चाँदनी हमाल, चितवन, वैशाख १७- ६५ जिल्लाबाट भेला भएका दुई सयभन्दा बढी एचआइभी सङ्क्रमितले आफूहरुलाई भत्ता उपलब्ध गराउनुपर्ने नत्र गोली ठोकेर मार्नुपर्ने बताएका छन्। अरुका कारण सङ्क्रमित बनेका एकल महिला र बालबालिकाले जोखिमपूर्ण जीवन बाँच्नुपरेकाले यस्तो माग गर्नुपरेको बताएका छन्।
सामाजिक सुरक्षाका लागि एकल महिला र बालबालिकालाई मासिक ३ हजार भत्ता दिनुपर्ने एकसूत्रीय माग आफूहरुले अघि सारेको घोषणापत्र सार्वजनिक गर्दै उनीहरुले नत्र सङ्क्रमितका जीवन थप पीडादायी हुने बताए।
राष्ट्रिय महासङ्घका अध्यक्ष राजीव काफ्लेले खाद्य र स्वास्थ्य सुरक्षाका लागि सबैले समान हक पाउनुपर्ने मागको अगुवाई गर्दै सङ्क्रमितहरु यसरी भेला भएको बताए। भेलाले आगामी रणनीति तय गर्ने पनि उनले बताए।
एकसूत्रीय मागसँगै आगामी बजेटमा भत्ताको व्यवस्था गर्न घोषणापत्रमार्फत सरकारलाई एक हप्ते अल्टिमेटम उनीहरुले दिएका छन्। एक हप्ताभित्र माग पूरा नभए दश दिनसम्म शान्तिपूर्णरुपमा जिल्लाव्यापी आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ। त्यसपछि पनि बेवास्ता गरिए राजधानी केन्द्रित रिले अनसन र आमरण अनसनसम्मको आन्दोलनमा उत्रने घोषणापत्रमा उल्लेख छ।
देशभर हाल १५ हजार एचआईभी सङ्क्रमित रहेको महासङ्घले जनाएको छ। त्यसमध्ये पाँच हजारसम्म एकल महिला र बालबालिका रहेको उसको दाबी छ। (nagariknews)
Friday, April 30, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment