Friday, April 30, 2010

'कब्जा गर्न खोजे जे पनि हुनसक्छ'

काठमाडौं, वैशाख १७ (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले हिंसात्मक ढंगले सत्ता कब्जा गर्न खोजे स्थिति जे पनि हुनसक्ने बताएका छन्। सार्क सम्मेलन सार्क शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका प्रधानमन्त्री माधवकुमार नेपालले विमानस्थलमा मिडियाकर्मीसँग भने- 'मेरो राजीनामाले मात्र समाधान देला भन्ने किमार्थ लाग्दैन।'


काठमाडौँ विमानस्थलको अति विशिष्ट कक्षमा मिडियाकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले राजनीतिक निकासका लागि आफू बाधक नबन्ने दोहोर्‍याए। उनले भने- 'अधिनायकवादमा जाने हो भने त भन्नु केही छैन। नत्र सहमति बाहेक समाधानको विकल्प छैन।' शान्ति र संविधानका लागि राष्ट्रिय सहमति अपरिहार्य भएको बताउँदै प्रधानमन्त्रीले हिंसा र धम्कीका भरमा सत्ताकब्जा गर्न खोजे सरकार चुप नलाग्ने उल्लेख गरे।

माओवादी आन्दोलन हिंसातर्फ उद्त भइरहेको भन्दै प्रधानमन्त्रीले त्यसको सामना गर्नुको विकल्प नभएको बताए। 'म भन्दै आएको छु आउनोस् बसेर छलफल गरौं। सत्ता साझेदारी सहतिका सबै विषयमा समझदारी बनाउँ', प्रधानमन्त्रीले भने- 'तर प्रक्रियागत ढंगले आउनुपर्छ। सहमतिको बाटोमा जान खोजेको हो भने निकास निकाल्न सकिन्छ। बन्दूक र धम्कीको भरमा तर्साउन खोजेको हो भने यो मुलुकको निम्ति दुर्भाग्यपूर्ण हो।'

प्रधानमन्त्रीले अन्तरक्रियामा बारम्बार माओवादीलाई सम्वादको प्रक्रियामा आउन आह्वान गरे। 'यसको निम्ति मैले के भूमिका निर्वाह गर्नुपर्छ, म तयार छु'- प्रधानमन्त्रीले भने।

No comments:

Post a Comment