Wednesday, April 28, 2010

राजधानीमा १६ हजार सुरक्षाकर्मी परिचालित हुने

१५ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीले आउँदो शनिबारदेखि सुरु गर्ने बृहत जनप्रदर्शन र त्यसपछिको अनिश्चितकालिन आमहड्ताल हिंसात्मक हुने भन्दै सरकारले काठमाडौं उपत्यकामा मात्रै १६ हजार प्रहरी परिचालनको तयारी गरेको छ । आन्दोलनको अनुगमन र सुरक्षाकर्मी परिचालनका लागि हेलिकप्टरको समेत आवश्यकता पर्ने निश्कर्षसहित निजी क्षेत्रका हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ ।

काठमाडौं उपत्यकामा मात्रै १२ हजार जनपद र चारहजार सशस्त्र प्रहरी परिचालन गर्ने तयारी गरिएको छ । विभिन्न जिल्लाहरुबाट प्रहरी फोर्स राजधानी भित्राउने क्रम जारी छ । प्रहरी उच्चस्रोतका अनुसार गएराति मात्रै दिपायल, नेपालगन्ज, बुटवल र विराटनगरबाट दुई-दुई सय र चितवनबाट पाँच सय गरी जम्मा १३ सय प्रहरी काठमाडौं भित्रयाइएको छ । स्रोतका अनुसार प्रदर्शन नियन्त्रको लागि अग्रपङ्तिमा जनपद प्रहरी, त्यसपछि सशस्त्र र दङ्गा प्रहरीलाई हतियारसहित खटाइने छ ।

सुरुमा पाँच हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने र माओवादीको रणनीति र आन्दोलनको प्रभाव मुल्यांकन गरी सुरक्षाकर्मीको संख्या बढाउँदै लैजाने गृहप्रशासनको तयारी छ ।

सिंहदरवार, संविधानसभा भवन आन्दोलनको केन्द्रविन्दू हुनसक्ने निष्कर्षसहित अन्य स्थानको तुलनामा नयाँबानेश्वर, बबरमहल, माइतीघर, पद्मोदय मोडलगायत स्थानमा बढी सुरक्षाकर्मी खटाइने छ । बालुवाटारस्थित प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवास, महाराजगन्जस्थित राष्ट्रपतिको कार्यालय शितल निवासलाई समेत संवेदनशिल सूचीमा राखिएको छ ।

आउँदो शनिबारदेखि सुरु हुने बृहत जनप्रदर्शनका लागि विभिन्न नाकाहरुबाट दैनिक २० हजारको संख्यामा माओवादी कार्यकर्ताहरु काठमाडौं भित्रिने क्रम जारी रहेको प्रहरीले जनाएको छ । (अनलाइनखबर )

No comments:

Post a Comment