२७ साउन, ओखलढुङ्गा । ओखलढुङ्गाको खिजिचण्डेस्वरी गाविसमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । खिजिचण्डेस्वरी गाविस-१ मा रहेको भिमा सुनुवारको तीन तले घर पहिरोले बगाउँदा उहाँका श्रीमान् ४८ वर्षीय ईन्द्रबहादुर र छोरीहरु १२ वर्षीया रमिला र २ वर्षीया रेश्माको मृत्यु भएको हो । भीमा र उहाँका ६ वर्षीय छोरा नविन भने भागेर बाँच्न सफल हुनु भएको छ ।
हिँजो बेलुका ७ बजे खसेको पहिरोमा पुरिएका तीनै जनालाई नेपाली सेनाको नयाँ सबुत गणको सैनिक टोलि र स्थानीयले आज विहान मृत फेला पारेको स्थानीय चन्द्रकान्त सुनुवारले जानकारी दिनुभयो । पहिरोमा श्रीमान्सहित दुई छोरी गुमाएपछि बेहोस भएकी भिमा र ज्यान जोगाउन भाग्ने क्रममा घाइते भएका उहाँका छोरा नविनको खिजिचण्डेस्वरी स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।
घटनास्थल सदरमुकाम ओखलढुङ्गाबाट १६ कोष उत्तरपश्चिममा पर्दछ । ओखलढुङ्गाका प्रहरी प्रमुख, प्रहरी नावय उपरीक्षक रामकृपाल शाहले घटनाबारे ढिलो जानकारी पाकाले आज विहान मात्रै प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।
एम्बुलेन्स दुर्घटनामा तीन जनाको मृत्यु
यसैबीच गोर्खाबाट विरामी लिएर पोखरा जाँदै गरेको एम्बुलेन्स गोरखा नगरपालिका-६ स्थित खोलखोलेमा गएराति दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य चार जना गम्भीर घाइते भएका छन् ।
बुङ्कोट गाविसस्थित उपस्वास्थ्य चौकीको ग १ च ५५१३ नम्बरको एम्बुलेन्स गएराति बाह्र बजे दुर्घटना हुँदा फुजेल गाविस-९ का ५५ वर्षीय गोपीलाल श्रेष्ठ, बुङ्कोट १ का ४५ वर्षीय लीलाबहादुर श्रेष्ठ र बुङ्कोट-६ छापथोकका ३५ वर्षीय प्रेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
दुर्घटनामा पोखरा पार्दीका ३० वर्षीय विष्णु श्रेष्ठ, बुङ्कोट ९ का ३० वर्षीय विष्णुकुमार श्रेष्ठ, चालक बुङ्कोट १ का ३० वर्षीय राजु श्रेष्ठ र बुङ्कोट १ कै ५३ वर्षीय मानबहादुर श्रेष्ठ घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनालाई पोखरा र दुई जनालाई काठमाडौं रिफर गरिएको छ ।
गएराति १२ बजे दुर्घटना भए पनि दुर्घटना पछि चालक होसमा आएर गाउँमा फोन गरेपछि आज विहान तीन बजे मात्र घटनाबारे थाहा भएको थियो । (onlinekhabar)
Wednesday, August 11, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment