानपावरले साउदी अरेबियास्थित नेपाली दूतावासको छाप र अधिकृतको हस्ताक्षर किर्ते र फर्जी कागजात बनाई एक सय कामदार लैजान लागेको रहस्य खुलेको छ । उसले साउदीस्थित फेजल एम क्वान्टी सन्स् कम्पनीलाई कामदार पठाउन लागेको थियो ।
वैदेशिक रोजगार विभागमा कामदार लैजान पूर्वस्वीकतिका लागि पेस गरेको कामदारको मागपत्र नक्कली भएको रहस्य खुलेको हो । विभागमा उसले साउदी दूतावासबाट मागपत्र प्रमाणित भएको भन्दै पेस गरेको थियो । दूतावासले 'मागपत्रमा उल्लेख भएको छाप र अधिकृतको हस्तक्षर नक्कली' भएको भन्दै विभागलाई पत्र पठाएको छ ।
विभागले उक्त मागपत्रको बारेमा बुझ्न दूतावासलाई सोमबार पत्र पठाएको थियो । दूतावासले फर्जी काम गर्ने र दूतावासको छाप र प्रथम सचिवको हस्ताक्षर किर्ते गर्ने म्यानपावरलाई कडा कारबाही गर्नसमेत सिफारिस गरेको छ ।
विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाको अनुसार अपराधको स्थिति हेरी कारबाही गरिने बताए । "अहिले अनुसन्धान भइरहेको छ," उनले भने, "अनुसन्धान पूरा भएपछि आवश्यक कारबाही गरिनेछ ।"
विभागले मागपत्रको आधारमा स्वीकृति दिँदा विशेष ध्यान दिन थालिएको उनले बताए । मागपत्रमा दुई भाषा प्रयोग गरिएको छ । अंगेजीमा शिवाकोटी म्यानपावरलाई कामदार ल्याउने अख्तियारी दिएको छ भने अरबीमा मनास्लु म्यानपावरलाई अधिकार दिइएको छ । झन्डै एक वर्षअघि भोजपुरका उत्तम कटुवालले संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली दूतावासका तत्कालीन सचिव प्रकाशमणि पौडेलको किर्ते हस्ताक्षर र दूतावासको छाप प्रयोग गरी एक सय जना व्यक्तिसँग एक करोड २५ लाख रुपैयाँ उठाएर फरार भएका थिए । (ekantipur)
Wednesday, August 11, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment