Wednesday, April 28, 2010

नियम विपरीत गर्भपतन

मन्थली, वैशाख १४ - रामेछापका विभिन्न भागमा अवैध रूपमा गर्भपतन गराउने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको संख्या बढेको छ ।

स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लामा विभिन्न ४ स्थानमा मात्र गर्भपतन गराउन मिल्ने कानुनी मान्यता प्राप्त संस्था छन् । तर अधिकांश भागमा अवैध गर्भपतन हुँदै आएको स्रोतले बतायो ।

जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य सेवा केन्द्र मन्थली, प्राथमिक स्वास्थ्य सेवा केन्द्र खिम्ती र तामाकोसी सहकारी अस्पताल मन्थलीलाई मात्र गर्भपतन गराउन पाउने अधिकार रहेको कार्यालयले जनायो । गर्भपतन गराउन विशेष तालिम प्राप्त गरेका स्वास्थ्यकर्मी भएको संस्थामा मात्र यस्तो सेवा उपलब्ध हुन सक्ने कानुनी व्यवस्था छ ।

तालिम नलिएका स्वास्थ्यकर्मील्ो गर्भपतन गराउँदा महिलाको मृत्यु हुने डर हुन्छ । तर पनि अन्जानमा गर्भ रहेका कतिपय महिलाले सामाजिक तिरस्कारको डरले नजिकको स्वास्थ्यकर्मीसँग सम्पर्क राखेर गर्भपतन गराउँदै आएका छन् । टाढा जान नदिने परिवारमा यस्तो समस्या बढिरहेको पाइएको छ ।

'मान्यताविपरीत कसैले गर्भपतन गराउँछ भने कारबाही हुन्छ,' जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गिरिराज सुवेदीले भने । गर्भपतनसम्बन्धी कानुनमा सेवा प्रदायक सूचीमा नाम परेका स्वास्थ्य संस्थाबाट मात्र त्यस्तो सेवा प्रदान गर्न सकिने उल्लेख भएकोले अरूले उक्त काम गरेको पाइएमा कानुनी दायरामा पर्ने सुवेदीले बताए । 'मैले पनि केही स्वास्थ्य संस्थ्ाामा गर्भपतन हुने जानकारी पाएको छु,' उनले भने, 'अनुगमनको क्रममा त्यस्तो पाए कारबाही गर्छु ।'

जिल्ला सदरमुकाम मन्थलीमा रहेको निजी क्षेत्रको रामेछाप सामुदायिक अस्पताललगायत कानुनी अधिकार नपाएका स्वास्थ्य संस्था तथा उपस्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीले अनुमतिबिना गर्भपतन गराउँदै आएका छन् ।

अनुमति नपाएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले गर्भपतन गराउँदा तोकिएभन्दा बढी शुल्क समेत लिने गरेका छन् । सरकारले १२ हप्तासम्मको गर्भपतन गराउँदा १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म लिन पाउने व्यवस्था गरे पनि गाउँका महिला तोकिएभन्दा तेब्बर रकम तिरेर असुरक्षित गर्भपतन गराउँदै आएका छन् ।

निजी क्षेत्रको रामेछाप सामुदायिक अस्पतालमा गर्भपतन गराउँदा १ हजार ५ सय शुल्क लाग्ने गर्छ । (इकान्तिपुर)

No comments:

Post a Comment